
काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका मध्य तथा पूर्वी क्षेत्रमा मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
न्युनचापीय प्रणालीको प्रभावले पश्चिममा पोखरा आसपासदेखि देशका मध्य तथा पूर्वी क्षेत्रको मौसम बदली भएको मौसमविद वरुण पौडेलले जानकारी दिए ।
पश्चिमी क्षेत्रमा पनि मौसम सफा नै रहेको छ । बुधबार दिनभरको मौसम मध्य तथा पूर्व क्षेत्रमा बदलीको अवस्था नै रहने देखिएको छ ।
विशेष गरेर मध्य र पूर्वका पहाडी क्षेत्रमा हल्का पानी पर्ने सम्भावना पनि रहेको तर लामो समय या लगातार वर्षा हुने सम्भावना भने नदेखिएको मौसमविद पौडेलले बताए । काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा बिहानै पनि पानी परेको छ । तर यो धेरै बेर नपर्ने मौसमविदले बताएका छन् ।
बेलुका तिर पोखरा आसपास र पूर्वका पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने सम्भावना भने छ । तराईका क्षेत्रमा भने तुलनात्मक रुपमा मौसम सफा नै रहने छ । प्रि मनसुनको समय रहेकाले दिनभर नै मौसम केही बेर खुल्ने र फेरि बदली हुने अवस्था देखिएको छ ।