
काठमाडौँ– नेपाली कामदारले नेतृत्व गरेको प्रवासी मजदुर संगठनले शनिबार कोरियाको संसद भवन अगाडी प्रदर्शन गरेको छ । संगठनले शनिबार कोरियाको संसद भवन नजिकै कोरियाली शिक्षकले आयोजना गरेको र्यालिमा समेत उनीहरुले छुट्टै स्टल सहित प्रदर्शन गरेका हुन् ।
एमटियु स्टलमा आएर सौल एरियाका शिक्षा प्रमुख छोहे यनले प्रवासीले उठाएको मुद्दामा पूर्ण समर्थन जताएका छन् । एमटियुले दवाव मुलक कार्यक्रम अन्तरगत आइतबार सौल श्रम बिभाग अगाडि र यो महिनाको ३१ तारिक श्रम मन्त्रालय अगाडि र्यालि गर्ने जनाएको छ । कोरियामा कार्यरत प्रवासीहरुको संगठनको अध्यक्ष उदय राई र सचिव मधुसुदन ओझा रहेका छन् ।
कोरियामा कामदारको उद्धारका लागि ‘एक्सन बस टुर’ अभियान पनि चलाएको छ । प्रवासी मजदुरलाई समस्या परेमा बसमा तत्काल पुगेर मालिकलाई दवाव दिने अभियान चलाएको हो । कामदारलाई समस्यामा पार्ने घर वा कम्पनीमा गएर दवाव दिने र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने गरिएको संगठनका सचिव मधुसदन ओझाले जानकारी दिए ।
एमटियुले मे महिना भरि कोरियामा कार्यरत प्रवासी मजदुरले रोजगारदाताबाट पीडा भोगेका बिभिन्न कार्यस्थल, सम्बन्धित क्षेत्रको श्रम बिभाग, रोजगार केन्द्रमा गएर सुधारका लागि दवावमुलक र्यालि तथा वार्ता गरेको छ ।
एमटियुले खाने बस्ने खर्च सम्बन्धि निर्देशिका खारेज गर्ने पर्ने, प्रवासी मजदुरहरुको हक अधिकार सुनिस्चित गर्न साथै समानताको निमित्त, स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउने डब्लुपीएस लागु गर्नु पर्ने माग राखेर त्यहाँको सरकारलाई दवाव दिँदै आएको छ ।
यस्तै कृषि क्षेत्रको मजदुरलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने, कृषि क्षेत्रबाट उत्पादन क्षेत्रमा परिबर्तन गर्न पाउने, काम गर्न पाउने उमेरको हद ४० बर्ष भन्दा बढाउनु पर्ने, कम्पनी परिबर्तन गरेको मजदुरले पनि सिबिटी नदिई आउन पाउनु पर्ने, आफ्नो परिवार ल्याउन पाउनु पर्ने, लामो समयसम्म काम गर्न पाउनु पर्ने लगायतको माग राखेको छ । यी मागसतिह आइतबार (मे २७ तारिक) सउल श्रम बिभाग अगाडी बृहत र्यालिको आयोजना गरिएको ओझाले जानकारी दिए ।