
काठमाडौँ– साउदीमा आजिवन जेल सजाय सुनाइएका नवलपरासीका थानेश्वर भुसाल जेल मुक्त भएका छन् । रोजगारीका लागि साउदी पुगेका भुसालले चलाएको गाडीको ठक्करबाट साउदीका नागरिकको ज्यान गएपछि अदालतले उनलाई आजिवन जेल सजाय सुनाएको थियो । तर पछि ब्लडमनि ५० हजार रियाल अर्थात झण्डै ४५ लाख रुपैयाँ तिरेर छुट्न सक्ने फैसला भएको थियो ।
थानेश्वरले चलाएको गाडीलाई पछाडिको गाडीले ठक्कर दिएपछि साउदीका नागरिक रज जमान अलजदानी र पछाडिको गाडीमा रहेका भारतीय नागरिक इशम साहिबको ज्यान गएको थियो ।
२०६७ सालमा जेल परेका भुसाल रकम जुटाउन नसक्दा जेलमै सड्ने अवस्था भएपछि उनलाई ब्लडमनि तिर्नका लागि देश विदेशमा रहेका नेपालीले सहयोग गरेका थिए । उनलाई ब्लडमनि तिर्न प्रवासी नेपाली समन्वय समिति, एनआरएनए लगायत विभिन्न संघ संस्थाले सहयोग गरेका थिए । यसरी देश विदेशमा रहेका नेपालीको सहयोगमा उनलाई आवश्यकभन्दा बढि रकम जुटेको थियो ।
रकम बुझाए पनि जेलमै रहेका भुसाललाई सोमबार जेलमुक्त गराइएको उनलाई सहयोग गर्न अभियान चलाएका पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले जानकारी दिए । उनका अनुसार अव केहि प्रक्रिया मिलाउन बाँकि रहेको प्रक्रिया पुरा भएपछि भुसाल केहि दिनमै नेपाल फर्किने छन् ।