
विराटनगर – पर्यटनको प्रचुर संभावना बोकेको प्रदेश नम्बर १ को सप्तकोशी नदीमा सहासिक खेल र्याफ्टिङ्गको संभावना बढ्दै गएको छ । तराई क्षेत्रमा बढ्दै गएको गर्मी छल्न र रमाइलो समय बिताउनका लागि र्याफ्टिङ्ग रोचक बन्दै गएको छ ।
पूर्वेलीका लागि र्याफ्टिङ्ग कम्पनीद्धय इटहरीको रिभर डिप र्याफ्टिङ्ग र धरानस्थित सेतु एडभेन्चरले विभिन्न पाँचवटा रुटमा र्याफ्टिङ्ग सञ्चालन गर्दै आएको छ ।
जसमा धनकुटाको याक्चनाघाटदेखि मुलघाट, मुलघाटदेखि सुनसरीको चतरा, सुनकोशीको हर्कपुरदेखि चतरा, अरुण नदीको लेगुवाघाटदेखि चतरा र वराह क्षेत्रदेखि कोशीटप्पुसम्मको रुट रहेको छ ।
यस मध्ये बर्षायाममा समेत सञ्चालन गर्न सकिने वराह क्षेत्रदेखि कोशीटप्पुको रुटलाई सहज र सुरक्षित रुटका रुपमा लिइन्छ । बाह्य र आन्तरिक पर्यटकहरुलाई लोभ्याउन कम्पनीद्धयले एकदिने, दुईदिने र एक हप्तासम्मको प्याकेज उपलब्ध गराउँदै आएकाछन् ।
यसैबिच प्रदेश नम्बर एक सरकारको गठन भएको एकसय दिन पुगेको अवसरमा आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले पनि यस प्रकारका साहसिक यात्राको प्रवर्द्धनमा सरकार सकारात्मक रहेका बताएका थिए ।