
काठमाडाैँ- नेपाली दूतावास मलेसियाले वकिल नियुक्त गरेको छ । मलेसियाका जेल तथा डिटेन्सन क्याम्पहरुमा बन्दी रहेका नेपालीको कानूनी प्रतिरक्षाका लागि आवश्यक पर्ने कानूनी सेवा तथा परामर्श प्रदान गर्न दूतावासले वकिल नियुक्त गरेको हो । दूतावासले एक वर्षका लागि वकिल नियुक्त गरेको हो ।
जेल डिटेन्समा परेका, मलेसियाको अध्यागमन कानून उल्लघंन आरोप लागि मुद्दा खेपिरहेका, श्रम रोजगार सम्बन्धि कुनै गुनासो उजुरीका विषयमा मुद्दा मामिला, प्रतिरक्षा तथा कानूनी परामर्श आवश्यक परे दूतावासमा निवेदन दिन सकिनेछ ।
दूतावास र ल फर्मबिच भएको सम्झौता अनुसार अध्यागमन तथा सामान्य प्रकृतिका मुद्दाहरुमा उक्त ल फर्मले निशुल्क सेवा परामर्श प्रदान गर्नेछ । तर अदालतको दण्ड, जरिवाना, धरौटी तथा अन्य शुल्क सेवाग्राही स्वयम्ले व्यहोर्नु पर्ने दूतावासले जनाएको छ।
मृत्युदण्ड, आजिवन जेल सजाय हुन सक्ने खालका गम्भीर प्रकृतिका मुद्दाहरुको हकमा भने वकिल शुल्कसहित अन्य शुल्कहरु प्रचलित अभ्यास अनुसार सेवाग्राही र वकिलको सहमतीमै निर्धारण गरेर सेवाग्राहिले नै व्यहोर्नु पर्ने र त्यसको जानकारी दूतावासलाई गराउनु पर्नेछ ।
आर्थिक रुपमा विपन्न भै यस्ता खर्च व्यहोर्न असमर्थ रहेका नेपाली कामदारहरुको हकमा कसुरको प्रकृति र गम्भिर्यताको आधारमा दूतावासले उपलब्ध गराउने छ । यस्तो खर्च बजेटको परिधिभित्र रही प्राथमिकता अनुसार दूतावासले व्यहोर्ने र शुल्क तिरेर अन्य वकिलको सेवा लिन भने सकिने पनि दूतावासले जनाएको छ ।