
कञ्चनपुर -युवा अवस्थामै कमाउनका लागि भारत पुगेका शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका ५५ वर्षीय गणेश ऐरले आधा जीवन जेलमा बस्नु पर्ला भनेर सपनामा समेत चिताएका थिएनन् ।
कमाउनका लागि भारततर्फ जाने बेला चार हजार रुपैयाँ बराबरका क्यामेरा, क्यामेराको रिल, टेपरेकर्डर र आवश्यक कपडा बोकेर निस्किएका उनलाई त्यही सामानले भारतमा २४ वर्ष जेल जीवन बिताउन बाध्य बनायो ।
पञ्जाव प्रान्तको जालन्धर नाकामा भारतीय प्रहरीले जाँच गर्दा झोलामा ती सामान फेला पारेपछि तस्करीको आरोपमा उनलाई जालन्धरको कपुरथला सेन्टर कारागारमा पु¥याइयो । पूरै युवा उमेर त्यहि कारागारमा बिताए । कारागारबाट छुट्नका लागि वकिलको व्यवस्था गर्न नसक्दा र आफन्तले खोजखबर नपाउँदा लामो समय कारागार बस्नु परेको ऐरले बताए ।
कारागारमा रहँदा दुई छाक खानबाहेक अन्य सुविधा दिइएको थिएन उनले भने, “ कारागारमा कैदीका लागि खाना पकाउने र कपडा सफा गर्ने कार्यमा लगाइन्थ्यो तर अन्य कैदीसरह दैनिक दिइने पैसा समेत दिने गरिएको थिएन ।” कमाउने पूरै उमेर कारागारमा बिताएपछि छ महिनाअघि उनलाई रिहाइ गरिएको थियो ।
‘रिहाइ भएपछि काठ बोक्ने ट्रयाक्टरमा काम गर्न थालेँ । सोही क्रममा नेपालीसँग भेट भयो । मैले तपाईंहरु नेपाली हो भनेर सोधेँ,’ उनले भने, ‘उनीहरुले नेपाली भएको बताएपछि आफ्नो सबै कथा व्यथा सुनाएँ । उनीहरुले फेसबुकमा मेरो फोटो र अवस्थाबारे लेखेर नेपालमा रहेका आफन्तलाई पठाए । छोराहरुले जानकारी पाएपछि खोज्दै भारत पुगेर भेटी घरमा ल्याए ।’
सोमबारमात्रै उनी घर आइपुगे । जेठो छोरो आठ वर्ष र कान्छो छोरो डेढ वर्षको छँदा भारत गएका थिए । श्रीमतीले छोराले फेसबुकमा देखाइएका बुबा नै भएको बताएपछि उनीहरु चार दिनका लागि भारत जाँदै छौँ भनेर गएका गणेशकी श्रीमती ईश्वरीदेवीले भनिन्, “धेरै ठाउँमा खोजतलास गर्दासमेत भेटाउन सकेका थिएनौँ ।”
“यहाँबाट भारत जाने क्रममै भारतीय प्रहरीले तस्करीको आरोप लगाएर कारागार पु¥याएछन् । पूरै जीवन कारागारमा काटे पनि मर्ने बेला भेट्न पाउँदा निकै खुसी छौँ”, उनले भनिन् ।
भारतका धेरै ठाउँमा खोजतलास गर्दासमेत नभेटेपछि कुसको मूर्ति बनाएर किरिया गर्ने भनेर आफन्तमा कुरा चल्दै थियो भतिजा रमेशबहादुर ऐरले भने, “भेटिएपछि खुसीको सीमा नै रहेन ।”
वर्षौंअघि हराएका गणेश भेटिएपछि गाउँलेहरु पनि खुशी भएका छन् । गाउँका सबैजना भेट्न उनको घरमै जम्मा भए । कारागार पर्नुअघि र परेपछिको कुरा भेट्न आउने सबैलाई गणेशले बिनाहिचकिचाहट सुनाउने गरेका छन् ।