
डा. सुशील ताम्राकार –
घना झारपतीय घाँसे क्षेत्रमा भेटिने भएकाले नै स्क्रब टाइफस भनिएको यस रोगको संक्रमण चितवन, गुल्मी, नुवाकोट, मोरङ्ग, नवलपरासी, संखुवासभा तथा काठमाडौँ उपत्यकामा देखिनुलाई अनिष्टको संकेत मान्न सकिन्छ ।
परिवर्तित पर्यावरणीय अवस्था र मानिसहरुको बढ्दो आउजाउले यो रोगबाट नेपालका सहरहरु पनि जोखिममा रहको पुष्टि भएको छ ।
५० लाखभन्दा बढी जनसंख्या भएको कचौरा आकारको हावापानी गुम्सिने उपत्यकामा स्क्रबको महामारी फैलियो भने स्थिति भयाभवह हुनेछ भने पर्याप्त स्वास्थ्य पूर्वाधारबिनाका मोफसलमा के होला आकलन गर्न गाह्रो छैन।
०००
सञ्चार माध्यमहरुमा स्क्रब टाइफस संक्रमणबारेका समाचार सम्प्रेषण हुँदै आएका छन् । भयानक रुप र प्रारूप नदेखिँदा यो रोग बारेको खबर ओझेलमा परेको छ । स्क्रब टाइफस यस्तो रोग हो जसलाई अलिकति मात्र हेलचेत्र्याइँ गरियो भने ज्यादै निम्छरो रुपमै पनि यस्ले बिरामीलाई मृत्युको मुखमा पु¥याइदिन्छ । विगतका घटनाले पनि यसको पुष्टि गरेकै छन् ।
२०१७ को जुन महिनामा चितवनमा ३७ जना यस रोगबाट संक्रमित भए र तिनमा केहीको मृत्यु नै पनि भयो । इन्टरनेसनल एसोसिएसन फर मेडिकल एसिस्टेन टु ट्राभलर्स (आएएएमएटी) द्वारा हालै प्रकाशित प्रतिवेनमा चितवन, गुल्मी, नुवाकोट, मोरंग, नवलपरासी, संखुवासभा तथा काठमाडौँ उपत्यकाको ललितपुरमा स्क्रब टाइफसको संक्रमण देखिएको उल्लेख छ ।
गत वर्षको अगस्त महिनामा उपत्यकाका २२ जनामा यो रोग भेटिएको र उपत्यकामा भेटिएका संक्रमितहरुमध्ये अधिकांश काठमाडौँबाहिर यात्रा नगरेकाहरु थिए । घना झारपतीय घाँसे क्षेत्रमा भेटिने भएकाले नै स्क्रब टाइफस भनिएको यस रोगको संक्रमण काठमाडौँ उपत्यकामा देखिनुलाई अनिष्टको संकेत मान्न सकिन्छ ।
स्क्रब टाइफसका किटाणु, किटाणु बोक्ने जनावार र रोग सार्ने किर्नाले उपत्यकामा समेत धावा बोलिसकेको मान्न सकिन्छ । विगतमा यो रोग काठमाडौं उपत्यकामा देखिएको थिएन र यो रोग सर्ने पर्यावरणी अवस्था पनि थिएन । तर हाल परिवर्तित पर्यावरणीय अवस्था र मानिसहरुको बढ्दो आउजाउले यो रोगबाट काठमाडौं पनि जोखिममा रहको पुष्टि भएको छ । ५० लाखभन्दा बढी जनसंख्या भएको कचौरा आकारको उपत्यकामा स्क्रबको महामारी फैलियो भने अवस्था भयाभवह हुनेछ ।
के हो स्क्रब टाइफस ?
स्क्रब टाइफल ओरियन्टिया सुत्सुगामुसी (Orientia tsutsugamushi) वा रिक्टेसिया सुत्सुगामुसी (Rickttesia tsutsugamushi) नामक व्याक्टेरियाका कारण हुने प्रचलित टाइफाइड जस्तै एउटा संक्रमण हो । साल्मोनेला टाइफी/परटाइफी (Salmonella typhi/paratyphi) का कारण हुने टाइफाइड जस्तै लक्षण हुने भए पनि यो रोग दूषित पानी वा खानाबाट सर्ने रोग भने होइन ।
ओरियन्टिया सुत्सुगामुसी (Orientia tsutsugamushi) का किटाणु परजीवी भएकाले कुनै न कुनै जीवित कोषभित्र मात्र जिउँदो रहन सक्छन् अर्थात कसैको शरीरबाहिर यो ब्याक्टेरिया जिउँदो रहन सक्दैन ।
स्क्रब टाइफसको संक्रमण चक्र
यो रोग मान्छेबाट मान्छेमा सर्दैन, खानपीन वा शारीरिक संसर्गबाट पनि यस रोगका किटाणुले बसाइँ सर्दैन । यो एक जुनोटिक रोग हो, जुन जनावरबाट मान्छेमा हावा, किटपतंग आदिबाट सर्छ । यस्ता रोगहरु हस्ति रेबिज, क्यू फिभर आदि हुन् ।
जुनोटिक रोग भएकाले यो रोगको संक्रमण चक्र पूरा हुन तीन पक्षको उपस्थिति आवश्यक हुन्छः प्रथम– स्क्रब टाइफसबाट संक्रमित मुसा, चुछुन्द्रोलगायतका रोडेन्टस् प्राणी, दोस्रो– सार्ने माध्यम चिगर्स भनिने लाल मत्कुण नामक ससाना रातो किर्ना र तेस्रो– संक्रमण हुने व्यक्ति ।
किर्नाले संक्रमित मुसाको रगत चुसेपछी टाइफसको किटाणु उसको शरीरमा पुग्छ, तिनै किर्नाले मान्छेलाई टोक्दा एक प्रकारको र्यालसमेत निष्क्रमण गर्दछ । टोकेको ठाउँमा हुने छिद्रमार्फत सो र्याल मान्छेको शरीरमा प्रवेश गर्दछ । जुन र् यालमा अनेकौं टाइफसका किटाणुहरु हुने गर्दछन् ।
संक्रमण चक्रलाई सूक्ष्म विश्लेषण गर्ने हो भने यसको प्रक्रिया निकै जटिल देखिन्छ । संक्रमित मुसा, किर्ना र मान्छे एकै ठाउँमा हुनु मात्रलाई कारक मान्न सकिँदैन । यसका अरु पनि केही कारक हुन सक्छन् तिनकाबारे पनि सोच्नुपर्ने हुन्छ ।
असंख्य मुसामध्ये कतिमा संक्रमित किटाणु छन् ?, असंख्य किर्नामध्ये कतिले संक्रमित मुसाको रगत चुसेका छन् ?, मान्छेलाई संक्रमित किर्नाले टोक्ने सम्भावना कत्तिको छ ?, टोकिहालेमा पनि ब्याक्टेरियायुक्त ¥याल शरीरमा प्रवेश गर्ने सम्भावना कत्तिको छ ?, शरीरमा रोगविरुद्ध लड्ने क्षमता सबल छ, छैन?
यी प्रश्नहरुको सम्भावित जवाफ के हुन सक्छ भने अरु जनावरमार्फत कुनै किटपतंगको टोकाइबाट संक्रमित भएर भण्डारे मुसा र मुसा परिवारका आफन्तहरुको संख्या अत्यन्त न्यून हुन्छन् । एक अध्ययनअनुसार उष्ण–प्रदेशीय जंगली क्षेत्रमा भेटिने मुसाप्रजातिका रोडेन्टस्हरू मध्ये केवल २.३ प्रतिशतमा मात्र टाइफसको जीवाणु भेटिएको थियो ।
त्यस्तै, २.३५ प्रतिशत मुसा एवं मुसा प्रजातीको रगत चुस्ने सम्भाव्यता अनिगिन्ती किर्नाहरुलाई पनि न्यून नै हुन्छ । साथै, किटाणु बोकेका किर्नाहरूको संख्या नै अत्यन्त न्यून हुन्छ भने किर्नाको जीवनचक्र २ महिना मात्रको हुँदा स्वस्थ मानिससम्म तिनको पहुँच नपुग्ने सम्भावना धेरै हुन्छ । यसर्थ भण्डारे मुसाको रगत बोकेका किर्नाले मानिसलाई टोकेमा र रोग लाग्ने सम्भावना लगभग शून्य नै हुन्छ ।
तर, कथम्कदाचित कसैलाई ब्याक्टेरिया बोकेको किर्नाले टोकेमा वा टोकेको थाहा पाउनासाथ सो स्थानमा पानीले धोएमा वा कुनै एन्टिइचिंग ( चिलाउन कम गर्ने ओखती) वा कुनै एन्टिसेप्टिक मलम वा लोसन लगाएमा शरीरभित्र नपुग्दै ब्याक्टेरिया मर्छन् ।
अर्को कुरा ओरियन्टिया सुत्सुगामुसीको गिनिपिग प्रजातिमा गरिएको परीक्षणअनुसार ५० प्रतिशत संक्रमण हुनलाई आवश्यक किटाणु संख्या १०० मानिएको छ । टोकेपछी, निष्क्रमित र्यालको मात्रा अत्यन्त कम हुने र ती सबै शरीरमा प्रवेस गर्न नसक्ने पनि हुँदा १०० संख्या पूरा हुने सम्भावना पनि न्यून नै हुन्छ ।
विचारणीय विषय
टाइफस संक्रमण हुन नदिन किर्नाको टोकाइबाट बच्नु, टोकिहालेको खण्डमा शीघ्र सफा गर्नु वा औषधि लगाउनु र बिरामी भएमा तुरुन्त चिकित्सकको सल्लाह बमोजिम उपचार गर्नु सामान्य सत्य हुन् ।
तर, गम्भीर कुरा अर्कै छ, जसमा धेरैको ध्यान पुगेको देखिँदैन ।
ब्याक्टेरिया बोकी हिँडेका मुसाहरु, सार्ने किर्नाहरू बीच वस्तीमा हुँदा पनि यो रोग मान्छेमा सर्ने सम्भावना लगभग शून्य नै हुन्छ । तर, देशका विभिन्न भागमा यो रोगले धेरैको ज्यान लिई सकेको अवस्थालाई विश्लेषण गर्दा उपत्यकालगायतका संक्रमित बिरामी भेटिएका क्षेत्रमा टाइफसको ठूलो जोखिममा रहेको देखिन्छ ।
यसबाट के संकेत पाउन सकिन्छ भने लगभथ शून्य हुनुपर्ने रोग दिनानुदिन देखिनु भनेको भण्डारे मुसाहरुको संख्या अत्यन्त घना भएको पुष्टी हुन्छ । मुसा बढ्नुभन्दा पनि भण्डारे मुसा बढेकोमा गम्भीर हुन आवश्यक छ । अझ घाँसे झारपात इलाका नभएको उपत्यकामा देखिएको बढ्दो बिरामी भेटिनु निकै संवेदनशील विषय हो । यो रोग कुनै पनि बेला महामारीको रुपमा फैलिन सक्छ ।
सामान्य चिकित्सकीय उपचार पद्धतिले पनि रोगको निदान गर्न सकिने भए पनि ढिलो गरे ज्यान नै जान सक्ने भएकाले महामारीको अवस्थामा यसले सिर्जना गर्न सक्ने मानसिक त्रासको असर आंकलन गर्न सहज छैन । सम्बन्धित निकायले यस रोगलाई हल्का ढंगले लिएको प्रतीत हुन्छ ।
जचाउँन आएका बिरामीको उपचार गरेर मात्र चिकित्सकीय दायित्व पूरा हुँदैन । रोगका कारकको सही तथ्यांक संकलन र त्यसको विश्लेषण गरेर महामारी रोक्न सम्बन्धित विज्ञहरुले संयुक्त पहल गर्न ढिलो भइसकेको छ । विश्वास गर्न गाह्रो सत्य के हो भने ५० लाखको आवादी भएको काठमाडौं उपत्यकामा कथमंकदाचित यस रोगको संक्रमण सल्कियो भने त्यसले निम्त्याउने महामारी कहालिलादो र भयावह हुनेछ ।
(डा. ताम्राकारले अमेरिकाको ड्रेक्सेल युनिभर्सिटी, फिलाडेल्फियाबाट ब्याक्टेरिया भाइरस आदि जीवाणुबाट मानवमा हुने संक्रमण जोखिम सम्बन्धमा शोध गरेका हुन् ।)