
काठमाडौँ– जुन ३० सम्म वैधानिक भएर काम गर्ने अथवा घर फर्किने समय दिएको मलेसियाले कामदारहरुमाथि धरपकड तिब्र पारेको छ। यो अवधिमा वैधानिक भएर त्यहीँ काम नगर्ने र घर फर्किने प्रक्रियामा पनि सामेल नहुने कामदारलाई पक्राउ गर्न थालिएको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार जुलाई १ देखि व्यापक प्रहरी परिचालन गरेर कामदार र त्यस्ता कामदारलाई काम दिने कम्पनीमाथि कारबाही थालिएको छ।
तर अहिलेसम्म कति नेपाली पक्राउ परे भन्ने जानकारी मलेसियास्थित नेपाली दूतावासमा समेत आएको छैन। तर कामदार पक्राउलाई भने मलेसियाले तीब्र पारेको छ। यस विषयमा मलेसियाका सरकारी निकायले पनि नेपाली दूतावासलाई जानकारी गराएको छैन र कामदार समेत समस्या पर्यो भनेर दूतावासमा सम्पर्कमा छैनन्।
मलेसियाले पटक–पटक आममाफी दिँदै अवैधानिक कामदारलाई देश छाड्न अवसर र नफर्किए कारबाही गर्ने चेतावनी दिए पनि धेरै आप्रवासी कामदार मलेसियामा अवैध रुपमै काम गरिरहेका छन्। यस पटक मलेसिया त्यस्ता कामदार र उनीहरुलाई काम दिने कम्पनीप्रति पनि कठोर बनेको छ। घर फर्किने प्रक्रियामा रहेका कामदारलाई भने अगष्ट ३० सम्मको समय दिइएको छ।
अपराधीलाई जस्तो व्यवहार नगर्न संघसंस्थाको माग
अवैधानिक आप्रवासीमाथि सुरु भएको ओपिएस मेगा थ्री अपरेशन तत्काल रोक्न त्यहाँका संघसंस्थाले माग गरेका छन्। अरु नै प्रक्रियाबाट समस्या समाधान गर्न उनीहरुको सुझाव छ।
मलेसियामा कार्यरत आप्रवासी कामदारका हकअधिकारवादी १० वटा संघसंस्थाहरुले संयुक्त विज्ञप्ति निकाल्दै अपरेशनका क्रममा पक्राउ परेका कुनै पनि कामदारलाई दण्ड सजाय नगर्न र अपराधीलाई जस्तो व्यवहार नगर्न मलेसिया सरकारको ध्यानाकर्षण गराएका छन्।
अवैधानिक भएर काम गर्नु आप्रवासी कामदारको बाध्यता भएको र यसमा उनीहरुको कुनै गल्ती नभएको विज्ञप्तिमा उल्लेख छ। अपरेसन रोकेर सम्भावित अन्य विकल्पमा सबै पक्षसँग छलफल गर्न आग्रह गरिएको छ।