काठमाडौँ- व्यस्त न्युरोडको खिचापोखरीस्थित पिपुल्स प्लाजाकै अघिल्तिर रहेको पानीपुरी पसलमा किनमेल वा घुमघामका लागि आउने मध्ये अधिकांशको नजर पर्छ। मुखै रसाउने पानीपुरी नखाईकन कतिपयको न्युरोड किनमेल सायद पूरा पनि हुदैन। १५ वर्ष यही कुनामा चलिरहेको यो पानीपुरी पसलमा सर्वसाधारणको मात्र नजर परेन, ३ महिना अगाडि २५ मिटर सामुन्ने रहेको कर कार्यालयले पनि यहाँ आँखा लगायो।
सानो घुम्तीमा पानीपुरी व्यापार गर्दै आएका मनोज साहलाई कर कार्यालयले भ्याटमा दर्ता हुन पत्र पठाउँदा विश्वास लागेको थिएन। तर कर कार्यालयले उनको कारोबार अध्ययन र बिश्लेषण गरेरै भ्याटमा दर्ता हुन पत्र काटेको उनले थाहा पाए।
लक्ष्य अनुसारको राजस्व संकलन नभएर दबाबमा आएको अर्थ मन्त्रालयले गत चैतमा कर संकलनको वैकल्पिक कार्ययोजना बनाएको थियो। उक्त कार्ययोजनामा करको दायरा बाहिर रहेका सानाठूला व्यवसायीलाई करको दायराभित्र ल्याउने बिभिन्न रणनिति समेटिएका थिए।

सोही कार्ययोजनाअनुसार काम गरिरहेको न्युरोड कर कार्यालयले पनि कारोबार सिमा भ्याटमा दर्ता हुनु पर्ने तर दर्ता नभएका व्यवसायीको पहिचान गरिरहेको थियो।
पानीपुरी खान पनि लाइन लाग्नु पर्ने ॐ पानी पुरी कर कार्यालयको सूचीमा पर्यो। कर अधिकृतले ॐ पानी पुरीको कारोबार विश्लेषण गरे। दिनहुँ सयौंलाई पानीपुरी बिक्री गर्ने ॐ पानी पुरीको कारोबार भ्याटको दायरामा आउनुपर्ने देखियो। र करदाता सेवा कार्यालय प्रमुख ढकराम तिवारीले १ महिनाको समय दिँदै भ्याटमा दर्ता हुन पत्र काटे।
बिल दिने कि सामान बेच्ने? अरु त लफडा थिएन। यो खातापाताले दिमाक खराब गरेको छ।’
तिवारीले भने, ‘म यहाँको प्रमुख भएर आएपछि नै पानीपुरी पसलमा देखिने भिड नोटिस गरेको थिएँ। उसको कारोबार रकम भ्याटको दायरा आउने जस्तो लाग्यो र अध्ययन गर्यौँ। हामीले गरेको अध्ययनमा पानीपुरी पसलको कारोबार निकै ठूलो पाइयो र भ्याटमा दर्ता हुन पत्र काट्यौं।’
कर कार्यालयको मनसाय बुझेपछि साहलाई जालझेल र अटेरी गरेर जरिमानामा पर्नु भन्दा भ्याटमा दर्ता हुनु उचित लाग्यो।
साहले व्यापार गरिरहेको ॐ पानीपुरी पसल महोत्तरीका सन्जीव दासको नाममा दर्ता छ। उनीहरुलाई भ्याटमा दर्तापछि बिभिन्न खाता व्यवस्थित गर्नुपर्ने दबाब परेको छ। यसअघि प्यानमा दर्ता हुँदा वार्षिक २ हजार ५ सय रुपैयाँ कर तिर्ने गरेका उनीहरुलाई आजभोलि खरिद खाता, बिक्री खाता र स्टक बुक नियमित अपडेट गर्ने दबाब थपिएको छ।

मनोज साह।
कर कार्यालय साना ठूला व्यवसायी नभनेर सबैलाई करको दायरामा ल्याउन लागिपरेको तिवारी दाबी गर्छन्।
कर कार्यालयले हरेक ग्राहकलाई बिल दिनु पर्छ भन्ने गरेको भए पनि बिल लिन कोही पर्खिने नगरेको साहको गुनासो छ। देश सञ्चारसँग मुस्काउँदै साहले भने, ‘ यस्तो सानो ठाँउ छ। बिल दिने कि सामान बेच्ने? अरु त लफडा थिएन। यो खातापाताले दिमाक खराब गरेको छ।’ अहिले ॐ पानीपुरी पसलमा १० जना काम गर्छन्। भ्याटमा दर्ता भएपछि हिसाब किताब राख्ने मान्छे राख्नु परेको छ। भ्याटमा दर्ता भए पछि पनि पानीपुरीको मूल्य वृद्धि नगरेकाले उनको पसलमा आउने प्रायःलाई पसल भ्याटमा दर्ता भएको थाहै हुदैन। साह पनि पानीपुरी पसल भ्याटमा दर्ता भएको बताउँदैनन्।
सेवा क्षेत्रमा वार्षिक २० लाख रुपैयाँ भन्दा बढीको कारोबार गर्ने संस्था भ्याटमा दर्ता हुनु पर्ने प्रावधान भएकाले ॐ पानीपुरी दर्ता भएको हो।
कर संकलनमा आक्रामक भएको सरकार सानादेखि ठूला कुनै पनि व्यवसायीलाई नछोड्ने राजस्व सचिव शिशिर ढुगांना बताउँछन्। उनले भने, ‘लक्ष्य अनुसार कसरी राजस्व उठाउने भन्ने कार्ययोजना बनिसकेको छ र अब सरकार एक्सनमा जान्छ।’ नियमअनुसार कर बुझाउँदै आएका व्यवसायी डराउनुपर्ने कुनै कारण नरहेको भन्दै ढुगांनाले कानुन विपरित करको दायरा बाहिर रहेका कसैले उन्मुक्ति नपाउने बताए।

                                            
                                            
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































