
हरमन हेसका नायक सिद्धार्थ अन्ततः बुद्ध संघ पनि छाडेर अगाडि बढ्छन्। बुद्धले उनलाई महत्व नदिएको होइनन्, भेटेर सिद्धार्थका प्रश्नको जवाफ पनि दिएका थिएं तथागतले। तर सिद्धार्थले, ‘जब मैले आफ्नो बाटो आफैँ पहिल्याउनु पर्छ भन्ने तपाईँको देशना हो भने तपाईँ र तपाईँको संघ मलाई किन आवश्यक’ भनी बुद्धबाट बिदा लिन्छन्। सँगै गएका दौँतरी गोविन्दले भने बुद्धको मुखाकृति, देशना, करुणा, शान्ति, संयमता, संघको आचार–विचार, आहार–विहार आदिको तडकभडकमा (?) बुद्धानुगामी भई सिद्धार्थको साथ छोड्छन्। उनी बुद्धजस्तो हुने प्रलोभनमा आजन्म विश्वास र निष्ठाको कैदी बन्न पुग्छन्।
लेखकले उपन्यासमा सबै पात्रलाई सम्यक न्याय गरेका छन्। गोविन्द तदारुकतासाथ अन्तिमसम्म बुद्धमार्गको अबलम्बन गर्छन्, कथाको अन्तिमसम्म लेखकले गोविन्दलाई ‘फलोअर’, साधक, यात्री, जिज्ञासु, आकांक्षी, अभिलाषी, अन्वेषक, मुमुक्षुझैँ नै निरुपण गरे। अरुले बनाएको गोरेटोमा हिँड्ने सबै बटुवाको भोगाइ गोविन्दभन्दा फरक कसरी हुन सक्छ?
नेपाली राजनीतिका धुरन्धर प्रचण्ड महाशयले धेरै पटक अंगुलिमालको उल्लेख गरेको सुन्नमा आयो। अंगुलिमालको बुद्धसँग जम्काभेट हुँदा बुद्ध अंगुलिमाल उभिएपट्टि अगाडि बढ्छन्। अंगुलिमालले चेतावनी दिँदै भन्छन्, ‘रोक्किनुहोस् महाशय, तपाईँलाई थाहा छैन, म को हो?’
बुद्धले स्मित मुस्काउँदै भन्नुहुन्छ, ‘अंगुलिमाल म त उहिल्यै नै रोकिइसकेँ, तिमी कहिले रोकिन्छौ?’ अंगुलिमालले पहिलो भेटमा नै बुद्धको ‘आशय’ सप्रसङ्ग बुझे। प्रचण्डज्यूले अंगुलिमाल कथाबाट खै के बुझ्नुभयो, उहाँलाई नै थाहा होला।
हरमन हेसको सहनायक गोविन्दले भने बुद्धको आशय कहिल्यै बुझेन, ऊ बुद्धत्व प्राप्तिमै निमग्न एवं संघर्षरत रह्यो। ‘कस्तुरी कुण्डल बसै मृग ढुढै वन माहि।’ आफूसँग भएको कुरा कसैले संसारभरि जति उपक्रम गरे पनि पाउने सम्भावना हुन्छ र?
‘मैले आफ्नो बाटो आफैँ बनाउनु छ भने म तपाइको छत्रछायाँमा किन बसौं” भनी सिद्धार्थ अगाडि बढ्छन्। हेसको काल्पनिक सिद्धार्थले मात्र होइन, सबै जिउँदा सिद्धार्थले, ‘जुनसुकै युगमा पनि, जो सुकै बुद्ध हुन्’ सबैलाई श्रद्धान्जली दिँदै आफ्नो मार्ग आफैँ कोर्नुपर्छ।
दिशाहीन, लक्ष्यविहीन, गन्तव्यरहित बनेको सिद्धार्थका आँखा कमलाको रुप सौन्दर्यमा अडिन पुग्छन्। पहिलो भेटमा कमला सोध्छिन्, ‘युवक तिमी के गर्न सक्छौ?’
प्रत्युत्तरमा हरमनले सिद्धार्थबाट भन्न लाउँछन्, म भोको बस्न सक्छु, सोच्न सक्छु, पर्खिन सक्छु, कविता भन्न सक्छु।
पैसासँग आफ्नो रुप, सौन्दर्य, समय, प्रेम, साझा गर्ने कमला हुन् कि संसारका जुनसुकै प्राणीको आ–आफ्नो उद्योग धन्धा व्यवहार!
कसैकालागि पनि सिद्धार्थको ‘भोको बस्न सक्ने’, ‘सोच्न सक्ने’, ‘पर्खन सक्ने’ क्षमता क्रय विक्रय एवम् अर्थ उपार्जनको साधन हुन सक्दैन।
तर संसारमा धेरै नभए पनि केही मात्रामा जुवाडे हुन्छन्, जसले अगोचर एवम् अज्ञातका लागि जीवनको बाजी थाप्न सक्छन्। शायद यो संसारको विद्रुपतामा यिनै जुवाडेहरुले अलि अलि भए पनि रस सिंचन गरेका छन्, नत्र संसार मारबाडीको बहीखातामै सीमित हुने थियो।
सिद्धार्थले कमलाका लागि कविता भनेर चुम्बन प्राप्त गर्छन्। अब कविता आर्थिक विनिमयको वस्तु बन्यो। जुन कमलाको सामीप्य पाउन नगरसेठहरुले हजारौँ मुद्रा तिर्ने गर्थे, त्यो कविताबाट उपलब्ध भयो। कमलाको प्रेमासिक्त अनुकम्पाले कामास्वामी भन्ने धनाढ्यकोमा जागिर पाउँछन सिद्धार्थले र अर्थ उपार्जन गर्छन्, भोग गर्छन्। र, आफ्नो पिताबाट बाल्यकालमा पाएको सारा शिक्षा, नियम, अनुशासन, योगीमुनिहरुको संगतमा आर्जन गरेको तप, सदाचार आदिको आहुति दिन्छन् …..।
एक दिन सिद्धार्थ कमला र सारा धन वैभव छाडेर हिँड्छन्। नदीकिनारको माझी वासुदेवको झुपडीमा शरण लिन्छन्। यतिबेला हरमन हेसले उनको मुखबाट भन्न लाउँछन, ‘म के गर्न सक्छु, मसँग के क्षमता छ?’
यो शहरमा आउनु, कमलालाई भेट्नुअघि म भोक सहन गर्न सक्थेँ, सोच्न सक्थेँ, पर्खन सक्थेँ तर अब मसँग यी कुनै सामर्थ्य छैनन्।
हेसले यहाँनिर अध्यात्मपथको तथाकथित उपलब्धिमाथि गम्भिर व्यंग्य गरेका छन्। भोको बस्ने, चिन्तन गर्ने, पर्खिने सबै सबै उपलब्धिहरु फगत अभ्यास हुन् …… अभ्यास छाड्नुहोस्, तपाईँ पुनः रित्तै!
बुद्ध वा उपनिषद्ले वा अन्य पवित्र ग्रन्थ वा शास्ताहरुले भनेको ‘सेल्फ विजडम’ कुनै किसिमको अभ्यासले उपलब्ध हुन सम्भव छैन। वरन् निरन्तरको अभ्यासले गरिरहेको अभ्यासलाई नै ‘सेल्फ एक्सपिरियंस’, ‘सेल्फ विजडम’ को ‘सिमुलेसन’ मा पुर्याइदिन्छ। मेरा विज्ञ पाठकले ‘सिमुलेशन’ शब्द प्रयोग गरेको बाध्यतालाई निश्चय नै बुझ्नुहुनेछ।
यहाँनिर ‘सिमुलेशन’ जस्तो सटीक शब्द मेरो नेपाली भाषा ज्ञानमा छैन। अनुकरण वा नक्कल लेखौँ भने एउटा आशय मात्र दिन्छ, कपट, पाखण्ड, स्वाँग लेखौँ भने अर्को किसिमको भए पनि एउटामात्र आशय झल्काउँछ। छद्मभेष धारण, बहाना पारेकाले अर्को, नक्कली, आभाषी संसारमा रमेको प्रयोग गर्दा अर्कै आशय लाग्ने हुन्छ।
सिद्धार्थले बाँकी रहेको सारा जीवन वासुदेवसँगै बिताउँछन्, नदी उनको गुरु बन्छ, नदीका छाल उनका मन्त्र। यो बसाइमा न उनीसँग केहीको प्रतीक्षा थियो, न भोको बस्ने अभ्यास र न त चिन्तनको अन्तहीन श्रृंखला।
उनी कुन दिन बुद्धत्वलाई उपलब्ध भए, उनलाई थाहै भएन।
जसरी हिन्दु परम्परामा गीतालाई वेद, पुराण, उपनिषद् आदि ग्रन्थको सार भनिन्छ। हेसको सिद्धार्थ नामक उपन्यास ‘सेल्फ रियलाइजेसन’ वा ‘इनलाइटेंनमेंट’ वा बुद्धत्वको पथ प्रसस्त गर्ने सबै सबै शास्त्र र शास्ताहरुको वाणीको सार हो भन्नुमा अत्युक्ति हुन्न।
मैले पनि आफ्नो आध्यात्मिक यात्राको प्रारम्भमा अनेकौँ विधान, अनुष्ठान, उपवास, योग, तन्त्र, मन्त्र, योगासन, ध्यान, जप गरेँ। महिनौँको उपवास गरेको अनुभव गरेँ, घन्टौ जप ध्यान गरेँ। एकदिन महायोगी पाइलट बाबाले भन्नु भयो, ‘बेटा यह कर के पाने की चीज नही है, समझ मे उतरने की बात है, एक चुटकी बजाने का समय ही पर्याप्त है।’
बाबाको भनाइको गलत आशय नबुझ्नुहोला! उहाँले त्यही बुद्धले भनेको ‘सेल्फ एक्सपिरियन्स’ र ‘सेल्फ विजडम’ को कुरा गर्नुभएको हो।
योगीका कुरा बुझेर बुझिसाध्य हुँदैनन्। एकदिनको कुरा, नैनीताल आश्रममा साँझको भोजनपश्चात ओछ्यानमा पल्टेको थिएँ, अचानक विचित्रको अनुभूति हुन थाल्यो। म बिल्कुलै निर्भार हुँदै गइरहेको थिएँ, मलाई सारा शरीरको भार शून्यमा परिणत भएको प्रतीत भइरहेको थियो, शरीर छ भन्ने आभाष पनि विलुप्तोन्मुख थियो। सँगसगै विचित्रको अर्को अनुभव ममात्रै नरहेर सम्पूर्ण जगतको विस्तार आफैँ हुँ भन्ने विस्तारभावले पनि थिचिँदै थिएँ भनौँ कि विस्तीर्ण हुँदै गइरहेको थिएँ। यस अवस्थाका लागि आनन्द किमार्थ पनि उपयुक्त शब्द होइन, शान्त बाहेक कुनै शब्दले त्यस अवस्थाको बोध गराउन सक्दैन।
दुर्भाग्य एक जना साथीले कोठामा प्रवेश गरेर त्यस अवस्थाबाट पुनः पुरानै अवस्थामा ल्याइदिए। अर्को दिन पाइलट बाबासँग सबै वृत्तान्त भनेँ। बाबाले भन्नुभयो, ‘मन और शरीर, आकाश एवम् पृथ्वी दोनोँका खेल देख लिया बेटा। अच्छा अनुभव है ऐसे अनुभव लेते जाइए पर ध्यान रहे किसी भी अनुभव से स्वयं को जोडना नही। जो भी अनुभव हो, छोडकर आगे बढते रहिए, नही तो यह अनुभव ही बाधा बन जायेगा।’
त्यो दिन बुझेँ ‘सेल्फ एक्सपिरियन्स’ भनेको अनुभवहरुको संगालो होइन अनुभवहीनता हो, ‘सेल्फ विजडम’ पनि ‘जिरो विजडम’ हो। ‘इन एन्टाएर कास्मिक ओसेन इभेन आइ एम नाट अ ड्राप अफ वाटर व्हाइल दो आइ एम एन्टाएर कास्मस।’ ( यो सारा बम्हाण्डमा म एक कणजति पनि होइन, यद्पि सारा ब्रम्हाण्ड मै हुँ।)
बाबा एवम् हरमन हेसको ‘सिद्धार्थ’ दुबैबाट मैले जे पाएको छु, त्यसलाई शब्दमा भन्न असमर्थ छु।