
काठमाडौँ– नेपाली कामदार लैजाने नयाँ प्रक्रियाका बारेमा सोमबार नेपाल र मलेसियाका प्रतिनिधिहरुबीच फेरि छलफल हुने भएको छ। अढाई महिनादेखि नेपाली कामदार रोकिएपछि तत्काल कसरी खुलाउन सकिन्छ भनेर नेपाली दूतावास मलेसियाका अधिकारीलाई त्यहाँको मानव संसाधन मन्त्रालयले छलफलका लागि बोलाएको छ।
नेपालले मलेसिया कामदार पठाउन बन्द गरेको विषय र अबको प्रक्रियाका विषयमा दुई देशका अधिकारीहरुबिच कुरा हुनेछ । मानव संसाधन मन्त्री एम कुला सेगरनले नेपाली कामदार लामो समय नरोक्न आग्रह गर्दै यसका लागि मलेसियाले आवश्यक निर्णय लिने बताउँदै आएका छन् ।
यसअघि यहि विषयमा बुझ्न मन्त्री सेगरन नेपाली दूतावास पुगेका थिए भने गत मंगलबार पनि नेपाली दूतावासका अधिकारीहरुसँग संसाधन मन्त्रालयका अधिकारीले छलफल गरेका थिए । अढाई महिना देखि कामदार पठाउन बन्द भएपछि मलेसिया कामदार लाने विकल्पमा छलफल गरिरहेको छ । नेपालले भने कामदारमाथिको अतिरिक्त शुल्क नहटाउँदा र अहिलेका संस्था खारेज नगरेसम्म नपठाउने निर्णयमा अडिग छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पटक पटक यहि कुरा दोहो¥याउँदै आएका छन् । यस अघि भिसा लागेका कामदार समेत नपठाउने निर्णय गरेका विष्ट त्यो निर्णयबाट भने पछि हटेका थिए । जेठ २ गते पहिले नै भिसा लागेका कामदारलाई भने अन्तिम श्रम स्वीकृति खुला गरिएको छ ।