कसैको आशिर्वाद केही काम लाग्दैन

कसैको आशिर्वाद केही काम लाग्दैन
+
-

दस-बाह्र दिन पहिला नै निमन्त्रणा दिँदै मित्र मनोज दाहालले भने, ‘बुधबार असार २७ गते केही ‘प्रोग्राम’ नराख्नू होला, भाइ सुदीपको बिहेमा तपाईँ आउनैपर्छ।’

उनलाई विदित छ- म सामाजिक, धार्मिक, राजनीतिक वा अन्य कुनै प्रकारको उत्सव, समारोह वा जमघटमा ‘शिरकत’ गर्नबाट आफूलाई पृथक राख्न रुचाउँछु।

यसो गर्नुका पछाडि एक होइन, अनेक कारण छन्। केही सामाजिक र केही व्यक्तिगत।

मलाई निम्तो याद रह्यो- बुधवार असार २७ गते। तर स्थान र समयबारे भने ‘मस्तिष्क जति मथे पनि कुनै ‘इनपुट डेटा’ भेटिएन।

स्थान र समय माने देशकाल, दिक्काल; विज्ञानको भाषामा ‘स्पेशियोटाइम।’ हाम्रो त्रिआयामी जीवन र जगत यसै ‘स्पेशियोटाइम’  नामक चौथो आयामको ‘अज्ञात भावभूमिमा पुष्पित, पल्लवित र सिंचित हुने ‘अल्पज्ञान!’  आइन्स्टाइन र स्टिफन हकिन्सजस्ता अमोध प्रतिभाशाली मस्तिष्कका कारण हामीले पनि सुनेका हौं चौथो आयामबारे।

मैले ‘सुनेको शब्द’ प्रयोग गर्न आफ्नो इमानदारी ठाने पनि तपाईँहरु भाषिक सौन्दर्यको इन्द्रजालमा नअल्मलिनुस्। चौथो आयामबारे मेरो समस्त क्षमता वा प्रतिभा ‘जान्ने र बुझ्ने’ सामर्थ्ययुक्त छैन। मेरो लागि यो ‘शास्त्रीय संगीत श्रवण गरेझैँ’ मा मात्र सीमित छ। हकिन्सको पुस्तक ‘ब्रिफ हिस्ट्री अफ टाइम’ पढेर वा वैदिक शास्त्री अग्निब्रत नैष्ठिकका अवधारणा सुनेर पनि मैले समयबारे केही ज्ञानार्जन गर्न सकिन। चौथो आयामको ‘प्रेतरहस्य’ मेरा कुनै पनि अनुष्ठानले ‘कीलित’ हुन सकेन।

निम्तोमा शरीक हुन चौथो आयाम (स्पेशियोटाइम) ‘सब एटमिक लेबल’ मा निरुपित नभएसम्म सम्भव थिएन।  हो ‘एटमिक लेवल’ को ‘स्पेशियोटाइम’ सत्यापित थियो, बुधबार २७ गते, चलिरहेको २०७५ सालको असार महिना।

तर यो पर्याप्त थिएन, ‘एटमिक स्पेशियोटाइम’को इलेक्ट्रन, प्रोटन, न्यूट्रन र न्यूक्लियस नै निरुपण हुन आवश्यक थियो। मनोजलाई फोन गरेर सोधें;  थाहा हुन आयो– नयाँ बानेश्वररुपी ‘एटम’ को अनामनगर जोड्ने इलेक्ट्रनरुपी रोडमा आउने थापागाउँ हाइटरुपी प्रोटनको वामप्रष्ठ अवस्थित थापागाउँ ब्यांक्वेट परिसररुपी न्यूट्रनको मुख्य हल नै आजको ‘न्यूक्लियस स्पेश’ हो।

सङ अफ स्पारोज्!

मण्डपमा सजिएर अज्ञात अनन्त ‘स्पेशियोटाइम’ मा उडान भर्न उद्यत बेहुलाबेहुलीलाई हेर्दा ईरानी फिल्मकार मजिद मजिदीको सम्झना आयो। मजिदीले केही उत्कृष्ट सिनेमा बनाएका छन्। मलाई उनको सबैभन्दा मनपर्ने कृति ‘सङ अफ स्पैरोज’ लाग्छ। ‘द कलर अफ प्याराडाइज’, ‘चिल्ड्रन अफ हेभेन,’ उनका अन्य ‘नोटेबल’ कृति हुन्।

‘सङ अफ स्पैरोज’ मा मजिदीले एउटा सामान्य घटनाक्रमबाट जुन दर्शनको पटाक्षेप गरे, त्यो अद्वीतिय छ। ‘अष्ट्रिच फर्म’ मा काम गर्ने करीमको जीवनमा सबै ठिकठाक हुन्छ, तर एकदिन फार्ममा रहेका १०० ‘अष्ट्रिच’ मध्ये एउटा ‘अष्ट्रिच’ हराउँछ। करीमले सजायस्वरुप जागिरबाट निष्कासित हुनुपर्छ।

उसले आजीविका आर्जन हेतु अनेक प्रयास गर्छ। अनेक विपत्तिको सामना गर्नुपर्छ, करीमले आफ्नो नयाँ जिन्दगीमा। कुन नयाँ जिन्दगी? करीम पुरानै मानिस होइन र फार्ममा १०० ‘अष्ट्रिच’ लाई हेरचाह गर्ने? मानिस त दुरुस्त त्यही नै हो करीम तर उसका जीवनमा परिस्थिति भने एउटा ‘अष्ट्रिच’ भागेर गएकाले समग्र रुपमै बदलिन पुग्छ। उसको मात्र होइन पूरा परिवारकै।

अस्तित्वमा चाहे मिलन होस् वा विछोड परिणाम त सृजन नै हुन्छ।  राम्रो–नराम्रो, ठीक–बेठीक, ‘पोजिटिभ–नेगेटिभ,’ सुखद–दुखद त हामीले गरेको भेद हो। अस्तित्वमा त जुन पनि घटनाले सृजन मात्र हुन्छ।

तपाई हामीले ९९ को चक्करका धेरै कथा र रुपक श्रवण गरेका छौँ। ‘सङ अफ स्पैरोज’ मजिदीको ९९ को चक्करको अनुपम ब्याख्या हो।

एक दिन करीमले थाहा पाउँछ, त्यो हराएको ‘अष्ट्रिच’ फर्केर आयो। फार्ममा ‘अष्ट्रिच’को संख्या पुनः १०० भयो। १०० बाट ९९ हुँदा करीमको जीवनमा जे घट्यो, अब ती समस्त घटनालाई के भन्ने?

सृष्टिको प्रारम्भ ‘सिंगुलरिटी’ मा केही ‘थप’को संघातले वा केही ‘घट’ को आघातले भयो यो किमार्थ पनि महत्वपूर्ण होइन। महत्वपूर्ण त ‘बिग बैंग’ पछिको सृष्टि हो …। मानौँ हामी सबै अष्ट्रिच फार्म रुपी ‘सिंगुलरिटी’ मा एउटा अष्ट्रिचको पलायनले भएको ‘बिग बैँग’ का निष्पत्ति मात्र हो। तर मजिदी अष्ट्रिचको नृत्यबाट फिल्मको अन्त गर्दै अनेकन प्रश्न दर्शकको मस्तिष्कमा उब्जाई दिन्छन्। अहम प्रश्न पलायन भएको ‘अष्ट्रिच’ फर्किँदा के पुन: ‘सिंगुलरिटी’ आफ्नो मूलस्वरुप (बिग क्रन्च पश्चात नै सही) फर्किन्छ!?

कुनै दिन ‘मुड’ भयो भने ‘सङ अफ स्पैरोज’ बारे विस्तारमा लेखौंला।

मिस्टर नोबडी।

विहे मण्डपमा बसेका बेहुलाबेहुलीलाई हेर्दा मलाई मजिदीको सम्झना आउनुको कारण उनको ‘कन्सेप्ट’ सँग संवाद गर्नु हो। मजिदी फरकफरक परिवेशका यी दुई अष्ट्रिच (बेहुला–बेहुली) सँग आउँदा पनि परिणाम, ‘करीमको जीवनमा भएको उथलपुथल सदृश्य हुन्छ’, होइन र? अस्तित्वमा चाहे मिलन होस् वा विछोड परिणाम त सृजन नै हुन्छ।  राम्रो–नराम्रो, ठीक–बेठीक, ‘पोजिटिभ–नेगेटिभ,’ सुखद–दुखद त हामीले गरेको भेद हो। अस्तित्वमा त जुन पनि घटनाले सृजन मात्र हुन्छ।

यी दुई अष्ट्रिचसँगै आएको व्याख्या विश्लेषण गर्न ‘इलेक्ट्रन’ को स्थिति थाहा पाउन सदृश्य जटिल हुन्छ, झण्डैझण्डै असम्भव।

ज्योतिष र अध्यात्म लगायतका प्रकृति र प्रवृति मिल्ने ‘इन्डस्ट्री’ मानिसको सम्पूर्ण जीवन (भविष्य) निरुपित गर्ने अनाहक चेष्टा गरिरहेका हुन्छन्। यो गर्नु त्यस व्यवसायको मुख्य आकर्षण नै हो। यदि कुनै व्यक्ति आफ्नो आज र अहिलेबाट सन्तुष्ट छ भने सबै ज्योतिष र तथानाम एवम् रुपका सबैसबै गुरुका पसलमा उसको आकर्षण तत्काल प्रभावले समाप्त हुन्छ।

मेरो भविश्यको निर्धारण पूर्वमा लेखिसकिएको छैन नत्र मेरो प्रत्येक निर्णय रोजाइ, कृत्य र मेरो परिवेशको चारैतिर घटित भइरहेका अनन्त घटनाले प्रतिपल मेरो भविष्यको निर्धारण गरिरहेका हुन्छन्?

ज्योतिषले गणना गर्ने नवग्रह (?) आदियावतका नक्षत्र, जन्मेको समय, दिशा लगायतका जानकारीले मात्र के मेरो भविष्यको आंकलन गर्न सक्छ? गुरुले दिएका आशीर्वादरुपी कवचले संसार समरमा कसरी रक्षा गर्न सक्छ?

दैनिक जीवनमा आएका प्रत्येक दोबाटोमा कुन बाटो जाने भन्ने मेरो तात्कालिक रोजाइले मेरो जीवनको ‘जस्ट नेक्स्ट मिनेट’ को रुपरेखा निर्माण हुन्छ। मैले बाटो ‘क’ रोजेँ, सही सलामत छु, ‘ख’ बाटो रोजेको भए सामुन्नेबाट आएको पहेंलो ट्रिपर’को चक्कामुनि हुन सक्थेँ! जीवन लीला समाप्त हुन सक्थ्यो वा अपाङ्ग भई फरक जीवनको स्वाद लिन पुग्थेँ।

अनर्गल चिन्तन प्रवाहको मेरो यस निठल्ला मन्थनको सार्थकता के? तपाईँलाई लाग्न सक्छ आखिर यस्ले भन्न के खोजेको हो?

अर्का एउटा फिल्मकार जाको भ्यान डोरमेल लिखित एवम् निर्देशित फिल्म ‘मिस्टर नोबडी’ ले यसको जवाफ दिन्छ। प्रमुख पत्र नेमो जुन‘मिस्टर नोबडी’ छन्, उनका विभिन्न जीवनका कथाको सेरोफेरोमा निर्देशकले कल्पनाको विचित्र उडान भरेका छन्। एक ब्यक्तिले बाँचेका विभिन्न जीवन!? हो, डोरमेलको विस्तीर्ण कल्पना दृष्टिले फिल्ममा यो साकार भएको छ।

पारपाचुकेको अवस्थामा पुगेका आमाबुवासँग सात वर्षे बालक नेमो रेल्वे प्लेटफार्ममा छ। उसले छुट्टिन लागेका आमाबुवामध्ये कुनै एकसँग जाने निर्णय लिनु छ।  बालकसँग गजबको ‘सुपरपावर’ छ। ऊ आफ्नो सम्पूर्ण भविष्य हेर्न सक्छ। फिल्ममा बालक नेमो आमासँग जाँदा आफ्नो सम्पूर्ण जीवन र मृत्यूसम्मको घटनाक्रम हेर्छ। यसै भाँति उसले बुआसँग जाँदा आफ्नो जीवनको सम्पूर्ण घटनाक्रम हेर्छ। दुबैलाई प्लेटफार्ममा छाडी एक्लै भागेर गएको जीवन कस्तो हुन्छ, त्यो पनि हेर्छ। नेमोले अनेक जीवन भोगेको काल्पनिकता नै फिल्मको विषयबस्तु हो। फिल्म अलिक जटिल भए पनि गम्भीर दर्शकको लागि रोचक छ। लेखक/निर्देशकको आशय भने ‘हामीले लिएका निर्णयले हाम्रो जीवन डोर्‍याउँछ, जीवनमा ‘फिक्स’ (भाग्य) जस्तो केही हुन्न।’

मसँग पक्कै नेमो जस्तो ‘सुपरपावर’ थिएन। भएको भए मण्डपमा बसेका बेहुलाबेहुलीको विभिन्न जीवन ‘मिस्टर नोबडी’ झै पक्कै ‘एन्ज्वाय’ गर्थेँ। सुदिप! म ‘कओस थ्योरी’ देखि ‘बटरफ्लाई इफेक्ट’ सम्म, हाइजेनवर्गको ‘अनसर्टेनिटी प्रिन्सिपल’ देखि इलेक्ट्रनको गुणधर्मिताबारे जान्ने/बुझ्ने प्रयास गरिरहेको साधारण विद्यार्थी, तिमीलाई आशिर्वाद दिने द्वैध चरित्र प्रदर्शित गर्नतिर लागिन। मेरोमात्र होइन, तिमीलाई कसैको आशीर्वाद केही काम लाग्दैन। तिम्रो जीवनका सानादेखि साना घटनाले तिम्रो भविष्य बनाउँछ। अब त तिम्रो मात्र होइन, तिम्रो जीवनसंगिनीका प्रत्येक निर्णयले पनि तिमीहरु दुबै जनाको जीवनमा यथेष्ट प्रभाव पार्छ।

याद राख्नू- मानिसले हर्षको अतिरेकमा बगाएको अश्रु वा पीडाको अनुभूतिमा बगेको अश्रुमा कुनै रासायनिक भेद हुँदैन। संसारको कुनै पनि प्रयोगशालाले दुबै अश्रुको परीक्षण गरेर कुन अश्रु कुन अवस्थामा बगेको छुट्याउन सक्दैन। सुःख–दुःख, पीडा–आनन्द, भाव–अभाव, प्राप्ति–अप्राप्ति, सफलता–असफलता आदि सबै फगत हाम्रा शब्दावली मात्रै हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?