
काठमाडौँ– साउदीको जेलबाट मुक्त भएपनि नेपाल आउन नपाएका झापाका प्रशान्त लिम्बुको उद्धार हुने भएको छ। प्रवासी नेपाली समन्वय समिति पिएनसिसीले लिम्बुले तिर्नु पर्ने ब्लडमनि वापतको रकम जुटाउन अभियान चलाउने भएको हो।
लिम्वुले चलाएको गाडी दुर्घटना हुँदा साउदीका नागरिकको ज्यान गएपछि २ लाख ४० हजार रियल ब्लडमनि अदालतले तोकेको छ ।
त्यसमध्ये आधा कम्पनीले र आधा उनले तिर्नु पर्ने फैसला भएको छ। उनले चलाएको गाडीमा साउदीका नागरिकले चलाएको कार ठोक्किँदा कार चालकको ज्यान गएको थियो। त्यस लगतै उनलाई प्रहरीले पक्रेको थियो।
तर फैसलासँगै ६ महिना अघि जेलबाट मुक्त भएपनि प्रशान्तलाई ब्लडमनि नतिरी नेपाल फर्किने अनुमति छैन।
यसअघि पिएनसीसीकै पहलमा साउदीबाटै नवलपरासीका थानेश्वर भुसालको उद्धार गरिएको थियो । उनले तिर्नु पर्ने ब्लडमनि वापतको झण्डै ४५ लाख रुपैयाँ जुटाउन पिएनसीसी, एनआरएन लगायत देश विदेमा रहेका विभिन्न संघसंस्था मार्फत नेपालीले सहयोग गरेपछि भुसाल नेपाल फर्किसकेका छन् ।
भुसालको उद्धारपछि पिएनसिसीले प्रशान्तको उद्धारका लागि आवश्यक ब्लडमनि जुटाउन अभियान चलाउने भएको हो । परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्न लागिएको संस्थाका अध्यक्ष कुल प्रसाद कार्कीले जानकारी दिए ।
प्रशान्तका बुबा उदयसिंह लिम्बुले पिएनसिसीमा आएर छोराको उद्धारका लागि सहयोग गर्न समेत आग्रह गरेका छन् । प्रशान्त भने अहिले साथीहरुको सहयोगमा बसिरहेका छन् ।
रोजगारको क्रममा साउदी अरवको रियादस्थित धुर्मामा भएको सडक दुर्घटनामा प्रशान्त दोषि ठहरिएका छन् । उनलाई करिव ३६ लाख रुपैयाँ ब्लडमनि तिर्नु पर्ने फैसला भएको पिएनसिसीले जनाएको छ । यति नै रकम कम्पनीले तिर्ने छ । प्रशान्तसँग त्यहाँको चालक अनुमति पत्र नभएपनि गाडी चलाउन लगाएका कारण कम्पनी पनि दोषी ठहरिएको छ ।