
काठमाडौँ – जन्मेपछि मानिसले सबै भन्दा पहिले मुखमा हाल्ने आमाको दूध । यही दूध नै जीवनको आधार पनि हो ।
मानव जीवनको आधार आमाको दूधको महत्वलाई थप उजागर गर्ने उद्देश्यसहित हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइन्छ ।
यो वर्षको स्तन पान सप्ताह ‘स्तनपानः जीवनको आधार’ भन्ने नारासहित मनाईँदैछ । नेपालसहित विश्वभर बुधबारदेखि एक हप्तासम्म आमा र बच्चाको सम्बन्ध र त्यसमा स्तनपानको महत्वका बारेमा चर्चा गर्दै यो सप्ताह मनाइन्छ ।
हरेक आमालाई आफ्ना शिशुलाई नियमित रूपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको छ ।
गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौति दूध बच्चाका लागि अमृत समान हुन्छ, जसले बच्चामा धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।
आमाले जति धेरै पटक शिशुलाई दूध चुसाउँछिन् त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ । स्तनपानले शिशुका लागि स्वास्थ्य रक्षाको कामसमेत गर्दछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन, उनीहरूले आमाको दूधबाट यो शक्ति प्राप्त गर्दछन् ।
आमाको दूधमा रोगाणु नाशक तत्वहरू हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमामा फलाम तत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुहरूले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् ।
बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन् र शरीरले ती विशेष रोगाणुको विरुद्ध प्रतिरोधात्मक तत्वहरू बनाउँछ ।
यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सीधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाहरूको पेटमा पुग्दछ । यसरी शिशुहरू आमाको दूध नियमित रूपमा खाएर स्वस्थ रहन्छन् ।
बाल्यकालमा पर्याप्तरूपले आमाको दूध खान नपाएका शिशुरुमा बाल्यकालमा सुरु हुने प्रकृतिको मधुमेह रोग लाग्ने सम्भावना रहन्छ । उनीहरूमा अपेक्षाकृत वुद्धि विकाससमेत नहुने हुन्छ ।
यदि बच्चा महिना नपुगी जन्मेको छ भने त उसलाई नेक्रोटाइजिङ एन्टोरोकोलाइटिस जस्तो घातक रोगसमेत हुनसक्छ । त्यसैले छदेखि आठ महिनासम्म शिशुहरूका लागि आमाको दूध उत्तम आहारमात्र हैन, यो जीवन रक्षक आहार पनि हो ।
स्तनपानले अभावको समयमा पनि बालबालिकामा हुने भोकमरी तथा सबै प्रकारका कुपोषणबाट जोगाउँछ । थप भार बिना नै बालबालिकाको भोक मेटाउने उत्कृष्ट माध्यम हो, स्तनपान यसले गरिबी कम गर्नका लागि पनि सहयोग गर्छ । स्तनपान पोषण, खाद्य सुरक्षा र गरिबी कम गर्ने बलियो माध्यम बन्न सक्छ ।