डा. उपेन्द्रको ४५ औँ पूण्यतिथिमा गुरु डा.गोङ्‌गलको सम्झना

‘फादर इज बीहाइण्ड मी’ भन्‍दै डा. उपेन्द्रले जब सपनामै शल्यक्रिया गर्छन्..

‘फादर इज बीहाइण्ड मी’ भन्‍दै डा. उपेन्द्रले जब सपनामै शल्यक्रिया गर्छन्..
+
-

भनिन्छ, अमर सम्बन्ध देहको अवशानमा समाप्त हुँदैन।  यो प्रेमिल जोडीका लागि मात्रै हैन, अरु सम्बन्धमा पनि त्यतिकै सान्दर्भिक हुन्छ। प्रख्यात न्यूरो सर्जन एवं प्रध्यापक डा. दिनेशनाथ गोङ्‌गल र उनी भन्दा २२ वर्षीय कान्छा स्वर्गीय डा. उपेन्द्र देवकोटाबीचको सम्बन्धलाई यसरी नै हेर्न सकिन्छ। बितेका ४५ दिनमा  दिनेशनाथ कहिले छटपटिए, आँसु बगाए, कहिले निन्द्रामै ब्‍यूतिएँ त कहिले हाँसे।

असार ४ गते, उपेन्द्रको पित्तनलीको क्यान्सरबाट निधन भएको दिन भावविह्वल  देखिन्थे दिनेशनाथ। लगातार अर्थात घण्टौं उनी उपेन्द्रको पार्थिव शरीर नजिक रहिरहे। अहिले पनि उपेन्द्रको नाम लिनासाथ बोल्दाबोल्दै उनी रोकिन्छन्।

उप्रेन्द्र उनको मानसपलबाट बाहिर निस्कन सकेका छैनन्। उपेन्द्रले आफ्नो अन्तिम अन्तिवार्ता लिने क्रममा देशसञ्‍चारलाई भनेका थिए, ‘राम्रो गुरुले शिष्यलाई कहिल्यै छोड्दैन।’ दिनेशनाथलाई  उपेन्द्र देवकोटा त्यस्तै गुरु ठान्थे।

यी दुई बीचको सम्बन्ध प्रगाढ हुनुमा धेरै कारणहरु छन्। साझा सपनाले उनीहरुलाई बाँधेको थियो। नेपालमा स्वास्थ्य सेवा र शिक्षा गुणस्तरीय बनाउने र त्यसको विस्तार गर्ने दिनेशनाथको आधा शताब्दी पूर्वको सपना साकार पार्ने अभियानमा उपेन्द्र जोडिए सन् १९७८तिर।

भिडियो हेर्नुहोस्:

उनीहरुको लामो यात्रा र सहकार्यमा उपेन्द्रको निधनले ‘ब्रेक’ लगायो। तर उपेन्द्रको अनुपस्थितिमा पनि दिनेशनाथको सक्रियता घटेको छैन। ८६ वर्षीय दिनेशनाथका आँखा आजभोलि पनि सबेरै खुल्छन् र विहानको ९  बज्दै गर्दा बाँसबारीस्थित न्यूरो अस्पतालको रुपमा परिचित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्समा झुल्किन्छन् उनी। त्यसको जग उनैले हालेका थिए १२ वर्ष अघि।

अनौठो माया र अपत्यारिलो सक्रियता छ दिनेशनाथको अहिले पनि त्यो संस्थाप्रति उपेन्द्रको जस्तै। उपेन्द्र दिनेशनाथको सोचाइ र चाहनामा मात्रै हैन सपनामा पनि घरिघरि हाँस्दै आइदिन्छन्। ‘फादर इज विहाइन्ड मी’ अर्थात बुवा मेरो पछाडि हुनुहुन्छ भन्ने कुरा दोहोर्‍याइरहन्छन्। उपेन्द्रका लागि ‘फादर’ उनै दिनेशनाथ बने अनुभव, ज्ञान र मार्ग निर्देशन बाँड्दाबाँड्दै। सपना पनि उपेन्द्रले शल्यक्रिया गरिरहेको देख्छन् दिनेशनाथ।

‘उहाँलाई कहिल्यै पनि बिर्सन सक्दिन। जता गए पनि याद आउँछ। सपनामा पनि उहाँ आइदिनुहुन्छ, बल्ल थाहा पाउँदै छु हाम्रो कति प्रगाढ सम्बन्ध रहेछ भन्ने’, दिनेशनाथले आफ्नो मन खोले। सायद, कडा मेहनेत, कामप्रतिको लगाब र सेवा भावले बेलायत, हङकङ र दक्षिण एसियामै प्रसिद्धि कमाएका न्यूरो सर्जन डा. उपेन्द्रको गुरु बन्‍नुको अर्थ र महत्व दिनेशनाथले बुझेका छन्।

उपेन्द्रको श्रद्धाञ्जलीमा कयौं भक्कानिँदै बाहिरिए तर दिनेशनाथ उपेन्द्रको पार्थिव शरीरसँगै बसिरहे मौनताकासाथ। उनको दिमागमा सम्भवतः उपेन्द्रले छोडेको थप जिम्मेवारी र त्यसलाई निर्वाह गर्नु पर्ने भूमिकाकै चिन्ता बढी थियो।

बाँसबारी पुग्नासाथ दिनेशनाथ र उपेन्द्रको पहिलो प्रहर बिरामी र संस्थाको विकासबारे छलफलमा बित्थ्यो। त्यसअनुसार कर्मचारीलाई निर्देशन दिन ढिलो गर्थेनन् उपेन्द्रले। फुर्सदमा राजनीतिका गफ पनि निकै हुन्थे उनीहरुबीच, ठट्यौली पनि चल्थ्यो। यी सबै मिठा पल बनेर मन मष्तिष्कमा बसेका छन् दिनेशनाथको। उप्रेन्द्रले दिनेशनाथलाई व्यवसायमा मात्र होइन, मन्त्री बन्दा पनि सोधेका थिए, ‘के गर्नुपर्छ मैले’ भनेर।

दिनेशनाथले थपे, ‘भेट हुनासाथ सबैभन्दा पहिले हामी बिरामीको अवस्था, उनीहरुले पाइरहेको सेवा र संस्थाको विकास कसरी गर्ने भन्नेमा केन्द्रित हुन्थ्यौं। फुर्सदमा राजनीतिक गफ पनि निकै हुन्थ्यो। अहिले सबै शून्य भएको छ।’

दिनेशनाथलाई उपेन्द्रको यादले उर्जा मात्र दिन्छ। अनि आराम गर्नुपर्ने बेला पनि उनी धूवाँधूलो छिचोल्दै त्रिपुरेश्वरदेखि बाँसबारीको यात्रा गर्छन् दैनिक। ‘उपेन्द्र जस्तै चिकित्सक जन्मिन गाह्रो छ। उहाँले सुरु गरेको कामलाई निरन्तरता दिनुछ। उहाँ नहुँदा जुन किसिमको ‘भ्याकूम’ सिर्जना भएको छ त्यो हाम्रा लागि अपूरणीय क्षति हो । तर पनि त्यो ‘भ्याकूम’लाई फिल अप गर्नु छ’, दिनेशनाथले दृढता देखाए।

‘यु आर माई फादर’ उपेन्द्र दिनेशनाथलाई भन्‍ने गर्थे। दिनेशनाथले पनि उपेन्द्रलाई उत्कृष्ट चिकित्सक त्यतिकै मानेका होइनन्। उपेन्द्रसँग झण्डै ३५ वर्षको सहकार्यको अनुभव छ दिनेशनाथसँग।

सन् १९७८ मा वीर अस्पतालको सर्जरी विभागको प्रमुख रहँदा भर्खरै भारतको आसामबाट एमबीबीएस सकेर फर्किएका उपेन्द्रसँग पहिलो पटक जोडिएका थिए। त्यसको पाँच वर्षपछि अर्थात सन् १९८३ मा दिनेशनाथकै पहलमा उपेन्द्र उच्च अध्ययनका लागि बेलायत गएका थिए।

‘उहाँ मलाई असाध्यै उत्कृष्ट चिकित्सक लाग्छ। जब हामीसँगै वीर अस्पतालमा काम गर्न थाल्यौं सुरुमै चिने उहाँले राम्रो काम गर्न सक्नु हुन्छ। बेलायत पठाएपछि झनै दक्ष भएर आउनु भयो र त्यो दक्षता जन हितकै लागि प्रयोग गर्नु भयो’, दिनेशनाथले उपेन्द्रलाई सम्झिए।सुरुवाती दिनमा उपेन्द्रसँगै काम गर्दाका निकै मिठा पल छन् दिनेशनाथसँग। आफ्नो कामप्रति निकै उत्साहित हुन्थे उपेन्द्र। जेहेन्दार पनि उत्तिकै। आफ्नो विधामा भरपुर ज्ञान र सीप राख्न खोज्ने। उपेन्द्रको ‘हेण्डराइटिङ’ बाट उनी निकै प्रभावित बनेका थिए।

दिनेशनाथलाई राम्रो ‘हेण्डराइटिङ’ले मानिस मेहनेती हुन्छ भन्‍ने लाग्छ। बिरामीको रोगबारे पूर्णरुपमा ‘हिस्ट्री’ लिन्थे उपेन्द्र। त्यसबाट ५० प्रतिशत न्यूरोसम्बन्धी रोग हो भन्ने अनुमान गर्थे उनीहरु। उपचारका क्रममा बिरामीसँग ‘डिल’ गर्ने शैली पनि उपेन्द्रको उत्कृष्ट थियो। त्यसैले दिनेशनाथ भन्छन्, ‘अरुले पनि राम्रो काम गर्नु भयो तर उपेन्द्रले सबै काम उत्कृष्ट गर्नु भयो। उहाँका सबै कुराबाट प्रभावित हुन्थे । सायद म पनि त्यसैगरी काम गरेको थिएँ।’

जटिल कामसँग कहिल्यै नभागेका उपेन्द्रले गर्ने कामबाट सबै प्रभावित बन्थे। कतिपय चिकित्सक अफ्ठ्यारा शल्यक्रियामा हात हाल्न डराउँथे। त्यो बेला उपेन्द्र एक्लै तम्सिन्थे र सफल पनि हुन्थे। तयारीमा खुब अध्ययन गर्थे। त्यसैकारण नै उनलाई न्युरो सर्जरीको तालिमका लागि विदेश पठाउन सहज भयो दिनेशनाथलाई। उपेन्द्रले विदेशमा आर्जन गरेको ज्ञान बोकेर आएकै कारण नेपालमा त्यससम्बन्धी दक्ष जनशक्ति उत्पादन भएको दिनेशनाथको ठहर छ।

राम्रो काम गर्ने कतिपय मानिसको मृत्युसँगै त्यो ओझेलमा पर्छ । त्यो मानेमा उपेन्द्र भाग्यमानी सावित भएका छन्। उनले नेपालको चिकित्सा क्षेत्रको विस्तार तथा सुधारमा पुर्‍याएकाे योगदानलाई धेरैले सम्झिने दाबी दिनेशनाथको छ। स्वास्थ्यमन्त्रीका रुपमा उपेन्द्रले छोटो समयमै धेरै राम्रो काम गरे। उप्रेन्द्र स्वास्थ्यमन्त्री बन्द दिनेशनाथ बिरामी थिए। सपथग्रहणपछि उपेन्द्र सिधै त्रिपुरेश्वर पसे। दिनेशनाथले टिका लगाइदिए र आशिर्वाद दिए, ‘यस्तो काम गर्नु कि अरुले गरेको काम उल्टाउने काम नगर्नु।’

अरुले उल्ट्याउन नसक्ने गरी आफुले काम गर्नू। नबन्दै उनले राम्रो काम गरे जसलाई कसैले उल्ट्याउन सकेन। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान –(न्याम्स) सञ्चालनमा ल्याउनुमा उपेन्द्रकै हात रह्यो। देशकै उक्त प्रतिष्ठानबाट धेरै दक्ष चिकित्सक निकिस्करहेका छन्। उपेन्द्र त्यतिमा सीमित भएनन्, उनले नेपालमा न्युरो सम्बन्धी उपचार सेवा विस्तार र विकासका लागि सरकारी सहयोग नपाएपछि आफैले बाँसबारीमा अस्पताल खोले र उच्चशिक्षाको अध्ययन/अध्यापन केन्द्र सञ्चालनमा ल्याए।

गत मंसिरमा गृह जिल्ला गोरखा पुगेका बेला अस्वस्थ महशुस गरेका उनले पाटन अस्पतालमा स्वास्थ्य जाँच गर्दा ग्यास्ट्राइटिस र हेलिको फ्याक्टर देखा पर्‍याे। आफ्नै अस्पतालमा गरेको उनको एमआरआई र अल्ट्रासाउण्डको रिपोर्ट डरलाग्दो थियो।

लगत्तै बेलायत गएर उपचार थालेका उपेन्द्रले त्यहाँ सम्भव नहुने निश्चित भएपछि आफ्नै माटोमा प्राण त्याग्न म भएको भन्दै उनी गत वैशाखमा नेपाल फर्किए र आफ्नै सर्तमा नेपालमा जीवन त्याग गरे उनले। पेशा चिकित्सा शिक्षा र सेवाको भए पनि उनी मुलुकको राजनीति, संविधान र परिवर्तन, सामाजिक सद्भाव, व्याप्त भ्रष्टाचार र नेपालको स्वतन्त्र अस्तित्वबारे उनको सदैव चिन्ता रह्यो।

दिनेशनाथ पनि त्यस्तै भन्छन्, ‘उहाँ एउटा असल र उत्कृष्ट चिकित्सक हुनुहुन्थ्यो। साथै उहाँलाई आफ्नो देश र समाजको पनि निकै ठूलो चिन्ता थियो। जसबारे हामी घण्टौं घोत्लिन्थ्यौं, मन्थन गर्थ्यौ । आज शुन्य जस्तो भएको छ।’

तर पनि मुलुकमा न्यूरो सम्बन्ध उपचार र शिक्षा विस्तार गर्ने उपेन्द्रको सपना साकार पार्ने प्रयासमा छन् उनी। भन्छन्, ‘उपेन्द्रले देखेको सपना सबैको साझा हो। त्यसलाई पूरा गर्ने हामी सबैको दायित्व हो । त्यसका लागि बाँसबारीका युवा चिकित्सक पनि लागि परेका छन् र अरु पनि लाग्न जरुरी छ।’ त्यसैले यो उमेरमा पनि उनी बाँसबारी पुगेपछि वार्डमा बिरामी हेर्ने, चिकित्सकसँग छलफल गर्ने अनि पढाउने दैनिकी बनाएका छन् उनले। दिनेशनाथले उपेन्द्रलाई प्रेरित गरे। र गुरु आफ्नै शिष्य उपेन्द्रबाट बढी प्रेरित देखिन्छन् अहिले।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?