
काठमाडौँ – जन्डिस तथा टाइफाइडका रोगी अहिले बढ्दै गएको सरुवा रोग अस्पताल टेकुले जनाएको छ । जन्डिस, टाइफाइड, स्क्रब टाइफससहितका बिरामीको संख्या बढ्दै गएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिएका छन् ।
विशेष गरी अहिले जन्डिस (विशेष गरी हेपाटाइटिस ए र ई) का बिरामी उपचारका लागि आउने क्रम बढेको छ । दूषित पानी तथा संक्रमित खानेकुराका कारण यो समयमा विशेषतः जन्डिसमा पनि हेपाटाइटिस ई का बिरामीको संख्या बढी देखिने गरेको डा. पुनले बताए ।
टेकु अस्पतालसहित अरु अस्पतालमा पनि हेपाटाइटिस ई का बिरामीको संख्या बढेको छ । विशेषगरी गर्भवतीमा हेपाटाइटिस ई को संक्रमण जोखिपूर्ण हुने डा. पुनले जानकारी दिएका छन् ।
मृत्युको जोखिम २५ प्रतिशतसम्म
हेपाटाइडिस ई को संक्रमण भएमा र समयमै उपचार गर्न नसकिएमा २५ प्रतिशतसम्म गर्भवतीको ज्यान जाने जोखिम हुने गरेको डा. पुनले जानकारी दिए ।
उनले भने, ‘अरुमा पनि जोखिम त रहन्छ, तर हेपाटाइटिस ई को संक्रमण गर्भवतीमा बढी हुने गरेको र यसले उनीहरुमा खतरा पनि बढी नै देखिने गरेको छ ।
संक्रमित गर्भवती मध्ये २५ प्रतिशतसम्मको ज्यान जोखिममा पर्न सक्छ ।’ यस्तै गर्भमा रहेको बच्चामा पनि यसले असर गर्छ । बच्चा जन्मिएपछि संक्रमण हुने र बच्चाको ज्यानैसम्म जाने जोखिम हुने डा. पुनले बताए ।
यसले गर्दा विशेष गरी पानी उमालेर वा शुद्धिकरण गरेर मात्रै पिउनु पर्ने र अरु खानपानमा पनि संक्रमण हुन नहुने डा. पुनले बताए । खाना ताजा तथा राम्रोसँग पकाएर मात्रै खानु पर्ने उनको सुझाव छ ।
टाइफाइडको समस्या पनि बढ्दै
विगतको तथ्यांक हेर्दा यो वर्ष टाइफाइडका बिरामी बढी देखिएको टेकु अस्पतालका डा. पुनले बताएका छन् । हरेक दिन टाइफाइडका नयाँ बिरामी उपचारका लागि आउने गरेको उनले बताएका छन् ।
टेकु अस्पताल मात्रै नभएर काठमाडौँ उपत्यका तथा बाहिरका अरु धेरै अस्पतालमा पनि टाइफाइडका बिरामी बढेका छन् । खानेकुरा तथा पानीको शुद्धतामा ख्याल गर्न सके टाइफाइडबाट जोगिन सकिने उनले बताएका छन् ।
स्क्रब टाइफस : संक्रमण बढी हुने समय
टेकु अस्पतालसहित विभिन्न अस्पतालहरुमा अहिले स्क्रब टाइफसका बिरामीको उपचार भइरहेको छ । यति नै बिरामी छन् भनेर यकिन गर्न नसकिए पनि अहिले स्क्रब टाइफसका बिरामी बढेको देखिएको डा. पुनले बताए ।
विशेष गरी चिवतनसहितका तराईका जिल्लामा यो समयमा स्क्रब टाइफसका बिरामीको संख्या बढ्ने सम्भावना रहन्छ ।
पछिल्लो एक महिनामा टेकु अस्पतालमा झण्डै ३० बिरामीको उपचार गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । स्क्रब टाइफसका बिरामीमा महिलाको संख्या बढी रहेको छ ।
कडा ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, पसिना बढी आउने, आँखा केही रातो हुने, शरीर दुख्ने, लिम्फ ग्रन्थी सुन्निनेसहितका लक्षण स्क्रब टाइफसमा देखिने सरुवा रोग विशेषज्ञ डा. पुनले बताए । यी लक्षण देखिनासाथ अस्पताल जान डाक्टरले सुझाव दिएका छन् ।
साउन र भदौ महिना स्क्रब टाइफसका बिरामी बढी देखिने समय हो । यो समय खेतीपातीको मौसम भएको, बाढी पहिलो आउने तथा घाँस र झाडी बढी हुने भएकाले संक्रमणको जोखिम पनि बढी नै रहन्छ ।
रिकेटसिया नामक जीवाणुको संक्रमण रहेको रानो किरा, माइटको टोकाइबाट स्क्रब टाइफस फैलिन्छ । यो किरा मुसासहितका जीवमा पाइन्छ।
स्क्रब टाइफसका बिरामी बढी देखिने जिल्लामा चितवन, बारा, सर्लाही, ललितपुर, भापा, गोरखा, नवलपरासी, अर्घाखाँची, कपिलवस्तु, स्याङ्जा, कैलाली, धादिङ सहितका रहेका छन् ।