
काठमाडौँ – साउन शुक्ल चतुर्दशी दिन मनाइने गठेमंगल अर्थात घण्टाकर्णको अवसरमा बिहीबार बिहानैदेखि विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।
यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन् ।
आजको दिन नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँको जल ल्याएर घरघरमा छर्कने प्रचलन रहँदै आएकाले दर्शनार्थीको भीड लागेको हो ।
नेवारी समुदायमा आजदेखि परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिनुका साथै गाइजात्रामा प्रदर्शन गरिने विभिन्न भैरव नाच तथा व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत दिइन्छ ।