
कृष्ण आचार्य –
एकाएक दाहाल यज्ञनिधि सिकिस्त भन्ने सूचना प्राप्त भयो । त्यहि व्यहोरा मैले फेसबुकमा पोष्ट गरेँ । धमाधम कमेन्टहरु आइरहेका थिए । कसैले श्रदाञ्जली हालिदियो ।
म स्तब्ध भएँ । खोटाङको मात्र होइन, नेपालकै वरिष्ठ साहित्यकार नेपाली भाषाको चुरो पहिल्याएर प्रस्तुत गर्न सक्ने प्रखर रेडियोकर्मी र जनवोलीलाई समकालीन साहित्यमा मुछेर उद्घोषण मार्फत श्रोतामाझ सहजै पस्किन सक्ने पारखी दाहालको चोला उडेछ । मेरो ब्रह्मले अनुभूत ग¥यो–नेपाली वाङ्गमयको एउटा चम्किलो तारा अस्तायो बरा !
दाहाल यज्ञनिधि मेरा दौँतरी । तर शैशव कालमा हाम्रो भेट भएन ।
खोटाङमा त्यो बेला एसएलसी जाँच लिने स्कुल थिएनन् । जुनियर हाइ स्कुलसम्मको पढाइ सकिएपछि म झापा तिर भासिएँ, उनी बनारस हानिएछन् । पछि काठमाडौँमा भेट हुँदा पो हामीले आ–आफ्नो कैरन कह्यौँ । उनले त त्यति पनि त्यहाँ पढ्न पाएनछन् । संघर्षका मिल्दाजुल्दा अथाह कुथुङ्ग्रीहरु छन् हामी दुईबीच । त्यसको नालीबेली पुस्तकाकारमा आउनेवाला छ ।
म त ठान्छु, दुई दशक अगाडि धुकधुकी बसेको मान्छे आजसम्म धन्न बाँच्यो । अर्काको अंग रोपेर विज्ञानले बचाएथ्यो । तर पनि कालले किन माया मार्थ्यो ! आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो ।
सत्य होला, दौंतरीहरु जाँदै गर्दा आफूलाई पनि झस्कोचाहिँ पर्ने रहेछ । तर मेरो माथिंगलमा के सेट छ भने, मृत्यु अवश्यम्भावी छ, त्यो भविता दभष्लनलभकक हो, विकल्पै छैन ।
म त भन्छु, यज्ञनिधिले रेडियो नेपाललाई श्रोताबीच स्थापित गराउन अहमभूमिका निर्वाह गर्यो, तर बदलामा रेडियो नेपालले उसलाई सधैँ करारमा राख्यो । साहित्य संसार आउनासाथ को मान्छेले रेडियो खोल्दैनथ्यो हँ ?
जे होस्, श्रोतालाई जदौ गरेर साहित्य संसारमा हेलिदिने श्रुतिमाधुर्य लवजका धनी दाहाल यज्ञनिधि अब हामीबीच रहेनन् । उनको वैकुण्ठ बास होस् ।
जदौ !