
विश्वव्यापी रुपमा भएका पछिल्ला अनुसन्धानबाट यो खुलेको छ कि पहिले जस्तो मानिसमा सेलिब्रेटी जस्तो देखिने मोह भंग भएको छ ।
अहिले मानिसमा सकेसम्म आफै नै राम्रो देखिने र त्यसलाई अझै बढाउँदै लैजाने टेन्डेन्सी बढेको छ। यसको अर्थ, विशेष गरी तस्बिरमा आफू राम्रो देखिन चाहने क्रम बढेको छ ।
मोबाइल फोनको बिस्तार र त्यसका फिचरमा आएको सुधारसँगै मानिसले सेल्फी लिने क्रम बढेको छ। सन् २०१६ मा गुगल फोटोले आफ्नो २०० मिलियन प्रयोगकर्ताले एप्लिकेशनमा २४ बिलयन सेल्फी पोस्ट गरेको बताएको थियो । यो महिना (अगस्ट) सम्ममा इन्स्टाग्राममा सेल्फी ह्यासट्यागमा ३५५ मिलियन भन्दा बढी पोस्ट भएका छन् ।
स्मार्टफोनको फ्रन्ट–फेसिङ्ग क्यामरा प्रयोग गरेर खिचिएका तस्बिरलाई मिलाएर पोस्ट गर्न मिल्छ, यसले गर्दा मानिसहरु सकेसम्म आफूलाई अझै राम्रो बनाएर पोस्ट गर्न चाहन्छन् ।
सेल्फीमा राम्रो देखिनकै लागि प्लाष्टिक सर्जरी गर्नेहरुको मात्रा बढेको तथ्यांकले देखाएको छ । गएको वर्षको प्रतिवेदनमा प्लाष्टिक सर्जनलाई उनीहरुका क्लाइन्टले दिएको जानकारी अनुसार ५५ प्रतिशत भन्दाले सेल्फीमा राम्रो देखिनका लागि प्लाष्टिक सर्जरी गराएका छन् ।
मेडिकल जर्नल जामाको पछिल्लो सम्पादकीय अनुसार अमेरिकाको बोस्टन युनिभर्सिटी स्कुल अफ मेडिसिन्स डर्म्याटोलोजी डिपार्टमेन्टको तथ्यांकमा मानिसहरु प्लाष्टिक सर्जनलाई ओठ ठूलो बनाउन, आँखा ठूलो बनाउन वा नाकलाई सानो बनाउन आग्रह गर्दै जाने गरेका छन् । उनीहरु आफूलाई फोटो विशेष गरी सेल्फीमा राम्रो देखाउन चाहन्छन् ।
यसलाई स्नापच्याट डिस्मोफिया भन्ने गरिएको छ । पहिलोपटक सन् २०१५ मा थाहा भएको स्नापच्याट डिस्मोफिया पछिल्लो समय तीव्र गतिमा बढ्दै गएको छ । यसले गर्दा प्लाष्टिक सर्जनलाई चुनौती थपिएको छ ।
सेल्फीमा राम्रो देखिनकै लागि प्लाष्टिक सर्जरी गराउनेमा २० देखि ४० वर्ष उमेरका धेरै रहेको अनुसन्धानमा संलग्न बोस्टन विश्वविद्यालयको कस्मेटिक एण्ड लेजर सेन्टरकी निदेर्शक डा. नीलनम वाशीले बनाइन् ।
डा. वाशीले भनिन्, ‘आफू राम्रो देखिन चाहनु जीवनको सामान्य र प्राकृतिक पक्ष हो । तर सामाजिक सञ्जालले पछिल्लो समय सुन्दरताको असामान्य अवधारणालाई बढाएको छ ।’
अमेरिकन एकेडेमी अफ फेसिअल प्लाष्टिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जरीको तथ्यांक अनुसार प्लाष्टिक सर्जरी गराउनेमा धेरै ३० वर्षभन्दा मुनिका छन् र त्यसमा पनि ८० प्रतिशत भन्दा बढी आफ्नो लुक्सलाई राम्रो बनाउनकै लागि आउने छन् ।
चुनौती बढे पनि धेरै प्लाष्टिक सर्जनले अहिले पनि स्नापच्याट डिस्मोफियालाई गम्भीर रुपमा लिएका छैनन् । र यो पूर्णरुपमा खराब नरहेको उनीहरुले बताउने गरेका छन् ।
स्नापच्याट डिस्मोफियाले नकारात्मक प्रभाव पर्ने भए पनि राम्रो सेल्फीबाट दिनको सुरुवात गर्नु सकारात्मक हुने न्युयोर्क सिटीका प्लाष्टिक सर्जन ड्यानिएल मामानले बताएका छन् ।
दिनमा कम्तिमा एकजना क्लाइन एडिटेड सेल्फीसहित त्यस्तै देखिने मोहका साथ आफ्नो क्लिनिकमा आउने गरेको उनले बताएका छन् ।
क्लाइन्टले सेल्फी लिँदा आफ्नो लुक्स केही एङ्गलबाट राम्रो नदेखिएको भन्दै आउने क्रम बढेको डा. वाशीले पनि बताएकी छन् ।
सेल्फी लिँदा क्यामरा धेरै नजिक हुने भएकाले नाक, आँखा वा ओठ अलि फरक देखिने गरेको छ । १२ इन्च पर क्यामरा राखेर लिइने सेल्फीमा पुरुषको नाक भएको भन्दा ३० प्रतिशत ठूलो र महिलाको २९ प्रतिशत ठूलो देखिने गरेको छ ।