काठमाडौँ- गएको साउन २० गते बिहानै जाजरकोटको ठाँटीबजारमा लगातारको वर्षसँगै पहिरो गयो। शिक्षकले दिएको ‘होमवर्क’ गर्दै गरेका बालबालिका पहिरोमा पुरिए।
उता बर्खाले विपत्ति ल्याएको थियो। यता (काठमाडौँ) का केही स्कुले बालबालिकालाई भने यही बर्खाले बालापन फर्काएको छ।
केही दिनअघि पाटन बस्दै आएका ९ वर्षका अभी लामा हतार–हतार गर्दै ललितपुर पुल्चोकको बाटोमा हिँड्दै थिए। दाइ निशानको साथ लागेर सिमसिमे पानीमा रुझ्दै हिँडेका अभीसँग कुरा गर्दा थाहा लाग्यो, उनीहरु पौडी खेल्न नटोलको पोखरी जाँदै थिए।
स्कुलबाट फर्कियो, होमवर्क सक्यो अनि पौडी खेल्न नटोलको पोखरी हतारिँदै पुग्यो। अभी र उनका दाइको पछिल्लो दिनचर्या यही हो। प्रायः उनीहरु पौडिन पोखरी पुग्छन्। उनीहरुजस्तै अरु स्कुले बालबालिका पनि हुन्छन्।
त्यही दिन अभीको साथ लागेर जान भ्याइएन। त्यसपछि बिदाको दिन पारेर नटोलको पोखरी पुग्दा केही बालबालिका र अरु केही हुर्किसकेका किशोरहरु ललितपुर महानगरपालिका कार्यालयको केही पर रहेको नटोलको पोखरीमा पौडिँदै थिए।
पोखरीको एक छेउको पानी संग्लो छ। बाँकी पोखरीलाई हरियो लेउले ढाकेको। पौडनेहरु छेउछाउका भित्तामा उक्लेर डाइभ हान्दै गरेका। अभीले बाटोमा भेट हुँदा भनेका थिए, ‘हामी त स्कुलबाट फर्केपछि होमवर्क गरेर पौडिन जान्छौँ। बिदाको दिनमा त झन काइदा हुन्छ।’ तर बिदाको दिन पारेर पुग्दा उनी त्यहाँ देखिएनन्।
पोखरीको डिलमा बसेर अरुले पौडी खेलेको एकटकले हेरिरहेका दाजुभाइ भेटिए, बर्दियाका रुबिन र उमेश थारु। १२ वर्षका रुबिन चाकुपाटमा रहेको श्रीचण्डी आदर्श माविमा ७ कक्षामा पढ्छन्। उनका १० वर्षे भाइ ५ कक्षामा।
यी दाजुभाइले बर्दियामा पोखरी र खोलमा पौडी खेले। तर आमाबुवा कामको खोजीमा काठमाडौँ खाल्डो पसे। उनीहरुको पौडी बर्दियामै छुट्यो। ‘यहाँको पोखरीमा खेल्न त डर लाग्छ, उता त खेलिन्थ्यो, माछा पनि छोपियो’, रुबिन र उमेशले बर्दिया छोडेसँगै उतै छुटेको पौडी–बालापन सम्झिए।
रुबिन र उमेशले नटोलको पोखरीमा पौडी त खेल्दैनन् तर हेर्न भने खाली हुने बित्तिकै आइपुग्छन्।
…
पोखरीमा पौडिरहेका एक बालक बाहिर निस्किए। काम्दै थिए, नाम रहेछ युकेश माझी। अघि फुकालेको टि–सर्ट लगाइसकेपछि पाटन बस्दै आएका युकेश बोले। घर सिन्धुलीको भिमान, बस्ने पाटन। ११ वर्षका युकेश ३ कक्षामा पढ्छन्। अघिल्तिरका दाँत फुस्किएका। साथीहरु जिस्काउँदै थिए, ‘यसको दाँत त मुसाले खायो।’ हुन पनि हो, बच्चा बेलामा दाँत फुक्लिँदा मुसाले खाएको भन्ने चलन छ।
युकेश रिसाए, ‘तिमरको होला नि मुसाले खाको।’ युकेश फेरि गफ गर्न थाले, ‘बुवा–मम्मीले थाहा पाए त कुट्छन्, म त भागेर आउँछु। आज बुवा–मम्मी थिएनन्। अनि आएँ।’
रुबिन र उमेशलाई जस्तो यो (नटोल) पोखरीमा पौडिन युकेशलाई डर लाग्दैन रे। मजा सिन्धुलीकै खोलमा आउने। ‘खोलामा बग्दै गयो, फेरि डिलमा उक्लेर डाइभ हान्यो, यो पोखरीमा त छेउमा मात्रै खेल्न मिल्छ’, युकेशले सिन्धुली सम्झिए।
युकेशसँगै पौडिएका पृथ्वी तामाङ्ग निस्किए। बाक्लो जिउडाल, अगाडिको एउटा दाँत थोरै टुटेको। टाउकोमा सानो चोट पनि। १० वर्षका भए, पढ्छन् २ मा। ‘भागरे आएको, मम्मीले पिट्नुहुन्छ’ लुगा लगाउँदै उनी बोल्दै गए, ‘अब घर जाने, जाडो पनि भयो।’ बुवा–आमा मजदुरी गर्छन्।
उनी ताल पर्ने बित्तिकै पोखरी आइपुग्छन्। ‘गाउँ बाराको निजगढ, उताको पोखरीमा जताबाट डाइभ हाने पनि हुने, यहाँ त खेल्ने ठाउँ थोरै फेरि टाउको पनि ठोकिन्छ’ यो भन्दै गर्दा चुहिन लागेको नाकको सिगान पुछे। ‘तर यहाँ पनि रमाइलो भने हुन्छ’ भन्दै उनी बाटो लागे।
…
काभ्रेको कमेरे गाउँका अप्पर लामा १२ वर्षका भए। बस्ने पाटन। उनको पौडी ठेगान पनि नटोल पोखरी नै बनेको छ। बोहोरे खोलमा माछा मार्दै पौडेको सम्झना उनमा छ, नटोलको पोखरीमा खेल्दा पनि।
अप्परले कुरा गर्दै थिए अभी देखिए। अप्पर लुगा लगाउँदै घरतिर लागे। अभीलाई केही दिनअघिको भेटको सम्झना भएन सायद। दाइ खोइ भन्दा, ‘आज म एक्लै आएको’ भने।
अभी पौडिए, डिलमा बसेर हेर्नहरु पनि थिए। एकछिन खेलेपछि बाहिर आए। घामले रंग खुइलाउँदै लगेको रातो रंगको टि–सर्ट लगाउँदै सिँगान पुछे।
पोखरी पस्ने बेला कोशीपारी घर भनेका अभीलाई अहिले थाहा भएछ, ‘हाम्रो घर त काभ्रेको माने गाउँ हो।’ माने गाउँका अभी हुर्किँदै थिए, बुवा–आमा पाटन आए। अभीबाट माने गाउँको खोला छुट्यो। अनि त्यसको तिर्सना बर्खाको केही महिना नटोल पोखरीले मेटाउँछ।
अभी, अप्पर, युकेश, पृथ्वी र अरु यस्तै धेरैको नटोल पोखरी ‘स्वीमिङ्ग पुल’ बनेको छ। बुवा–आमा काममा व्यस्त, व्यवस्थित स्वीमिङ्ग पुलमा जान पैसाले त्यति पुग्दैन। अनि उनीहरुले गाउँका खोलामा खेलेको पौडीको न्यास्स्रो मेटाउने थलो बनेको छ यहि पोखरी।
…
पोखरी त्यति सुरक्षित भने छैन। एक त सरसफाइ, अर्को डुब्ने डर पनि छ। त्यो भन्दा पनि पोखरीसँग जोडिएको किम्बदन्ती। खासमा यो ढुंगेधारा बढी थियो, सँगै पोखरी पनि। जुद्ध शम्शेरको सहयोगमा वि.सं. २००२ मा स्थानीय पुनर्निर्माण गरिएको हो।
पोखरीमा पौडी खेलेको हेर्न आउनेमा तिर्थराज बज्राचार्य पनि थिए। ६३ वर्षका उनी स्थानीय बासिन्दा हुन्। ‘यो पोखरीले त मान्छे खान्छ’ उनको यो भनाइले ध्यान तानियो।
बुझ्दै जाँदा २००२ सालअघि अहिले पोखरी रहेको ठाउँमा खेत थियो। पहिलेको पोखरीले स्थानीयकै भाषामा ‘मान्छे खान थालेपछि’ पुरिएको थियो। तर जुद्ध शम्शेरको पालमा ललितपुरका किसानले फेरि ढुंगेधारा र पोखरी बनाए। ‘हामी यहीँको पानी खाएर हुर्केका हौँ। तर अहिले धारा मासियो। भूकम्पपछि त पानीको निकास नै हुँदैन’ उनले भने।
अहिले पनि बिचमा गहिरो रहेको पोखरीमा मान्छे डुब्ने डर छ। त्यो भन्दा पनि बच्चाहरुले पनि सुनेका छन्, ‘यो पोखरीले मान्छे खान्छ’ भन्ने। डर लाग्छ अभीहरुलाई। तर डरलाई जितेर उनीहरुले गाउँका खोला तथा पोखरीमा खेलेको पौडीको सम्झना नटोलको पोखरीबाट मेटाएका छन्।
…
प्राचीन शहर काठमाडौँ उपत्यकामा नटोल पोखरी जस्ता अरु पनि पोखरी र ढुंगेधारा छन्। यिनले बाहिरी जिल्लाबाट आएका र सम्भवतः स्वीमिङ्ग पुलमा जान नसक्नेहरुका लागि बर्खाका केही महिना भए पनि पौडीको मज्जा दिएका छन्।
तर ती पोखरी र पौडिनेको सुरक्षामा भने त्यति चासो गएको जस्तो देखिँदैन। चासो दिइएन भने जाजरकोटमा पहिरोले बालापन खोस्यो, यता पोखरीले खोस्ने डर हुन्छ। अभीहरुलाई बर्खाका केही मिहना भए पनि पौडीसँग जोडिएको बालापान दिलाएका पोखरीहरु बाँचिरहून्, बालापान बाँचिरहोस्।