गाईजात्रा पर्व मनाईँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

गाईजात्रा पर्व मनाईँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
+
-

काठमाडौँ – भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ सोमबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

त्यहि बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौँ उपत्यकामा यसमा विशेष रौनक हुन्छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुणरसका गीत पनि गाइन्छ । व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही कूपछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्झनुहुन्छ ।

“विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा मनायो, त्यसपछि प्रज्ञाले सात वर्षसम्म यसलाई निरन्तरता दियो”, त्यसबेलाको घटना सम्झँदै उहाँले भन्नुभयो । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थतामा सार्थकता झल्काउने संस्कृतिविद् जोशीको भनाई छ ।

जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धानचामलको नमुना तथा काठमाडौँको ठमेलमा स्वर्ण र रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । पछिल्लो समय गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रम आयोजना गर्ने र पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गर्ने गरिन्छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, सङ्खुवासभा, इलाम, सुनसरी, मोरङ, पर्सा, मकवानपुर, कास्कीलगायत जिल्लाका शहरमा पनि मनाइन्छ । गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदासमेत दिइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?