
वायु प्रदुषणले व्यक्तिको मस्तिष्कले अनुभुति गर्ने वा सोच्ने क्षमतामा नोक्सान गर्ने एक अध्ययनले देखाएको छ । वायु प्रदुषणका कारण व्यक्तिको कुनै पनि कुरालाई अनुभुति गर्ने वा त्यसबारे धारणा बनाउने क्षमता (कगनेटिभ पर्फमेन्स) कमजोर बनाउने अनुसन्धानकर्ताले बताएका छन् ।
उमेरसँगै यसको प्रभाव पनि बढ्दै जाने देखिएको छ । अझ शिक्षाको स्तर कम भएका व्यक्तिमा वायु प्रदुषणका कारण मस्तिष्कको अनुभुति गर्ने क्षमतामा पर्ने नकारात्मक प्रभाव भयावह देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।
अमेरिकी तथा चिनियाँ अनुसन्धानकर्ताले चार वर्षसम्म २० हजार व्यक्तिको गणित तथा भर्वल स्किलमा गरिएको अनुगमनबाट यस्तो देखिएको हो । विश्वका शहरी क्षेत्रमा बस्ने मध्ये ८० प्रतिशत भन्दा बढी वायु प्रदुषणको स्तर सुरक्षित तह भन्दामाथि अर्थात असुरक्षित रहेको छ ।
अदृश्य हत्यारा अर्थात इनभिजिबल किलरको रुपमा रहेको वायु प्रदुषणका कारण हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । प्रदुषणका कारण मस्तिष्कको अनुभुत गर्न सक्ने क्षमतामा पर्ने नकारात्मक प्रभाव पुरुषमा बढी रहेको छ ।
प्रदुषणका कारण अल्जाइमर तथा अरु प्रकारका डिमेन्सियाको जोखिम पनि बढ्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । उच्चस्तरको वायु प्रदुषणमा एक वर्षसम्म लगातार बस्नु परेमा सबैको शैक्षिक स्तर कम गर्ने देखिएको याले विश्वविद्यालयको पब्लिक हेल्थका प्रोफेसर तथा अनुसन्धानकर्ता सी चीनले बताएका छन् ।
यसअघिका अनुसन्धानले वायु प्रदुषणका कारण विद्यार्थीको सोच विचार गर्ने क्षमताका कमी आउने देखिएको थियो । अहिलेको अनुसन्धानमा १० वर्षमाथिका महिला तथा पुरुषको गणित तथा भर्वल स्किलमा सन् २०१० देखि २०१४ सम्म निगरानी गरिएको छ । यसमा गणितका २४ वटा प्रश्न तथा ३४ वटा शब्द थाहा पाउने सम्बन्धी प्रश्न गरिएका थिए ।
पछिल्लो अनुसन्धान अनुसार वायु प्रदुषण भएका क्षेत्रमा बस्ने बढी उमेरका पुरुषको कगनिशन क्षमतामा निकै नकारात्मक प्रभाव पर्ने देखिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा अहिले ९१ प्रतिशत भन्दा बढी मानिस वायुमा प्रदुषणको मात्रा सामान्य भन्दा बढी रहेको क्षेत्रमा बस्ने गरेका छन् ।
वायु प्रदुषण उच्च रहेका विश्वका २० शहर मध्ये भारतका १४ शहर रहेका छन् । विश्वमा हरेक १० मा ९ जनाले प्रदुषित वायुमा सास फेर्ने गरेका छन् ।