
सुभाष आचार्य –
एक दशक अघिको कुरो हो, जब म नैरोबी, केन्यामा कुनै सरकारी बैठक वा अन्तर्राष्ट्रि संस्थाको गोष्ठी, सम्मेलनमा ठूला होटलका भोजमा जान्थे उगाली (सेतो मकैको ढेँडो), खानेको लाइन देख्दा अचम्म मान्थेँ ।
तर त्यहाँको मौलिक खाना यति धेरै स्थापित छ कि ढेँडो ठूला भोजमा राख्नु र खानु भनेको ठूलाबडालाई पनि सामान्य कुरा हो । त्यसैगरी रुवान्डा, युगान्डाका भोज भतेरमा माटाओके (उसिनेको काँचो केरा) ले लिएको स्थान देख्दा तरुल र सखरखण्डले प्यासिफिक टापुमा मुख्य खानामा सजिएको देख्दा म इश्र्या गर्थेँ, किन नेपालका भोजले, स्थानीय हुने खानेको भान्साले हाम्रो मौलिक खाना चटक्कै बिस्र्यो?
किन हामीलाई आयातित विदेशी उत्पादनमा नै निर्भर हुनुपर्यो? कता हरायो हाम्रो पुर्ख्यौली खाना? किन चाहिन्छ? हामीलाई चाहिँ तीन साँझा हिन्दुस्तानी बास्मती र मन्सुलीको नै भात? हाम्रा मौलिक खाना छुटाएर कसरी भयौँ हामी सभ्य?

सुभाष आचार्य
मैले अनुभव गरेको विभिन्न ठाउँका मौलिक खानाको प्रकार र प्रकृति बडो गज्जबको छ । जस्तैः उगाली र गीथुरी (स्थानीय गेडागुडी) केनियनका लागि अझै पनि मुख्य खाना हो, जुन कुनै पनि साना वा ठूला रेस्टुरेन्ट वा होटेलहरुमा, औपचारिक भोज भातेरमा अन्य खानाका साथमा इज्जतसहित राखिन्छ र बिना हिच्किचाहट सबैले खाने प्रचलन छ ।
माटाओके, उगाली, गीथुरी हर शहरिया वा गाउँले युगान्डा बासीको भान्सामा पाकेकै हुन्छ । त्यसैगरी नान, रोटी, दाल पाकिस्तानी र अफगानीलाई हर दिन खानै पछ । सखरखण्ड, तरुल, पवपव (स्थानीय फलबाट बनेको लेदो), केरा, बदाम, माछा आदिबाट बनेको खाना पपुवान्युगिनि र अन्य प्यासिफिक टापुबासीहरुले अझै मूल खानाका रुपमा गौरव साथ खाएकै छन् । हुन त अस्ट्रेलियन वा न्युजिल्याण्डका खाना तिनीहरुको बजारमा नभित्रिएका होइनन् ।
आदिम कालदेखि खाँदै आएको स्थानीय र मौलिक खाना आफ्नै कृषि पैदावारमा आधारित छन् र लोकप्रिय पनि उत्तिकै । मैले स्थानीयबासीसँगै बसेर खाने मौका पाएकाले यी यथार्थ लेख्दैछु्र । मलाई, यसमा चासो पनि उत्तिकै छ किनकि खाद्यसुरक्षाको विषयमा बिगत डेढ दशकदेखि काम गर्दै आएकोले होला चाहे जतिसुकै धनी वा गरिब होस् धेरैजसो देसका जनताले आफ्नै देशमा उत्पादित बस्तुबाट बनेका आफ्ना मौलिक खाना नै खान्छन् । मनपराउँछन्, गौरव गर्छन् र सरकारले पनि यस्ता खाद्यबस्तुको स्वदेशमा नै उत्पादन गर्न उत्प्रेरणा दिन्छ ।
विदेशबाट हुने आयातले स्थानीय उत्पादनलाई असर नपरोस भनेर कठोर नीति अबलम्बन गरेको हुन्छ । अन्यथा यसले देशको आर्थिक अवस्था डामाडोल पारिदिन्छ र आन्तरिक कृषि व्यवसाय धारासायी हुन्छ । जस्तैः अहिले नेपालले भोग्नु परेको छ ।
म जहिले सम्झन्छु, मेरो बाल्य तथा युवा अवस्थामा बनेको मेरो घरको खाना । हाम्रा सबै खाना स्व–उत्पादित हुन्थे । यदि बजारबाट केही किनिहाले पनि स्थानीय तहमा उत्पादन हुन नसक्ने बस्तु जस्तैः चिनी, नुन, जीरा (मसला), मट्टीतेल र कपडा मात्रै हुन्थे । विदेशी खाद्यबस्तु बिरलै हाम्रो बजारमा आउँथ्यो । मेरो परिवार मध्यम वर्गीय परिवारमा पर्थे र हाम्रो आफ्नै खेतबारीमा चामल, मकै, गहुँ, कोदो, तरकारी, गेडागुडी उत्पादन हुन्थ्यो ।
परिवारले खपत गरिसकेर बढी भएको केही खाद्यान्न बिक्री पनि हुन्थ्यो । तैपनि म सम्झन्छु, घरमा भात, मकैको ढेँडो, मौसम अनुसार अन्य अन्न कोदो र गहुँका परिकार पनि पाक्थ्यो र हाही खुशी साथ खाने गर्थ्यौँ । हामीले चामल नभएर ढेँडो खान परेको अवश्य होइन, बरु स्व–उत्पादित कृषि अनाज खाने हाम्रो पुर्ख्यौली प्रचलन नै थियो ।
आजकाल बल्ल खाद्यविज्ञले खाना विधिकरण गरी खानु स्वास्थ्यको लागि फाइदाजनक छ भन्न थालेको छन् । कति महत्वपूर्ण र अर्थपरक खाद्य प्रणाली अपनाइँदो रहेछ उस बखत । हामी मात्रै होइन, धनी भन्दा धनी परिवार पनि यसै गरी बिबिध अन्नको परिकार खान्थे ।
समय अगाडि बढ्ने क्रममा, हाम्रो समाजले उल्टो काँचुली फेर्यो । दुर्भाग्यबस हाम्रो आफ्नै स्थानीय, मौलिक र रैथाने खाना नै विभाजित भए । चामलको भात धनीको खाना हुन गयो भने मकै, कोदो, फापर र गहुको ढँडो गरिबको खाना ।
तथापी गरिबको खाना पौष्टिक तत्वको हिसाबले धनीको भन्दा अझ उत्तम ठहरिन्छ्र आडम्बर र घरानाको रबाफ देखाउन पनि बिस्तारै, खानाको नामकरण पनि बदलियो । भात भुजामा परिणत भयो, भने ढेँडो ढेँडोमै रह्यो । भुजा र ढेँडोमा ठूलो खाडल बन्यो ।
जहिले भुजा खाने खानदानी घराना परिवारका भन्ने बुझिन थाल्यो भने ढेँडो खाने गरिब, कंगाल र तल्लो दर्जाको । यो बिडम्बनाले, बिस्तारै चामलको खपत बढ्योस तर उत्पादन भने घट्नेक्रम निरन्तररह्यो । अन्तत्वगोत्वा हामी अहिले हिन्दुस्तानी आयातित चामलमा भर पर्दैछौँ र वार्षिक लगभग ३५ अर्बको चामल आयात गर्दछौँ ।
किन्तु, पौष्टिक अनि आफ्नै उत्पादित गहुँ, मकै, फापर, कोदो, उवा, आलु आदि गरिबको खानामा स्तरीकरण गरी तिरस्कार गरिरहेकाछौँ । तराईबाट उत्पादन हुने धान, गहुँ, दाल, आलु सिजनमा सस्तोमा हुन्दुस्तान निर्यात गर्ने अनि पछि महंगोमा सोही चामल र आट्टा आयात गरी किसानको आर्थिक अवस्था र देशको कृषि उत्पादनलाई क्षयिकरणगर्दै, पुरै आर्थिक अवस्था धारासायी बनाइरहेकाछौँ ।
हामी अर्बौको चामल, २० अर्ब भन्दा बढीको तरकारी साथै अर्बौँको खसी, राँगा, भैँसी, हाँस, मादक पदार्थ, फलफूल आदि हिन्दुस्तान तथा अन्य देशबाट आयात गर्दछौँ । जुन बस्तु आफ्नो देशमा उत्पादन हुँदैन वा गर्न सकिँदैन, सो बस्तु आयात गर्नु युक्ति संगत हुन्छ, तर उत्पादन हुन सक्ने जमिन छ, वातावरण छ, जनशक्ति छ, प्रविधि छ र खाद्य आवश्यकता पनि हुँदाहुँदै उत्पादन नगर्नु वा उत्पादन गर्ने रणनीति सरकारबाट नआउनु चाहिँ लत्तो छोडेको बाहेक अरु केही होइन ।
यसले देशको भविष्य अन्धकारमा धकेल्दैछ । आफ्नो देशमा उत्पादन हुने सबै अन्न यदि हामीले समुचित किसिमले उपयोग गरेमा, देश बाहिर गएको रकम विकास, निर्माण र सेवा मुलक परियोजनामा लगानी गर्न सकिने थियो ।
कृषि व्यवसायको सुधार, किसानको आर्थिक वृद्धि, आफ्नो परिवारको स्वास्थ्यमा संवेदनशील र सभ्य समाज सृजना गर्ने दायित्व, हाम्रो आफ्नै हातमा छ । यसका लागि के हामी यथाशीघ्र यसो गर्न सक्दैनौँ?
१.चामललाई मात्रै मुख्य खानाको श्रोत नसम्झी, विविध कृषि उपज मकै, गहुँ, कोदो, फापर, आलु, उवा आदि स्वदेशमा उत्पादित बस्तुलाई दैनिक खानामा समाबेस गराउँ ।
२. आफ्ना घरपरिवारका बालबच्चालाई स्थानीय तथा मौलिक खाना तयार गरी खान प्रोत्साहन गरौँ।
३. घरायसी जमघट वा भोज भतेरमा स्थानीय तथा मौलिक खाना तयार गरी प्रचार प्रसार गरौँ ।
४. भोजमा वा रेस्टुरेन्टमा मौलिक खानको नामसँगै यसमा पाइने पौष्टिक तत्वको मात्र पनि उल्लेख गर्ने गरौँ, जसले गर्दा युवा पुस्तालाई खानाको महत्व बुझ्न सहज होस्स ।
५. विद्यालय, कलेज, सरकारी क्यान्टिन, तालिम, गोष्ठीमा अरु खानासँगै स्थानिया मौलिक खान पनि राख्ने अनिवार्य व्यवस्था मिलाउँ ।
६. सबै स्थानीय खाद्यान्न सहज बिक्री गर्ने प्रबन्ध मिलाउन सरकारी स्तरबाट व्यापारीलाई कडा निर्देशन दिने व्यवस्था मिलाउँ ।
स्थानीय स्तरबाटै सुरु गरे सरकारको मात्रै मुख ताक्न पर्दैन भन्ने उदाहरण चितवनबासीले हिन्दुस्तानबाट आयातित केरा प्रतिबन्ध गरी स्थानीय यस्तरमा उत्पादित केरालाई मात्रै बजारमा प्रवेश गराउने निर्णय गरे । अहिले केरा उत्पादन गर्ने किसानको स्तर ह्वात्तै बढेकोछ ।
यसैगरी चितवन, झापा, मकवानपुर, नवलपरासी, तनहु, धादिङ्ग आदि जिल्लाका कुखुरा व्यवसायीले कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनाइसके । सायद हाम्रो देशकै उत्पादित महले पनि उल्लेख्य बजार स्थापना गरिसक्यो । बिस्तारै पशुपालन, दुग्ध व्यवसाय पनि फस्टाउँदै छ ।
होला, केही बस्तुमा हामीले हिन्दुस्तानको उत्पादनसँग प्रतिस्पर्ध गर्न नसकौँला, तर सोही बस्तु नजिकैको छिमेकी तिब्बतलाई वैकल्पिक बजार गन्तव्यको रुपमा स्थापना गर्न सक्छौँ ।
नेपालमा उत्पादन हुने तर तुरुन्तै नसड्ने जातका तरकारी तिब्बतलाई प्रसस्त निर्यात गर्न सक्छौँ । केही वर्षअघि नेपालमा उत्पादित काउली, बन्दा तिब्बत निर्यात भएकै हो । त्यसैगरी अर्ग्यानिक हरियो तरकारी, फलफूल खाडी मुलुकमा प्रसस्त निर्यात गर्न सक्ने सम्भावना पनि छ । यसमा, नेपाल सरकारको सो मुलुकमा रहेका राजदूतहरुको सहयोगले बजार बिस्तार गर्न सके निर्यातको सम्भावना प्रचुर देखिन्छ ।
स्वाधिनताको र राष्ट्रियताको खोक्रो नारा मात्र होइन बिहान–बेलुका घरमा हिन्दुस्तानी बासमतीको भुजा र खसीको मासु अनि सात समुन्द्र पारका आयातित मदिरामा रमाउने संस्कार बदल्न जरुरी छ ।
त्यसैले देख्दा सानो र गर्दा सजिलो तर दीर्घकालीन सकारात्मक प्रभाव पर्ने काम आजैदेखि सुरु किन नगर्ने? आयात घटाई बचेको अर्बौँ, खर्बौँ रुपैयाँबाट मुलुकमा लोक कल्याणकारी विकास कार्य गर्न सम्भव छ । सात खर्बको वार्षिक घाटा अरु कसैले हाम्रो थाप्लोमा राखिदिएका होइनन्, यो हाम्रै बेथितिको फल हो ।