
मधुसुदन ओझा
कोरियामा २ करोडभन्दा ज्यादा श्रमिक छन् यस मध्ये १० लाख बढी प्रवासी श्रमिक छन्। इपीएसबाट मात्र कोरिया आउने प्रवासी श्रमिक संख्या २ लाख ६५ हजार भन्दा बढी छ। कोरियामा श्रमिकको अभावको कारण प्रवासी श्रमिक ल्याउने गरिएको छ। कोरियामा प्रवासी श्रमिकको शख्या दिन प्रतिदिन वृद्धि हुदै गैरहेको छ।
संख्या बढे पनि हक अधिकारको हिसावले प्रवासी मजदुरको अवस्था नाजुक छ। प्रवासी मजदुरको हकमा कम्पनी परिवर्तन र छनोट गर्न पाउने,मजदुर तीन अधिकार पूर्ण रुपमा उपयोग गर्न पाउने अधिकारबाट वञ्चित गराएको छ। कम्पनीमा जबर्जस्ति काम गर्न बाध्य गराएको छ प्रवासी मजदुरहरुलाई उनीहरुले कानुन बमोजिम पाउने सेवा सुविधा नदिएको अवस्था छ।
कोरियन सरकारले मजदुर कानुनको उल्लघन गर्दै नीति नियम ,निर्देशिका बनाई रहेको अवस्था छ गत वर्ष मात्र प्रवासी श्रमिकको कम्पनीले खाने बस्नेको व्यवस्था गरिदिएमा त्यसको खर्च बापत तलबको बढीमा २० प्रतिशत दिनु पर्ने निर्देशिका बनाएको छ।
यो कोरियामा प्रवासी मजदुरले पाउने तलबको तुलनामा ज्यादै बढी हो कुनै पनि सम्झौता गर्दा दुई पक्षको उपस्थिति र सहमतिमा गर्नु पर्छ भन्ने छ । तर प्रवासी श्रमिकको हकमा यो नियम पालना नगरिएको अवास्था छ। थेजिकगुम पाउनेको लागि कोरिया छोड्नु पर्ने हुन्छ। जुन कानून विपरीत छ समान काम समान ज्यालाको नियम लागू गरिएको छैन।

मधुसुधन ओझा
इपीएसमा सम्पूर्ण अधिकार कम्पनी मालिकलाई भएको कारणले एकातिर कार्य अवधिभित्रै भिसा गुमाउन बाध्य छन्। प्रवासी श्रमिक भने अर्कोतिर जस्तो सुक्कै परिस्थिति आइपरे पनि कार्यस्थल परिवर्तन गर्न बन्देज लगाएको छ।
अहिले कोरियन व्यवसायीहरुले प्रवासी श्रमिक तलब कटौती हुनुपर्ने आफ्नो मागलाई जोडदार रुपमा पेश गरेका छन्। जस अनुसार प्रवासी श्रमिक कोरिया प्रवेश गरेको पहिलो वर्ष २०% दोस्रो वर्ष १०% र तेस्रो वर्ष मात्र पूरा तलब दिनुपर्छ भन्ने छ।
यदि यो लागू भएमा प्रवासी श्रमिक अनेकन मारमा पर्ने पक्का छ्। एक त पहिलेबाटै प्रवासी श्रमिक खाने बस्ने निर्देशिकाका कारण शोषित पीडित छन्।
अर्को रोजगार दाताले प्रवासी श्रमिकको अनेकन् कारण देखाएर ३ बर्षपछि को १ बर्ष १० महिना को भिसा नथपिदिने समस्या अहिले प्रायः धेरै प्रवासी श्रमिक ले भोग्ने समस्या हो भने यदि प्रवासी श्रमिकको तलब कटौतीको माग मान्य भएमा प्रवासी श्रमिक ले झनझन शोषित पीडित हुनुपर्ने छ।
सन् १८८६ मा अमेरिकामा पुँजीपतिहरु मोजमस्ती गर्ने हिराको दात लगाउने , १०० डलरको नोटमा सूर्ति बेरेर खाने गरेर हिडिरहेको अवस्थामा मजदुरहरु चाँहि १२ देखि १६ घण्टासम्म काम गरेर हप्तामा ७/८ डलर ज्याला पाउँथे।
उनीहरुले पाएको ज्यालाले थोत्रो घरको महिनामा १०/१५ डलर भाडा तीर्न मुस्किल हुने दासको जस्तै जीवनयापन गरिहेका थिए। यस्तो अवस्थाबाट मुक्ति पाउन अमेरिकी मजदुरहरुले काम गर्ने समय ८ घण्टा हुनुपर्छ भन्ने माग राख्दै आमहडतालमा उत्रिए।
कम्पनीमा मेसिनको आवाज औजारको आवाज सुनिन छाड्यो ,मेसिनबाट धुवाहरु देखिन छाडे। गाडी चालकले गाडीहरु चलाउन बन्द गरे पसलहरु बन्द भए मजदुरले हात चलाएन भने विश्व ठप्प हुन्छ भन्ने कुरा प्रमाणित गराई दिए । फलत: मजदुर आन्दोलन ले परिवर्तन ल्यायो । उक्त श्रमिक आन्दोलन ले बिश्व श्रमिक आन्दोलन लाई ठुलो प्रेरणा दिएको थियो।
अहिलेको आधुनिक युग श्रम अनि श्रमिकको युग का रुपमा चिनिन्छ। यसै युग को शुरुवात सँगै विभिन्न कारखाना, उधोग, उत्पादन अनि विकासका नयाँ नयाँ आयामको शुरुवात भएका हो। यी उद्योग अनि औद्योगीकरण मा श्रमिकको भूमिका महत्व पूर्ण हुन आउँछ । तर बिडम्बना यसरी औद्योगीकरण मा अहम भूमिका निर्वाह गर्ने श्रमिक को अवस्था भने दिनप्रति दिन खस्किदै गैराखेको छ।
श्रमिक कै सामर्थ्यता, खुन-पसिना का कारण आज विश्वमा पूजीपतिहरुले दिन दुगुना र रात चार गुना प्रगति गरिराखेका छन् तर जब श्रमिकको प्रगतिको सवाल उठछ तब उसको श्रमको उचित सम्मान गरिनुको साटो उल्टै उसको श्रमको शोषण गरेर उसलाई कहिले पनि आफ्नो आधारभूत हकाधिकार बाट समेत कोशौ दूर राखेर दास बनाएर राखिन्छ। कोरियामा पनि प्रवासि श्रमिकको अवस्था दिनप्रति दिन दयनीय हुदै गइरहेको छ। ।
कोरियामा प्रवासी श्रमिकका लागि लागू हुने अलग इपीएस कानुनका कारण प्रवासी श्रमिकलाई आफू खुशी श्रम रोज्ने अधिकारबाट वञ्चित गराउनुका साथै मजदुरका आधारभूत हक अधिकारमाथि कुठाराघात गरिएको छ।
कोरियन श्रम कानुनमा समेत श्रमिकलाई जबर्जस्ती काम गराउन नहुने र श्रम रोज्न पाउने अधिकार सुनिश्चित गरिएको छ। तर पनि प्रवासी श्रमिकमाथि जबर्जस्ती लादिएको इपीयस कानुनले भने रोजगारदातालाई सम्पूर्ण अधिकार दिएर प्रवासी श्रमिकलाई दासको रुपमा काम गर्न विवश बनाएको छ।
विशेष गरी कृषितिर कार्यरत प्रवासी श्रमिकलाई दिन को १४/१४ घण्टा बेसिक तलब नै नदिएर दास बनाएर जवर्जस्ती काम गराइन्छ। विश्व भरीका श्रमिक को पक्ष मा केहि परिवर्तन आए पनि कोरिया मा भने इपियसले श्रमिक लाई आधुनिक युग मा आज्ञाकारी दासको भन्दा पनि न्युन स्तरीय जिवन जिवन बिबस तुल्याएको छ।
कोरियामा कार्यरत प्रवासी श्रमिकको अवस्था १८८६ भन्दा पहिलेको श्रमिक को अवस्था भन्दा कम नाजुक छैन्। कोरिया मा कार्यरत सबै प्रवासि श्रमिक आफ्नो हक अधिकार प्राप्ती का लागि दवाव शृजना गर्नु पर्ने नितान्त जरुरी देखिन्छ।
यदि कोरिया मा कार्यरत सबै देश को प्रवासी श्रमिक एकजुट भएर दवाव शृजना गर्न सकिएन भने युगौ सोसित पीडित भइ दासत्व स्वीकार्दै बस्न बाध्य हुनुपर्ने छ। संसारको अन्य देशमा र कोरियामा भएका विभिन्न श्रमिक आन्दोलनलाई आत्मसात् गर्दै प्रवासी श्रमिक एकजुट भएर दबाब शृजना गर्न सके कोरिया प्रवासी श्रमिकका हक अधिकार प्राप्त हुने सुनिश्चित नै छ।