
काठमाडौँ – पर्यटकीय सिजन सुरु भएसँगै मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेको लुक्लामा नेपाल वायु सेवा निगमले शनिबारदेखि थप विमानको उडान सुरु गरेको छ ।
नेपाल वायु सेवा निगमले शनिबारका लागि लुक्का विमानस्थलमा चारवटा उडान भर्दैछ । तीनवटा जहाजले सफल उडान गरिसकेको र एउटा विमानले दिउँसो १२ बजेसम्ममा उडान भर्ने नेपाल वायु सेवा निगमका पाइलट उद्धव घिमिरेले जानकारी दिए ।
लुक्ला विमानस्थलमा शनिबार बिहान ६ बजेदेखि थप उडान सुरु भएको हो । वाई–१२ ई नामको तीनवटा विमानको अवतरण भएको र अब एउटा ट्वीनअटर विमान अवतरण हुने उनले बताए ।
यो पछिल्लो १० वर्ष यताकै नेपाल एयरलाइन्सको ठूलो उपलब्धी मध्ये एक हो । देशको व्यस्त मध्ये एक विमानस्थल रहे पनि लुक्लामा नेपाल वायु सेवा निगमले थोरै मात्र उडान भर्दै आएको थियो ।
निगमको व्यवस्थापनको कमजोरीका कारण विमान भएर पनि उडान हुन नसकिरहेको अवस्थामा कार्यकारी अध्यक्षको रुपमा मदन खरेलआएपछि उडानहरु थपिएको हो ।
निगमले शनिबारदेखि विभिन्न पहाडी क्षेत्रका विमानस्थलमा थप व्यवसायिक उडान सुरु गरेको हो । त्यसै अनुरुप लुक्ला विमानस्थलमा चारवटा उडान नेपाल एयरलाइन्सले गर्न लागेको पाइलट घिमिरेले बताए ।
वाई–१२ ई १६ तथा ट्वीनअटरमा १७ यात्रु बोक्न सकिन्छ । लुक्ला विमानस्थलमा निजी विमान कम्पनीले नियमित उडान गर्ने गरेको भए पनि नेपाल एयरलाइन्सको उडान नियमित हुन सकेको थिएन ।
अब भने उडान थपिएसँगै यात्रुले सस्तो दरमा लुक्लासम्मको यात्रा गर्न पाउने भएको पाइलट घिमिरेले बताए ।