
नवरात्रमा नौ दिन छन्, नौ दिनमा नौवटै देवीको पूजा गरिन्छ , शरीरभित्र त्यस्ता नौ वटै ढोका छन् , जुन ढोकाहरुबाट देविले एक एक गरेर आन्तरिक विकारलाई निकालेर मनुष्यलाई बास्तविक मानव बनाउन मद्धत गर्छिन्। यदि हामिले यो नौ दिनलाई सहि तरिकाले सदुपयोग गर्न सकियो भने अन्य समय भन्दा सुलभ र सहज ढंगले मानवलाई निखारेर मानवीय चेतनालाई उत्कर्षमा पुर्याउन सक्छौं।
हामि जीवनभर आफनो शरीरको बाहिरी सुन्दरताका लागि कठोर भन्दा कठोर काम , धेरैभन्दा धेरै पैसा , राम्रो भन्दा राम्रो साधनको प्रयोगमा पछि पर्दैनौं। मान्छे जसको जति सामथ्र्य हुन्छ त्यतिनै बल प्रयोग गरेर आफुलाई राम्रो बनाउन तत्पर रहन्छ। शरीरको बाहिरि सफाई हामि बिभिन्न माध्यमबाट गरिरहेकै हुन्छौं। तर आन्तरिक सफाइमा हाम्रो ध्यान गएको देखिदैन।
शारदीय नवरात्र त्यो सुन्दर पर्वको बेला हो जतिखेर नवरात्रको ९ दिन शरीरभित्र रहेका नौं द्वारहरुबाट आन्तरिक मैलो निकाली अन्तः करणलाई शुद्ध बनाउन सकिन्छ। जसलाई हामि इनर इन्जिनियरिङ रुपमा पनि लिन सकिन्छ।
घटस्थापना देखि नवमी सम्म पालन गर्नपुर्ने नियम धेरै छन्। त्यसमध्ये यहाँ विशेष दुई नियमलाई मात्र उल्लेख गरेका छौं। जसको पालन नवरात्र भर अनिवार्य मानिन्छ। दुर्गति नासिनी इति दुर्गा। हाम्रो शरीरमा नौ वटा द्वारहरु रहेका छन्। जीवनका सम्पूर्ण दुर्गहरुलाई (खराब चीजहरुलाई) यीनै नौ दिनमा नौ द्वारको माध्यमले बाहिर निकाल्ने प्रक्रियाको नाम नै नवरात्रि हो।
नवरात्रि अनुष्ठान महिला पुरुष दुवैले गर्न सक्दछन्। यसमा समय,स्थान,एवं संख्यालाई नियमित राख्नु पर्दछ। सतर्कता र अनुसासनको कारणले गर्दा शक्ति पनि बढी उत्पन्न हुन्छ। कुनै पनि काममा सिथिलता , अनियमितता , अस्त व्यस्ततालाई जसरी अपनाइन्छ सफलता पनि त्यहि अनुपातमा पाउने पक्का पक्की हुन्छ। उपासनाको सम्बन्धमा पनि यहि तथ्यले काम गर्छ।
नवरात्रिका मूख्य दुई नियमहरु रहेका छन्
ब्रह्मचर्य
कोसिस यो हुनुपर्दछ कि नौ दिन सम्म आफ्नो विशेष जप ध्यान एवं पाठ नियमित हुँदै रहोस्। त्यसमा व्यवधान कम भन्दा कम मात्रामा परोस्। तर पनि कुनै आकस्मिक एवं अनिवार्य कारणबाट व्यवधान आउन सक्छ र त्यसबाट साधनामा विचलन , एवं व्यवस्था विग्रीन सक्छ र साधना नै छोड्ने बातावरण पनि बन्न सक्छ।
यस्तो अवस्थामा के गर्न उचित हुन्छ भने विविध कारणबस जति दिन साधना रोकिएका छ त्यसको पूर्ति पछि निरन्तर गर्न सकिन्छ। व्यवधानको क्षतिपूर्तिका लागि एक दिन बढी उपासना गर्न जरुरी हुन्छ। जस्तै-चार दिनको उपासना पश्चात कुनै आकस्मिक कार्यवश बाहिर जान पर्यो भने बचेको पाँच दिन पछि कार्यबाट बाहिर निस्किए पछि फेरी पुरा गर्नु पर्दछ। यदि पाँच दिन उपासना रोकिएको छ भने एक दिन थपेर ६ दिन फेरी उपासना गर्नु युक्तिसंगत हुन्छ। महिलाहरुको मासिक धर्म उपासनाको बीचमा भयो भने शुद्ध नहुँदासम्म रोकेर तत्पश्चात बाँकी दिनमा एक दिन बढी साधना गर्नुपर्दछ।
अनुष्ठानका लागि नियम पालन गर्न अनिवार्य छ। यसैलाई तप भनिन्छ। यसकै पालनाले अनुष्ठानको शक्ति असाधारण रुपले बढ्दै जान्छ। यी दिनहरुमा ब्रह्मचर्यको पालन अनिवार्य रुपले आवश्यक छ। शरीर एवं मन मा अनुष्ठानको कारणले गर्दा जुन दिव्यता पलाई राखेको हुन्छ , त्यसको कारणले गर्दा कामुकताको प्रवृत्ति बढीरहेको हुन्छ ,यदि त्यसलाई रोकिएन भने उम्लिन लागेको दूधलाई नरोके घाटा त हुन्छ नै। त्यसकारण मनस्थितीलाई बलियो बनाउन जरुरी हुन्छ। राम्रो त यहि हुन्छ कि रात्रिमा विपरित लिंगीसंग नसुत्नु।
दिनचर्यामा यस्तो व्यस्तता र परिस्थितीलाई बढाऔं जसले गर्दा मानसिक एवं शारीरिक कामुकता बढ्न नपाओस्। यदि मनो विकार आयो भने पनि बलपूर्वक रोक्नु गर्दछ र त्यस्तो परिस्थिती आउन दिनु हुदैन। यदि कारणवस यो नियम पालना हुन सकेन अथवा खण्डित भयो भने अनुष्ठान पनि अधुरो नै रहन्छ। यदि गर्नु नै छ भने फेरी नयाँ तरिकाबाट सुरु गर्नुपर्दछ। यहाँ यो बुझ्न आवश्यक छ कि स्वप्नदोषमा हाम्रो कुनै नियन्त्रण नभएको हँुदा दोष मानिदैन। त्यसको प्रायश्चित्वका लागि १० माला अधिक जप गरे मात्र पुग्छ।
उपवास
दोस्रो अनिवार्य नियम हो उपवास: जसको लागि नौ दिन नै फल,फूल, दूधमा बस्न सक्ने अवस्था छ भने अति नै राम्रो तर यस्तो उपवासका बेला पेटमा धेरै दवाव हुने हुँदा प्रायः पेट सफा हुन सक्दैन र पेट गह्रुँगो लाग्न थाल्छ। त्यसका लागि एनीमा अथवा त्रिफला र हल्का पानिले विरेचन गर्नु उचित हुन्छ।
यदि कारणवस जसका लागि यो सम्भव छैन उनीहरुले शाकाहार र मोही आदिमा पनि उपवास बस्न सकिन्छ। राम्रो त यो हुन्छ कि एक छाक खाना र बीच बीचमा कुनै पेय पदार्थको सेवन गर्ने। यदि त्यस्तो व्यवस्था बन्न नसके साँझ विहान नै शाकाहार र दही आदि लिन सकिन्छ।
जसलाई यति पनि गर्न सम्भव हुँदैन उनीहरु अन्न लिएर पनि बस्न सक्छन्। तर नुन र चिनी बाहेक अस्वाद ब्रतको पालन उनीहरुले पनि गर्नु पर्दछ। खानेकुराहरुमा अनेक कुराहरु नखाएर दुई चिज मात्र लिनु पर्दछ। जस्तै: रोटी र दाल , रोटी र साग , भात र दाल, दलिया, दहि। खाद्य पदार्थहरुको संख्या थालमा दुई भन्दा बढी हुनुहुदैन। यो अन्नाहार एक पटक अथवा दुई पटक पनि लिन सकिन्छ। पेय पदार्थ धेरै चोटि लिन पनि सकिन्छ तर त्यो नुन र चिनि बिनाको हुनुपर्दछ।
जसले उपवास एवं ब्रह्मचर्यलाई पालन गर्न सक्दैनन् उनीहरुले जप,ध्यान, र पाठको संख्यालाई बढाउन सक्दछन्। यसको पनि अतिरिक्त लाभ रहेको छ। तर यी दुई अनिवार्य नियमको पालना गर्न नसकिएको खण्डमा त्यसलाई अनुष्ठानको संज्ञा दिन मिल्दैन। र त्यसबाट फल पनि न्यन प्राय हुन्छ।
नवरात्रिका अन्य तीन नियम
१. आरामदायी विस्ताराको त्याग
२. शारीरिक सेवाहरुमा कटौती
३. हिंसाजन्य द्रव्यहरुको त्याग।
यी नौ दिनहरुमा भुँई एवं विस्तारा विनाको ताखतमा सुत्नु तप तितिक्षाको कष्ट साध्य जीवनको एक प्रक्रिया हो। यस्तो व्यवस्था बनाउन कुनै कठिन हुँदैन। चारपाई एवं पलंगलाई छोडेर भुँईमा एवं दाखतमा विस्तारा लगाएर सुत्न अलिकसित असुबिधाजनक लागेपनि सुत्नेकाममा कुनै पनि व्यवधान आउदैन। निद्रा आरामले पुरा हुन सक्छ।
कपडा धुने, दाह्री कपाल फाल्ने , तेल मालिस , जुत्ता पालिस जस्ता साना ठूला अनेक शारीरकि कामका लागि अरुबाट सेवा लिनुपर्ने हुँदा यो राम्रो हुन्छ कि यी सम्पूर्ण कार्यहरु आफ्नै हातबाट भएको राम्रो। बजारमा बनेको कुनैपनि खाद्य पदार्थको सेवन नगर्ने , यदि खाना नै खानुछ भने पनि कि आफ्नै हातको, पत्नि, आमा जस्ता सिधै नजिक सम्बध भएकाहरुले बनाएको मात्र खाऔं। नोकरको साहायता यसमा जति कम लियो त्यति राम्रो। सार्वजनिक गाडी रिक्सा, टाँगा को अपेक्षा यदि साइकल,स्कूटर , बस, रेल, आदिको यात्राले काम चल्न सक्छ। सार्वजनिक सवारी भन्दा आफ्नै निजि बाहन प्रयोग राम्रो हुन्छ।
तेस्रो नियम छ हिंसाद्रव्यको त्याग। आजभोली ९९ प्रतिशत छाला पशुहरुको हत्याबाटै प्राप्त गरिन्छ। ती पशु मासुका लागि मात्र होइन छालाको दृष्टिबाट पनि मारिएका हुन्छन्। मासु एवं छालाको प्रयोग देखिदा भिन्न लाग्छ तर परिणामको दृष्टिले दुबै हिंसाको आधार हो। यसमा हत्या गर्नेलाई जस्तै उपयोग गर्नेलाई पनि पाप लाग्छ। त्यसकारण छालाको प्रयोग सदाको लागि त्याग्न सके उत्तम हुन्छ अन्यथा अनुष्ठानकालमा भने त्यसको परित्याग गरेर रबड , प्लास्टिक,कपडा आदिको जुत्ता चप्पलले काम चलाउनु पर्दछ।
मासु,अण्डा जस्ता हिंसाजन्य चिजको आजभोली निरोध नै रहेको छ। एलोपैथी दबाइहरुमा पनि त्यस्ता अनेक जीवित प्राणिहरुको सत मिसाईएको हुन्छ। यस्ता चीजहरुबाट बच्नु उचित हुन्छ। रेशम,कस्तुरी, मृगचर्म आदिलाई प्राय: पूजा प्रयोजनमा उपयोग गरिन्छ , यी पदार्थहरु हिंसाबाट प्राप्त हुँने हुँदा अग्राह्य नै मान्नु पर्दछ। मह यदि बैज्ञानिक बिधिबाट निकालिएको छ भने ठिक छ अन्यथा अण्डा बच्चा निचरेर, चाका छातो काट्ने पुरानो बिधिले निकालिएको मह त्याज्य बुझ्नु पर्दछ।
जप , उपासनाका लागि मात्र नभएर पुरै दिनचर्या नै नियमबद्ध हुनुपर्दछ। सुत्ने, खाने, बोल्ने, हिँड्ने ,नुहाउने, आदि सबै काममा पूर्णतः नियम पालन हुनुपर्दछ। अनुशासित शरीर र मनको आफ्नै विशेषता हुन्छ र त्यसबाट शक्ति उत्पादन देखि सफलताको यात्रा दिशामा द्रुत गतिले अगि बढ्ने लाभ मिल्छ। अनुष्ठानको सफलतामा पनि यहि तथ्यले काम गर्दछ।
नौ दिनसम्मको ब्रह्मचर्य पालन , उपवास, योग, ध्यान, जप , पाठ पछि ९ औं दिन अन्त्यमा यसको पूर्णाहूति हो भन्ने कुरा बुझ्न आवश्यक हुन्छ। त्यो दिन विशेषतः यी तीन काम अनिवार्य गर्नुपर्दछ।
१. हवन २.ब्रह्मदान ३.कन्याभोजन
संक्षिप्त हवन पद्धतिले गायत्रीको २४० आहूति दिएर आफ्नो साधनालाई यथा सम्भव सामाग्रीले पूर्णाहूति कार्य सम्पन्न गर्नुपर्दछ। गायत्री आद्य शक्ति-मातृ शक्ति हुन् त्यसको प्रतिनिधित्व कन्याहरुले गर्दछन्। त्यसकारण अन्तिम दिन कम से कम एक अथवा एकभन्दा धेरै सुबिधा अनुसार कन्याहरुलाई भोजन गराउनु पर्दछ।
ब्रह्मदान भनेको सकारात्मक पुस्तकहरुको वितरण हो। जनमानसको मस्तिष्क परिस्कारका लागि आफ्नो सामर्थ्य अनुसार राम्रा पुस्तक वितरण गर्न सकिन्छ।
भित्ताहरुमा आदर्श बाक्य, कोटेसन लेखन – प्रेरक भनाई टाँस्नु अथवा लेख्नु जसलाई प्रेरणप्रद काम ब्रह्मदानको संज्ञा दिईएको छ।