आप्रवासी चराहरु र संरक्षण

सगरमाथाभन्दा माथि उड्‌ने चराहरु

सगरमाथाभन्दा माथि उड्‌ने चराहरु
+
-

बसाईँसराई गरेर आउने चरा अर्थात आप्रवासी चराका लागि गतिलो गन्तव्यमा पर्छ नेपाल । नेपालका विभिन्न ठाउँमा हिउँद वा गर्मीको समय बिताउनका लागि उत्तर तथा दक्षिण क्षेत्रबाट नेपालमा विभिन्न प्रजातिका चराहरु आउने गरेका छन् ।

गर्मीको समय सुरु भएसँगै आउने चराको तुलनामा जाडो याम सुरु हुन लाग्दा नेपाल आउने चराको संख्या बढी रहेको चराविदले जानकारी दिए । चराविद डा. हेमसागर बरालका अनुसार नेपालमा गर्मी छल्नका लागि चैत–वैशाखमा दक्षिणी भेगबाट ५० देखि ६० प्रजातिका चराहरु बसाईसरेर आउने गरेका छन् ।

आप्रवासी चराको संख्या जाडो याम लाग्ने बेला बढी हुने गरेको छ । जाडो याम सुरु हुँदैगर्दा नेपालको उत्तरी क्षेत्रबाट झण्डै १५० प्रजातिका चराहरु आउने गर्छन् । यसरी हेर्दा नेपालमा बर्सेनि झण्डै २०० प्रजातिका चराहरु आउने गरेका छन् ।

अहिलेको समय गर्मी छल्न दक्षिणी क्षेत्रबाट आएका चराहरु नेपालबाट लगभग सबै गइसकेको या केही जाँदै गरेको अवस्था तथा उत्तरबाट जाडो छल्नका लागि आउने झण्डै ८० प्रतिशत चराहरु आइसकेको अवस्था रहेको चराविद डा. बरालले बताए ।

दक्षिण तर्फबाट आएका चराहरु भारत, श्रीलंका, दक्षिण पूर्वी एसियाली क्षेत्रमा फर्किसकेका छन् । र जाडो छल्न उत्तरी क्षेत्रबाट नेपाल पस्ने चराहरु अधिकांस आएका छन् ।

जाडो छल्न आउने चराहरु चीनको विभिन्न भाग, मंगोलिया, कोरियाको छेउछाउ, रुससहितका क्षेत्रबाट आउँछन् । यस्तै साइबेरियाको आर्कटिक सर्कल, मध्य एसियाली क्षेत्र, पूर्वी युरोपका केही भाग, अफगानिस्तानसहितका क्षेत्रबाट यो समयमा चराहरु नेपाल आउने गरेका छन् ।

गर्मी छल्न आउने चराहरु


चैत–वैशाखमा नेपालको दक्षिणी क्षेत्रबाट गर्मी छल्नका लागि भारतका विभिन्न क्षेत्र, श्रीलंका, दक्षिण पूर्वी एसियाली क्षेत्रसहितका ठाउँबाट नेपालमा चरा आउने गरेका छन् । यी चराहरु झण्डै ६ महिना नेपालमा बसेर फर्किने गर्छन् ।

असोज लाग्ने बेलासम्म अधिकांस यस्ता चराहरु नेपालबाट गइसकेका हुन्छन् । यसरी गर्मी छल्न आउने मध्ये केही चराहरु नेपालमै रैथाने बनेर पनि बसेका छन् । नेपालको पूर्वी क्षेत्रमा कोइली प्रजातिको ‘काफल पाक्यो’ भन्ने चरा रैथाने बनेर बसेको चराविद डा. बरालले बताए ।

जाडो छल्न आउने चराहरु


नेपालमा विशेष गरी जाडो छल्न उत्तरी क्षेत्रबाट आउने चराहरुको संख्या उच्च रहेको छ । विशेष गरी असोज महिनामा चीनका विभिन्न क्षेत्रसहित साइबेरियासम्मबाट आउने आप्रवासी चराहरु नेपालका विभिन्न क्षेत्र पुगिसकेका हुन्छन् । मध्य हिउँदसम्म पनि चरा आउने क्रम जारी रहने भए पनि अहिलेसम्म झण्डै ८० प्रतिशत चराहरु आइसकेको चराविद डा. बरालले जानकारी दिए ।

हिउँदमा नेपाल आउने आगन्तुक चरा मध्ये आधा जति सिमसार क्षेत्रमा आश्रित रहने गरेका छन् । यस्तै बाँकी आधा प्रजातिहरु वन तथा घाँसे मैदान र खुला आकाशमा आश्रित चराहरु रहने गरेको चराविदले बताए । खुला आकाशमा आश्रित चराहरुमा चिल, महाचिलसहितका पर्छन ।

यस्तै सिमसार क्षेत्रमा आश्रितमा हाँस प्रजातिका र गिद्ध प्रजातिका रहेका छन् । हिउँदमा आएका चराहरु चैत–वैशाख तिर फर्किन्छन् । यिनीहरु झण्डै पाँच दिन पाँच रातको यात्रा तय गरेर १३ हजार माइलसम्मको दूरी पार गरेर नेपालसम्म आउने र केही महिना बसेर फर्किने गरेको चराविद डा. बरालले बताए ।

आगन्तुक चराको अवस्था


आप्रवासी अर्थात अागन्तुक चराका लागि नेपाल राम्रो गन्तव्य हुँदा हुँदै पनि मानवीय तथा प्राकृतिक कारणले गर्दा उनीहरुमाथि जोखिम बढेको छ । विशेष गरी हिउँदमा आउने आगन्तुक चरा मध्ये आधा जति सिमसार क्षेत्रमा आश्रित हुने गरेको अवस्थामा सिमसार क्षेत्र घट्दै वा खुम्चिँदै जानुले आप्रवासी चराको संरक्षण र सुरक्षाको अवस्था काहाली लाग्दो बनेको चराविद डा. बरालले बताए ।

उनले भने, ‘सिमसारको अवस्था बिग्रिएको छ, भएका सिमसारहरु मासिँदै गएका छन् या खुम्चिएका छन् मानवीय अतिक्रमणले गर्दा र प्राकृतिक कारणले पनि । प्रदुषण बढेको छ ।’

यस्तै सिमसार सबैको भन्ने तर कसैको नभएको अवस्थाका कारण पनि चराहरु समस्या परेका छन् । सिमसार क्षेत्रलाई नै हेर्नका लागि सरकारी निकाय नरहेको अवस्थाले पनि त्यति काम हुन नसकेको अवस्था रहेको उनले बताए ।

उनले भने, ‘कर्णालीको उद्गम स्थलबाट बर्दिया–कैलालीसम्म फैलिएको सिमसार क्षेत्र हेर्ने निकाय चाहियो । सँगै नदी थुनेर हाइड्रो ड्याम बनाइएको छ । बालुवा निकालिएको छ । नियमन हुनु पर्यो ।’

यस्तै जलवायु परिवर्तनका कारण तालतलैया सुक्ने, नदीहरुमा बहाव घट्दै जाँदा पनि आप्रवासी चराहरु समस्यामा परेका छन् । विशेष गरी मध्य पहाडी र चुरेबाट बग्ने खोलाहरु सुक्न थालेकाले समस्या भएको छ ।

यसैगरी सिमसार तथा नदी आसपासमा उद्योग बनाउने सफा पानी लैजाने र फोहोर पानी फाल्ने गरिएका कारण पनि जटिलता थपिएको छ । यसैगरी खेती प्रणाली सघन बन्दा पानीको प्रयोग बढेकोसहितका कारणले आप्रवासी चरासहित सबै चराहरु समस्यामा परेका छन् ।

समस्यामा पर्नेमा विशेष गरी खास आहार भएका चराहरु सबैभन्दा अघि रहेका छन् । सिमसार क्षेत्र खुम्चिँदै जाँदा माछासहितका पानीमा बस्ने प्रजातिहरु आहार रहेका चराहरु विशेष गरी समस्यामा परेको चराविद डा. बरालले बताए । दीगो उपयोगको बानी नहुँदा चरासहित सम्पूर्ण प्रजातिहरु समस्यामा पर्दै गएका छन् ।

योसँगै वन क्षेत्र र घाँसे मैदान मासिँदा पनि आप्रवासी चराहरु समस्यामा परेका छन् ।

चराका लागि महत्वपूर्ण क्षेत्रहरु


फाइल तस्बिर

विशेष गरी आप्रवासी चराका लागि नेपालका महत्वपूर्ण क्षेत्रमा पछिल्ला वर्षमा जगदिसपुर जलासय सबैभन्दा अग्रपंक्तिमा रहेको चराविदले बताए । कपिलवस्तुको जगदिसपुर सिमसार क्षेत्रमा अहिले विशेष गरी पानीमा आश्रित हाँस प्रजाति र गिद्ध प्रजातिका चराहरु आइसकेका छन् ।

यो तालमा एक समयमा एक ठाउँमा २० हजार भन्दा धेरै चरा देख्न सकिन्छ । यस्तै पोखरालको फेवाताल, बर्दियाको बढयै ताल, कैलालीकाे घोडाघोडी ताल, सुनसरीको वर्जु ताल, रुपन्देहीको गैडहवा तालसहितका संरक्षित क्षेत्र बाहिरका ताल तथा सिमसारहरु आप्रवासी चराका लागि विशेष महत्वपूर्ण बनेका छन् ।

यस्तै संरक्षित क्षेत्र भित्र रहेको कोशी टप्पु सिमसार क्षेत्र, चितवनको बिसहजारी ताल, शुक्लाफाँटासहितका क्षेत्र पनि चराका लागि विशेष महत्वका क्षेत्र हुन् । यी क्षेत्रहरु चराका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा महत्वपूर्ण रहेकाले संरक्षणको खाँचो रहेको चराविद डा. बरालले बताए ।

नेपाल भनेर सगरमाथा भन्दा पनि माथिबाट उडेर १३ हजार माइल भन्दा बढीको यात्रा तय गरेर आउने चराको संरक्षणमा सरोकारवाला सबैले एकीकृत प्रयास गर्न सकेमा चरा पर्यटनलाई विकास गरेर आय पनि बढाउन सकिने र पर्यावरण पनि राम्रो रहने भएकाले सबैको ध्यान जानु आवश्यक रहेको चराविद डा. बरालले बताए ।

(पुनश्‍च: शनिबार विश्‍व आप्रवासी चरा दिवस मनाइँदै छ।)

(यो सामग्रीका लागि चराका तस्बिर सौजन्य गर्ने सागर गिरी वन्यजुन्तु फोटोग्राफर हुन्, उनी चितवनमा रहेर पर्यटन क्षेत्रमा पनि संलग्न छन् । उनलाई फेसबुकट्वीटरमा भेट्न सकिन्छ । )

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?