
मानिश –
कसले पोत्यो मेरी आमाले दसैँमा कमेरोले घर पोते जसरी त्यो आकाश ? आकाश निकै सफा र उज्यालो थियो । जादुवालाले छुमन्तर गरे जसरी हराएको थियो गाउँ बाट हिलो र फोहोर । इन्डिया बाट टेप रर्कडर र झोला बोकेर पहाड तिर उक्लिदैँ गरेका फाटफुट देखिन थालेका थिए ।
बौडरको चेकिङ्ग पार गरेको र आफन्त भेट्ने उत्साहा उनीहरुको आँखामा देखिन्थ्यो । उनीहरुको हिँडाईमा गति हुन्थ्यो । गाउँ फर्कनेहरु पनि अनेक बहानाले फर्किरहेका थिए । कोही भइरहेको कमाई छोडेको पछुतो गर्थे, कोही यति बसेर केही कमाउन नसेकेको पछुतो गर्थे । यो गाउँमा हरेक गुनासोकाे साक्षी पहल र म थियौँ ।
आश एउटै हुन्थ्यो, गोठ्ठा मिठाईँ । गोट्टा मिठाईँ पाउने आसले इन्डिया बाट आउनेहरुका सबै घर पुग्थ्यौँ । कतिले दिन्थे, कसैले भर्खर सकियो भन्थे । पहल र म गोट्टा मिठाईँ निकै खान्थ्यौँ । पालो मिचेर पिङ खेल्थ्यौँ । पहल र म आकाश छुने गरी पिङ्ग मच्चाउथ्यौँ । ओ…. होइ… । खयरको रुखका टुप्पो छुने गरी पिङ्ग मच्चिएर खेल्थ्यौँ । पिङ्गबाट झर्दा पालो कुरेर बसेकाहरुले हामीलाई ठूल्ठूला आँखाले हेर्थे । यसरी दिनको एकचोटी पहल र पिङ्गमा झेली गर्थ्यौँ ।
पहल र म मुग्लानबाट आएका थिएनौँ । विद्यालय बन्द भए । दसैँको छुट्टीमा गोठाला नगई साँझ खाना खान पाइने कुरै थिएन । हामी निरिह थियौँ । गाई भैँसीलाई बेस्सरी पिटेर रिस फेर्थ्यौँ । जनावरले दसैँको रमझम नबुझेको पीडा हामीलाई जस्तो कसलाई थियो होला र ! उपाए थिएन मुरमुरिँदै गोठाला जान्थ्यौँ । त्यो थारुलाई देखेर झन रिस उठ्थ्यो । जस्ले दसैँको बेला पनि बिहानै गोरु राँगा खोलेर बन तिर चराउन लैजान्थ्यो । पहल र म भित्र भित्र मुरमुरिन भन्दा केही गर्न सक्दैन थियौँ । गोठाला जाँदा पनि गाउँमा इन्डियाबाट को आयो होला भनेर हिसाब गरेर बस्थ्यौँ । दसैँको रौनकले दिमाग गाउँतिरै घुम्थ्यो ।
दसैँमा खोलाले भोग खान्छ भन्ने हल्ला यो गाउँको डर लाग्दो हल्ला थियो । गाउँका ठूला मान्छे पनि विश्वास गर्थे, खोलाले भोग त खान्छ, खान्छ । प्रत्येक मरेका मान्छेको नाम लिँदै बुढाहरुले गाउँमा कुरा गरेका हामीले सुन्थ्यौँ । बुवाआमा बिहान साँझ खोलामा पौडी नखेल्नु भनेर सम्झाइरहन्थे । हामी त्यो कुरा सम्झिँदै खोलामा पौडी खेल्थ्यौँ ।
मेरो लागि दसैँ मासु खानका लागि आउथ्यो । वर्षभरी बिरलै पाक्ने मासु बिहान साँझ पाकेको देख्दा म र पहल गाउँ एक फन्को घुम्थ्यौँ । हामी आफ्नो घरको मासुको स्वाद बोकेर गाउँ घुम्थ्यौँ । दिनभरी गोठाला गएर काम देखाएको हामीलाई गाउँ घुम्दा मनमा कसैको डर हुन्थेन ।
“ल म गएँ, भोलीओरहीमा पौडी खेल्न जाने हो । खाना खाएर छिटो आएस !” यति भनेर पहल घर तिर हिँड्यो ।
घरमा पाकेको मासु संम्झीदै, पाइला छिटो छिटो चालेँ ।
धेरै लामो समय पछि मुख फेरीनेँ गरि मासु खाएँ । दसैँको मासु थियो पेटभरी खान पाएँ । मासुले पेट भरियो मन भरिएन । सोचेँ, दिएको भए त अझै खान सक्थेँ ।
“खाना टिपिस्, गाउँ हिँडिहाल्ने त होला ! दसैँको समय छ राति राति नडुल है ! राक्षस घुमेको हुन्छ । दिनभरी खोलामा बस्ने राक्षस रातीमा गाँउ डुल्छ ।” बुवाको कुराले मन अमिलो भयो ।
मेरो पैतालामा अंकुस लागे । दसैँमा राक्षसले भोग खान्छ भन्ने कुरा मेरो बुवाले पहिलो चोटी भनेको होइनन् । यो गाउँको हरेक मान्छेको मन र दिमागमा बसेको कुरो थियो । दिनभरी खोलामा पौडी खेलेकोमा राती सुत्दा डर लाग्यो ।
बिहान उठ्दा घाम निकैमाथि आइसकेको थियो । हिजोको मासु कतैबचेको छ कि भनेर सीधै भान्सा छिरेँ । “हात मुख धुनु छैन, भान्सामा मासु खोज्न हिँड !” आमा कराइन् ।
‘मासु थिएन र ?’ मैले सोधेँ।
“दश बजेसम्म सुतेपछि हिजोको मासु मान्छेले राख्छन् ?“ मलाई खिस्याउँदै आमाले भनिन् । ”अघि रत्ने दाइ आथ्यो त्यसलाई खान दिएँ ।”
“बिहानै मासु खाने मान्छे कसरी मान्छे भए त ?” मेरो रिस मासु खान नपाएकोमा थियो । आमाले सुनेपनि नसुने झै गरिन । मुख धोएर सिधै पहलको घर तिर लागेँ ।
पहल घरमा थिएन । मैले पहलका बालाई आँगनमा देखेपछि बोलाउन पनि सकेन। उसले मलाई देखेको भए पनी पुगी हाल्थ्यो । सोचेँ, एकछिन यतै घुम्छु देखिएला नि । उसको बुवाको अनुहार सानो देखिएको थियो । निधार बगरमा भर्खरै भलले बनाएको किनार जस्तो थियो । अनुहारमा पलाउन नसकेको घाँस जस्ता दारी थिए । उनको अनुहार एकदम मलिन थियो । मैले उनको अनुहार हेरेँ ।
“के भयो अंकल?” भनेर सोध्न मन थियो । हाम्रो तिर ठूलो मान्छे रिसाउँदा सानोले सोध्ने चलन छैन । सोधे उल्टो रिस आफूमाथि आइलाग्ने डर । अनि कहाँ सोध्नु ! केही छिन बाटोमा घुमे पनि पहल देखिएन । म घर तिर लागेँ । बाटोमा सबैको अनुहार एकदम चम्किलो थियो । सबैका कपडा सुकिला थिए । मलाई नयाँ कपडाको गन्ध खुब मन पर्छ । पहललाई भेटेन सीधा घर आएँ । भात पाकेको थियो । भात हालेँ, खाएँ । आमा कता तिर गइसकिछन् । मेरो अत्तोपत्तो नदेखेपछि गोठाला बुवा नै गएछन् ।
गाउँबाट हिलो जसरी केही समयको लागि सबैको अनुहारबाट दुःख हराएको थियो । केही दिन पहल मेरो तिर आएन । म पनि उसको तिर गएन । सोचेँ, कुनै कामले आएन होला । कतै मामाघर गयो कि ? उसको ठुल्दाई आयो कि बम्बै बाट ? मिठाई दिनु पर्छ भनेर पो आएन कि ? होइन केही त छ, म पहलको घर तिर लागेँ ।
आँगनमा मान्छेहरु मौनतासँग कुरा गरिरहेका थिए । नभन्दै उसको ठूल्दाइ बम्बैबाट आएको रहेछ । मनमनै सोचेँ, दाइ आएको रहेछ अनि मेरो तिर किन आउँथ्यो त पहल ! पहललाई देखेर रिस उठ्यो । पहलको दाइले मलाइ देख्या, केही बोलेन । उसको अनुहारमा दसैँको कुनै झल्को थिएन । केवल निरासा र उदास भएर बसेको थियो । बम्बै बाट आएको बेला नै उदास मैले पहलको दाइलाई देखेँ ।
पहलको दाइलाई देखेपछि आँगनसम्म जाने आँट आयो । आँगनमा उभिएँ । दसैँ आँगनलाई पनि लागेको थियो । एकदम गोबर माटोले पोतेको आलो गन्ध आइरहेको थियो ।
दाइ पहल कहाँ छ ? मेरो प्रश्नले उसको अनुहार कालो भयो । मेरो प्रश्न नसुने झैँ गर्यो । उसले मलाई वास्ता गरेन । दैलो नजिक पुगेँ । पहलको बुवा र आमा सेतो कपडा लगाएर विरालो जसरी टुरुक्क बसेका थिए । अनुहार एकदम दुव्लो । बाढी पछि सुकेको खोला जस्तो एकदम मौन थियो पहलको घर । सोचेँ पहल भित्र होला, आउछ । मैले दाइलाइ सोधेको प्रश्न पहलको बाउलाइ सोधेन । एकछिन आँगनमा उभिएँ ।
“ अंकल, पहलका किताब कता राखौँ ?” भित्र बाट कुनै अपरिचित आइमाइको आवाज सुनियो । किताबको कुरो सुनेपछि पहलका बुवाले मलाई हेरे । सोचेँ, के अब पहल स्कुल जान छोड्छ र ? मैले के भइरहेको छ केही बुझेन ।
“यो बाबु पहलको साथी हो, उसलाई देउ, कोही पढ्ला ।” पहलको बाउले भात खान नपाएको मान्छेको जस्तो आवाजमा भने । दसैँको बेला पनि यो घरमा कोही खुशीले कुरा गरिरहेका थिएनन् । कसैले केही काम गराउँदा पनी जागंर नभए जसरी भन्थ्यो, गर्नेले पनि जागंर नभए जसरी काम गरिरहेका थिए।
“अंकल पहल काँ छ र ?” मेरो प्रश्नले घरभरी मौनता छायो । किताब हातमा समातेकी ति अपरिचित महिलाले आफूतिर बोलाइन् ।
‘ह्याँ आ’त भाउ ?’ उनको आवाजले यि पहाड ति बाट भर्खर आएकी हुन भन्ने मैले थाहा पाएँ ।
“पहल त मर्यो त बा, पहलका बाआमा तैको किरिया गर्न बसेका छन्, देखेर तुँइले त था पाउन पर्न्या हो त ! ला यि पहलका किताब, कि त राखेइ, कि कैलाइ दिएइ ।” ति अपरिचित महिलाले किताब मेरो हातमा राखेर भित्र पसिन ।
‘भोलि बिहान मेरो घरमा आइस है’ भनेर छुटेको मान्छे मर्यो भन्दा विश्वास लागेन । पहल कसरी मर्यो दसैँको उल्लासले भरिएको त्यो निलो आकाश तिर हेरेँ । आँखाका कुना कुना बिजाउन थाले । रुँ रुँ लाग्यो, उसको घरका मान्छेको अघि रुन आएन । म केही नबोली त्यहाँबाट निक्लेँ । गाउँको हल्लाले सत्यता पायो । यो पालीको दसैँको भोग पहल भयो । यो भोग खाने दसैँ कहिलै नआइदिए हुन्थ्यो लाग्यो ।
दसैँको दिन, बुवा आमाले दीका लागाइ दिए । म मा आएको परिर्वतन मेरो उमेरको दोष हो भन्ने लागेछ मेरो बुवा आमालाई । पहलको मृत्युमा म बाहेक मेरो घरमा दुःखी कोही थिएन । दुःख बाँड्ने कोही नहुँदा दुःखको पहाडले निकै थिच्दो रहेछ । पहलको घरका मान्छेले त्यो दुःखको पहाड सबै मिलेर बोकेका थिए। पहल मेरो मात्र साथी थियो । मैले साथी मरेको दुःख देखाउन सकिन । कसैलाई भन्न सकिन । मेरो कुनै नातेदार वा आफन्त थिएन जसले मेरो बुवा आमालाई दुःखी बनाओस् ।
दसैँ सकियो । गाउँ फर्केका लाहुरेको जेब र उत्साह पनि सकियो । घरमा पल्टिरहेको थिएँ पहलको याद आयो । उससँग घुमेको डुलेको सबै याद आयो । उसका किताब मैले ल्याएको छु भन्ने कुराको पनि याद आयो । खाट मुनतिर राखेका पहलका किताब झिकेँ ।
विषय : अनिवार्य नेपाली – कक्षा ७
नाम : पहल बुढा
ठेगाना : शिवपुर १, बर्दिया
रुची : नयाँ ठाउँ घुम्ने, नयाँ साथी बनाउने ।
विद्यालय लाग्यो, पहल मरेको बिदा पनि भयो । म बाहेक सबै विद्यालय बिदा भएकोमा खुशी भए । पहलको किताब कक्षा शिक्षकलाई बुझाएर घर तिर लागेँ ।
अचेल सोच्छु, प्रत्येक वर्ष नमिठो हुँदै गएको मेरो दसैँ पहलले मलाई निलो आकाशबाट हेर्छ होला । साथी, मैले प्रत्येक दसैँ र तिम्रो मृत्युलाई उत्सवको रुपमा मनाउदै आएको छु । जिन्दगीको चक्र सम्झिँदै आएको छु ।