
काठमाडौँ – राजनीति आफैमा कठिन र संघर्षशील बाटो हो । यो बाटोमा हिड्ने सबै सफल हुँदैनन् । सीमित व्यक्तिले मात्र राजनीतिमा सफलता पाउँछन् । अझ त्यसमाथि पनि महिलाका लागि राजनीतिमा लाग्नु र सफलता पाउनु झन् मुस्किलको कर्म हो ।
यस्तै मुस्किलको बाटो हिँडेर पनि केही महिलाले नेपालको राजनीतिमा उपल्लो स्थान हाँसिल गरेका छन् । तिनै ‘केही’ मध्येकी एक हुन् उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे । वि.स. २०२१ सालमा तेह्रमुम तम्फुलामा जन्मेकी तुम्बाहम्फेको शिक्षादीक्षा झापाको गौराहदबाट सुरु भयो ।
पहाड र तराई दुवैतिर बसोबास रहेको तुम्बाहम्फे परिवारले अन्ततः पहाड छोड्यो । शिक्षाको पहुँच निक्कै कम रहेको अझ त्यसमाथि पनि छोरीलाई पढाउन हुँदैन भन्ने सामाजिक मनोविज्ञान विपरित उनको परिवार उभियो, उनले दाजुभाइ सरह नै पढ्ने अवसर पाइन् ।
११ वर्षको उमेरमा साडी चोली फुकाली जाम लगाएर पहिलोपटक विद्यालय टेकेकी तुम्बाहम्फेले त्यसपछि कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । के र कस्तो पढ्नुपर्छ भन्ने थाहा नभए पनि ‘पढ्नु पर्छ’ भन्ने संकल्पमा आफूमा सानैदेखि रहेको तुम्बाहम्फे सुनाउँछिन्, ‘मेरो सानैदेखिको लक्ष्य नेपालमा पढाइ हुने जति पढ्नुपर्छ भन्ने थियो । मलाई अरु केही थाहा लिएन ।’
अन्तमा, औपचारिक शिक्षा बि एल, बि एड हुँदै राजनीतिशास्त्रमा पिएचडीको उपाधि हाँसिल गरिन् उनले । समाजमा छोरीलाई पढाउनु हुँदैन भन्ने मान्यता स्थापित भए पनि आफ्नो परिवारमा भने त्यस्तै तीतो अनुभुति गर्नु नपरेको उनको अनुभव छ । तुम्बाहम्फे पुराना दिन सम्झदै भन्छिन्, ‘हाम्रो परिवारमा छोरा र छोरीमा कहिल्यै विभेद गरिएन । तर जब हामी घरबाट बाहिर निस्कन्थ्यौं तब मात्रै छोरा र छोरीबीचको विभेदको अनुभव गरियो ।’
जनजाति समुदायमा अरु समुदायमा छोरा र छोरीमा विभेद नहुने उनको बुझाई छ ।
दश कक्षा पास गरेपछि बुबाले अब पढ्नु पर्दैन भने पनि काठमाडौं बसेका माइला दाइ विजय सुब्बाले उनलाई उच्च शिक्षाका लागि काठमाडौँ ल्याए । ‘जेठो दाइले स्टाफ नर्स पढ्नुपर्छ भने पनि आफूलाई रुचि नभएकाले त्यसतर्फ लागिन । माइदा दाइ काठमाडौंमै जागिरे हुनुहुन्थ्यो उहाँले ल क्याम्पसमा भर्ना गरिदिनुभएको रहेछ । अनि म त्यतैतिर लागेँ’, उनी भन्छिन् ।
छात्राले खेल्न पाउनुपर्छ भन्दा नेता बनिएछ
सानैदेखि पढाइमा अब्बल रहेकी तुम्बाहम्फे आफू थाहा नै नपाइ नेता बनेको बताउँछिन् । पढाइ राम्रो र खेलकुदमा समेत सक्रिय हुँदा सायद त्यसले शिक्षक शिक्षिका र साथीहरुसँग घुलमिल हुन उनलाई मद्दत गर्यो । स्कुलमा हुने जुनसुकै क्रियाकलापमा उनको सक्रिय सहभागीता हुन्थ्यो र आफ्नो पक्षको अगुवाई गर्थिन् उनी ।
‘विद्यालयमा हुने सबै खालका क्रियाकलापमा म भाग लिन्थे । त्यसले मलाई सबैसँग मिल्न र सामूहिक हुन सिकायो ।’ स्कुलमा खेलकुद सामाग्रीमा छात्र र छात्रालाई फरक व्यवाहार गरिएको सम्झिदै उनी भन्छिन्, ‘हामी केटीहरुलाई स्कुलमा खेल्ने सामग्री नै दिदैनथे । त्यसका विरुद्धमा हामीले आवाज उठायौँ । त्यसपछि हामीले पनि फुटबल, भलिबल खेल्न पायौँ ।’
कसैले कुनै काम गर्नुपर्छ भन्यो भने त्यसमा दृढता पूर्वक अघि सर्ने र सफल बनाएर छाड्ने आफ्नो आदत रहेको उनको भनाई छ । साथी साथी मिलेर पैसा जम्मा गर्ने अनि त्यसैबाट किताब किनेर पालैपालो पढ्ने बानीले पढाइप्रतिको रुचि अझ बढाएको उनको बुझाइ छ ।
स्कुलमै अखिलसँग भेट
२०३५/३६ सालमा संगठन विस्तार गर्दै हिँडेका थिए विद्यार्थी संगठनहरु । त्यसबेला दलहरु प्रतिबन्धित थिए । तत्कालीन मालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको विद्यालय कार्यसमितिको सदस्यमा उनी चयन भइन् ।
आफू अखिलको सदस्य चयन भएको स्मरण गर्दै तुम्बाहम्फे भन्छिन्, ‘सबै विद्यार्थीलाई जम्मा पारेर पलानोलाई सभापाति बनाउने, फलानोलाई सदस्य बनाउने भन्ने अग्रिम सहमतिका साथ । म पनि त्यसैगरी स्ववियुको सदस्य भएँ ।’ तर, पार्टीको सदस्य लिने बेला उनलाई अखिल भित्रैबाट विरोध गरियो । मालेको तत्कालीन वर्ग विश्लेषणअनुसार आफ्नो परिवार छोटे जमिनदारको वर्गमा पर्ने भएकाले पार्टी सदस्यता दिन हुँदैन भनेर विरोध भएको उनी स्मरण गर्छिन् ।
‘तर अन्ततः मेरो सक्षमताका कारण छोटे जमिनदारको वर्गमा परे पनि पार्टी सदस्यता लिनबाट मलाई बञ्चित गरिएन’ उनी भन्छिन् । अखिलमा सक्रिय हुँदै आएकी तुम्बाहम्फेले पछि पार्टीको सदस्यता पाइन् । राजनीतिक यात्राले थप गति लियो ।
२०४८ सालमा तत्कालीन माले र माक्सवादी एकीकरण लगत्तै उनीहरुका विद्यार्थी संगठन पनि एक भए । एकीकृत अखिलमा महिला विभागको नेतृत्व गर्ने मौका उनले पाइन् । अखिलको एकता महाधिवेशनबाट उनी उपाध्यक्षमा निर्वाचित भइन् ।
त्यसबेलासम्म विद्यार्थी संगठनमा माथिल्लो तहमा रहेर नेतृत्व गर्ने उनी नै पहिलो महिला थिइन् । र त्यसैका आधारमा उनी पार्टीको केन्द्रीय सदस्य हुँदै उपसभापति जस्तो गरिमामय पदसम्म पुग्न सकिन ।
महिला भएर राजनीतिमा स्थापित हुन परिवारको साथ
महिलालाई राजनीतिमा स्थापित हुन कठिन थियो । तर पारिवारिक प्रोत्साहन र सहयोगका कारण आफूलाई त्यति कठीन नभएको उनको बुझाइ छ । विवाहपछि पनि परिवारबाट उत्तिकै साथ र सहयोग पाइन उनले ।
तर संगठनभित्रै महिला भएका कारण भिन्नै खालको व्यवहार भोगेको अनुभव छ उनको । ‘तर, त्यसको विरुद्धमा म जहिले पनि लागि रहेँ ।’ उनले भनिन् ।
उनले भनिन्, ‘उपसभामुखको अग्लो कुर्सीबाट हेर्दा मानिसको चेतानाको स्तरमा व्यापक परिवर्तन आएको देखिन्छ, तर महिलामाथि हुने व्यवहारमा भने खासै परिवर्तन देखिन्न ।’
तर महिला भएकै कारणले पदमा बस्दा पनि भूमिका नपाउने भन्ने आम बुझाइप्रति भने उनको फरक मत छ । महिलाले आफ्नो स्थान आफैले बनाउनुपर्ने उनी बताउँछिन् ।
‘म अहिले उपसभामुख छु । संविधानले उपसभामुखको काम सभामुख नभएको बेला सदनको अध्यक्षता गर्ने भनेको छ । तर, आफ्नो भूमिकालाई त्यतिमा सीमित गर्नुहुन्न । आफ्नो दायरालाई आफैंले फराकिलो बनाउनुपर्छ’, शिवमाय भन्छिन् ।