
मोरङ-पछिल्लो समयमा विराटनगरमा उपचारका लागि फिजियोथेरापिस्टकहाँ पुग्ने विरामीको संख्या बढ्दै गएको छ। खासगरी नशा च्यापिएको, ढाड, कम्मर, हड्डी लगायतका समस्याका समाधानका लागि बिरामीले फिजियोथेरापी रोज्ने गरेका छन्।
५ वर्ष अघि खेलकुदमा मात्र सीमित फिजियोथेरापीबाट अहिले सबै किसिमका मानिस लाभान्वित हुन थालेका छन्। फिजियोलाई मसाज र एक्सरसाइजको मिश्रण पनि भन्ने गरिन्छ। फिजियोथेरापिस्ट डा.अनुराग अधिकारी भन्छन्,’ विगत चार वर्षदेखि विराटनगरमा फिजियोथेरापी सेवा लिने बढेका छन्। यसबाट लाभान्वित हुने पनि बढ्दै छन्।
पहिले विराटनगर र आसपासका स्थानबाट विरामी ढाड, नशा, हड्डी लगायतका लागि अस्पताल, क्लिनिक धाउनुपर्ने अवस्था अत्याधिक थियो । चार वर्षअघि अस्पताल नजिक षष्ठिका फिट फिजियो रिह्याब सेन्टरका सञ्चालक एवं फिजियोथेरापिष्ट डा.अधिकारी भन्छन्,’ हड्डी खिइनुको उपचार औषधि सेवनबाट हुन्छ भन्ने लाग्दैन। नशा च्यापिएको विरामीको उपचार महंगो खर्च गरि शल्यक्रिया गर्नुपर्छ भन्ने पनि छैन। यसका लागि निश्चिम मापदण्डसहित मसाज र एक्सरसाइजको आवश्यक्ता छ। जुन फिजियोले पुरा गर्न सक्छन्।’
खेलकुद क्लबहरुले आफ्नो खेलाडीलाई शतप्रतिशत नतिजाका लागि उपचार गराउन फिजियोको व्यवस्था गर्छन । बढी तनाव हुने, भागदौडमा व्यस्त हुनेहरुलाई आरामका लागि फिजियो गतिलो माध्यम पनि भएको छ। अहिले अधिकांश अस्पतालले फिजियोथेरापिष्टलाई स्थान दिदै गएको छ।
विराटनगरमा फिजियोकै लागि स्पार्क नेचुरोपेथी सञ्चालनमा छ। त्यसैगरी कोशी अञ्चल अस्पतालमा एकजना फिजियोथेरापिस्टले विरामीलाई सेवा दिइरहेका छन्। नीजि अस्पतालहरुले पनि फिजियोलाई उत्तिकै महत्वपूर्णका साथ स्थान दिँदै आएका छन्।
फिजियोथेरापीका लागि विरामीमा पनि विश्वास बढ्दै गएको छ। करिब दुइवर्ष अघि सडक दुर्घटनामा परेका नेविसंघका सह-महामन्त्री कृष्ण कार्की गएको डेढ वर्षदेखि फिजियोथेपारीमा उपचारका लागि पुग्ने गरेकाछन्। उनी भन्छन्,’ दुर्घटनामा जोगिए। तर हातमा समस्या देखियो। धेरै चिकित्सकको सल्लाह लिए। तर उपलब्धिमुलक भएन।’
उपचारका लागि कार्की विराटनगरकै नीजि अस्पतालमा फिजियोका लागि पुगे। समस्या झन् बल्झियो। त्यसपछि उनी, फिजियोथेरापिष्ट डा.अधिकारीका पुगे। जहाँ उनको उपचार भइरहेको छ। उनी भन्छन्,‘धेरै त भन्न सक्दिन तर गएको डेढ बर्ष डा. अधिकारीको निगरानीमा उपचार गराइराखेको छु। केही राम्रो हुदै गइरहेको अनुभव पाएको छु। त्यसैले पनि फिजियोको काममा विश्वास लाग्न थालेको छ।’
फिजियोका लागि युवा, बृद्ध सबै उमेर समूहका विरामी उपचारका लागि आउने गरेको कोशी अञ्चल अस्पतालका फिजियोथेरापिस्ट डा. शिवम् कर्णले बताए। गएको दुइ वर्षदेखि अस्पतालमा कार्यरत डा. कर्णका अनुसार, पछिल्लो समय दैनिक ४ देखि ५ जना नयाँ विरामी थपिदै गएकाछन्। त्यसैगरी अस्पतालमा नियमित रुपमा सातामा १५ जनासम्म आउने गरेकाछन्।’
डा. कर्णको अनुभवमा विरामीलाई पूर्णतया ठिक पार्ने कोशिस रहन्छ। तर समस्या विरामीसँगै वरिपरिको वातावरण पनि रहेको छ। उनी थप्छन्, ‘बिरामीलाई एक निश्चित कोर्षमा हामी उपचार दिन्छौ, त्यसपछि देखिएकोमा खराब सडकको अवस्थाका कारण निको भएर गएकामा समस्या बल्झिदै गएको छ।
विराटनगर महानगरपालिकामा विकासका नाममा पछिल्लो एकदशकदेखि भौतिक संरचना तोडफोड, सडक नाला मर्मत, नया संरचना लगायतका सन्दर्भले पनि ढाड तथा नशाको विरामी थपिरहेको छ।
रोग निको भएकाहरु बल्झिदै आउनेहरुमा युवा बढि रहेको फिजियोथेरापिष्ट अधिकारीको भनाइ छ। उनी भन्छन्,’ यहाँको सडक समथल नहुनु, जीर्ण रहनु, सडकमा खाल्डाखुल्डी नपुरिनु लगायतले समस्या देखिएको छ। जसका कारण मोटरसाईकलमा सवार, सिटी सफारी, रिक्सामा सवारहरुलाई समस्याले गाज्ने गरेको छ।’
ढाडको समस्याको विरामी मोटरसाइकलमा सवार हुन्छन्, जर्किउमा मोटरसाइकल पुग्छ र समस्या पुन दोहरिने गरेको उनको भनाई छ। यसका लागि महानगरपालिकाले सकभर चाडै सडकमा रहेका खाल्डाखुल्डी, जर्किन अवस्थालाई मर्मत गर्न सक्नुपर्ने देखिन्छ। तर त्यो हुन सकिरहेको छैन।
त्यसैगरी गएको दुइमहिनादेखि ढाडको समस्या लिएर निरन्तर फिजियो धाइरहेका उर्लाबारी कीर्तिपुरका २८ वर्षिय पर्वतराज झा पनि फिजियोथेरापीबाट आफूलाई राम्रो उपचार भइरहेको बताउँछन्।
प्रवीधिक विषयका इन्जिनियर समेत रहेका झा अधिकांश समय मोटरसाइकलमा सवार हुन्छन्। उनीपनि आफ्नो समस्यामा केहीहदसम्म सडकलाई दोष दिन्छन्।
‘बाटो राम्रो कतै छैन, चौतर्फि खाल्डाखुल्डी छ। बाइकमा सवार हुदां दबाव ढाडमा हुने गर्दछ’,उनी गुनासो गर्छन।
यहाँ सडक बनाउने नाममा गुणस्तरहीन काम त भएकैछन संगसंगै मानव शरिरसंग समेत प्रत्यक्ष रुपमा यसको असर पर्दै गएको छ। जता हिडेपनि धुलोको समस्या छ जसले श्वासप्रश्वासमा समस्या ल्याएको छ भने, नशा च्यापिने, ढाडको समस्या दिनानुदिन विकराल बन्दै गएको छ, डा. अधिकारी भन्छन्।
विराटनगरमा फिजियो उपचारका पहाडी क्षेत्रसंगै नजिकका जिल्लाबाट समेत विरामी पुग्ने गरेका छन्। कोशी अञ्चल अस्पतालले विराटनगरमा फिजियोथेरापी सेवा करिब ३ दशक अघिबाट सञ्चालनमा ल्याएको हो।
त्यसपछि गएको पाँच वर्षदेखि भने यसले विराटनगरमा महत्व पाउदै गएको छ। यसक्रममा नीजि अस्पताल विराट नर्सिङ्ग होम, नोबेल मेडिकल कलेज एण्ड टिचिंग हस्पिटल, म्याक्स इन्टरनेशनल हस्पिटल, गोल्डेन अस्पतालले फिजियोको सेवा दिदंै आएका छन्। त्यसैगरि डा. अधिकारीसंगै अन्य तीन जनाले विराटनगरमा फिजियोथेरापी सञ्चालन गर्दै आएका छन्।