
तिर्थाटन अर्थात धार्मिक आस्था र विश्वासले यात्रा गर्नेहरुलाई मन फुकाएर स्वागत गर्ने नेपाली शहरमा अग्रपंक्रिमा पर्छ काठमाडौँ । मन्दिरहरुको शहरको उपमा पाएको यहाँ विविध धर्मामा विश्वास राख्नेका लागि भिन्न भिन्न र संयुक्त केन्द्रहरु छन् ।
यस्तै आस्थाको केन्द्रमा पर्छ ऐतिहासिक बुढानीलकण्ठ मन्दिर । काठमाडौँ उपत्यकाको उत्तरतिर शिवपुरी डाँडाको काखैमा रहेको बुढानिलकण्ड मन्दिरमा विशेष गरी भगवान शिव र विष्णुका भक्तहरु पूजाका लागि पुग्छन् । एकादशीहरुमा विशेष घुईँचोनै लाग्छ । यहाँ सुतेको अवस्थाका भगान विष्णुको विशाल मूर्ति छ ।
यस मन्दिरमा हरेक दिन बिहान साढे सात बजे नित्य पूजा हुन्छ । हरेक दिन मूर्तिलाई स्नान गराएर गरगहना लगाई पूजा गर्ने गरिन्छ । पूजामा १६ वर्ष मसनिका बटुकहरु सामेल हुन्छन् ।
यो मन्दिर राजसंस्था कायम हुँदा अर्को विशेष कारणले पनि चर्चित थियो । यहाँ राजाहरुले दर्शन गर्न नहुने विश्वास थियो र कुनै पनि राजाले बुढानीलकण्ठको दर्शन गरेका छैनन् ।
यसको पौराणिक कथा नै रहेको छ । द्वापर युगमा सूर्यकेतु नामका राजाको शिवपुरी नगरीमा राज थियो । उनी भगवान शिव र विष्णुको दर्शन गर्न जाने गर्थे ।
उनले एकदिन भगवानसँग प्रथना गरेर, ‘प्रभु म अब यहाँ आउन सक्ने अवस्थामा छैन, अब आफ्नै नगरीमा प्राण त्याग गर्नेछु’ भन्दै भगवानको सेवागरेको र भगवान शिव र विष्णुले प्रसन्न भएर उनलाई ‘तिमि जाउ म भोलि तिम्रै नगरीमा दर्शन दिनेछु’ भनेका थिए । ती राजाले बुढानीलकण्ठमा खनेर हेर्दा भगवानको विशाल मूर्ति देखिएको विश्वास गरिन्छ ।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले एक बिहान बुढानीलकण्ठको नित्य पूजा प्रक्रिया तस्बिरमा समेटेकी छन् ।