
कुमारी हलको टिकट काउन्टर नजिकै भित्तामा ‘मालिका’ को पोस्टर। त्यही तल दुई युवती अर्का दुईसँग गफिरहेका थिए। पोस्टरको तल बसेका उनीहरु मालिका चलचित्रका पात्र जया (कमला वली) र बेहुलीको रुपमा देखिएकी शर्मिला रावल थिए।
उनीसँगै भएका दुई महिला चलचित्रका कार्यकारी निर्माता नरबहादुर कार्कीकी आमा र बहिनी थिए। एक महिला टिकट काउन्टरबाट हातमा टिकट लिएर निस्किन्, उनले एउटा मात्रै होइन टिकटकै मालै जस्तो लिएकी थिइन् । यति धेरै टिकट काट्ने नरबहादुरकी श्रीमती सीता रहिछन्।
कमला र शर्मिला अभिनित चलचित्र मालिका प्रर्दशनको पहिलो दिन थियो (शुक्रबार) । कुमारी हलमा दिउँसो सवा १२ बजेको शो हेर्न उनीहरु आएका रहेछन्। ‘पहिला हेरेको फेरि हेर्न मन लाग्यो’ कमलाले भनिन्।
मालिका चलचित्र प्रदर्शनभन्दा केही दिन अगाडिमात्र उनीहरु काठमाडौँ आइपुगेका हुन्। ‘९– १० दिन भयो।’ कमला १५ वर्षकी हुन्, शर्मिला १६। अहिले सँगै बसेका यी दौँतरी चलचित्रको सुटिङ्ग स्पटमामात्र भेटिएका हुन्। घर एउटै जिल्ला भए पनि सँगै छैन।
चलचित्रको अफर आउँदा दुवै अन्यौलमा परेका थिए, पहिला अफर आउँदा दुवैको उस्तै जवाफ थियो ‘नाई’ ।
शर्मिला भन्न थालिन्, ‘सरसँग पहिला केही चिनजान थिएन, कम्प्युटर इन्सिच्युटमा कम्प्युटर सिक्दै गर्दा नरबहादुर सरले सोध्नुभयो–तिमी फिल्म खेल्ने हो?, मैले नाई भनेँ, फिल्म भनेको के हो पनि थाहा छैन। राम्रो हुन्छ, हामी हुन्छौ भन्नुभयो। मैले खै घरमा सोध्नुपर्छ भनेँ। गाली पाइयो बुवाको हातबाट। पढ्न गाको हो की फिलिम खेल्न? सबैले सम्झाएपछि ठीकै छ भन्ने भयो र म आए। सरले बोलाउँदा म कम्प्युटरमा टाइपिङ्ग गर्दै थिएँ। त्यतिबेला म ११ को एक्जाम दिएपछि कम्प्युटर सिक्न गएको थिएँ। मैले एक–दुई चलचित्र हेरेको थिएँ, सुटिङ्ग त हामीलाई वास्ता नै भएन।’
कमलाले भन्न थालिन्, ‘म अहिले ११ पढिराको छु, मालिकामा काम गर्ने बेलामा म एसईई दिएर बसेको थिएँ। म घर नजिकैको सडकमा साथीहरुसँग कुरा गरेर बसिरहेको थिएँ, नरबहादुर सर नलगाढ नगरपालिकामा क्यारेक्टर खोज्दा नभेटेर फर्कन लाग्नु भएको रहेछ। गाडी पार्किङ्ग गरेको ठाउँबाट गाडी निकालेर आउँदा मलाई देख्नुभयो र गाडी रोकेर मलाई सोध्नुभयो–नानी तिमी फिल्म खेल्छौँ?’ मैले नाई म खेल्दिन, मलाई केही पनि थाहा छैन भने।
चिनेको मान्छे भए पो खेल्ने कुरा हुन्थ्यो। नचिनेको, नदेखेको नरबहादुर सरले भनेसी के खेल्नु भन्ने लाग्यो। चैत ४ गते भेटेको नरबहादुर सरलाई, ८ गतेदेखि मेरो एसईई परीक्षा थियो। म त्यता बिजी भए। डेढ महिनापछि मात्र भेट भएको हो। नरबहादुर सरले ममी बाबालाई पनि सोध्नुभयो, ममी बाबालाई पनि के थाहा? मलाई त थाहा थिएन। रेखा दिदीले पनि फोनमा कुरा गर्नुभयो, पत्रकार, मेयर, टिचर सबैले भनेपछि ठीकै हुन्छ भन्ने लाग्यो र त्यहाँदेखि खेल्न आइयो।’
सुरुमा कमलालाई आएको भावना नै यहि थियो, ‘चलचित्रमा खेल्न लैजान्छु भनेर बेच्दिए भने।’
कमलाले रेखा थापाको नाम चाहिँ सुनेको थिइन् रे तर चलचित्रमा काम गर्छिन् भन्ने थाहा थिएन। शर्मिलाले भने नाम पनि सुनेकी थिइन् र चलचित्र पनि हेरेकी थिइन्। शर्मिलाले भनिन् ‘काली पनि हेरेकी थिएँ, रामप्यारी पनि।’
फिल्म खेल्ने पक्का भएपछि उत्साह–उमंग भन्दा पनि के गर्नु पर्ने हो, कसो गर्न पर्ने हो भन्ने मात्र भयो।
के गर्नुपर्ने रहेछ ? शर्मिलाले झट्पट् उत्तर दिइन् ‘बेहुली बन्नु पर्ने रहेछ।’ उनले चलचित्रको सुटिङ्ग सक्किएपछि साथीहरुले भनेका थिए, ‘बेहुली हुँदा राम्रो देखिएको थिइस् भने सबैले।’
कमलाको अनुभव फरक छ, ‘घरबाट जा भनेपछि, एकपटक राम्रो नराम्रो जे भए पनि गएर आम न त भनेर आए काठमाडौँ’ त्यतिबेला उनले रेखा थापालाई भेटेकी थिइन्, अलि अर्कै लाग्यो उनलाई रेखा । सायद उनले रेखाको आकृती दिमागमा अर्कै बनाएकी थिइन्, ‘ला… रेखा भनेर कस्लाई भेटाए जस्तो लाग्यो।’ उनले भनिन्, ‘त्यसपछि रेखा दीले केही पनि हुँदैन नानी नडराउँ, म रेखा दिदी हो, तिमी यहाँ केही कुरा सिक्न आएकी हौँ भन्नुभयो।’
धेरै बोल्दैनन् उनीहरु, जे सोध्यो त्यसको सिधा जवाफ, अनि सक्कियो।
उनलाई सारै नै डर लागेको थियो के गर्ने हो कसो गर्ने हो, ‘मैले त यत्तिका मानिसको भिडमा क्यामराको अगाडि कहिले पनि यस्तो गरेको थिइन। त्यसपछि यस्तै हो भन्ने लाग्यो।’
चलचित्रमा उनले कराते सिकेको, दौडिएर गाडी चढेको, दुःख दिने मानिसलाई चड्कन हान्ने लगायतको अभिनय गरेकी छन्। सुटिङ्ग सकिएपछि उनले गएर ममीलाई सुनाइन् र साथीलाई पनि। ‘यो त बाठी भइछ भने।’ उनले भने यो पूरै प्रक्रियालाई रमाइलो सिकाइको रुपमा लिइन्। गुडेको गाडी चढ्ने सीन उनले दुईपल्ट मात्र अभ्यास गरेकी थिइन् रे। घोडा चढ्दाको अनुभव भने अझै बेग्लै भयो कमलालाई।
‘पहिलो पटक चढेको, एक पल्ट मात्रै प्राक्टिस गरेको, पछि त एक्लै चढेर एक्लै कुदाएको। लडिएला भन्ने डर थियो तर लडिने रहेनछ।’ अनुहारको रंग फेरियो, उनी त्यहि समयमा पुगिन्, ‘घोडाले भनेको मान्दो रहेछ।’
यो भन्दा पहिला काठमाडौँ आएकै थिइनन् कमला, यहाँ उनलाई सारै राम्रो लाग्यो।
शर्मिला पहिला पनि आएकी थिइन्। ‘गाउँमा गाडी पुगेको छैन, बाटो यस्ता छैनन्। राम्रा घर अनि बगैँचा पनि छैनन्। सिनेमा हल छैनन्।’
काठमाडौँ आएपछि अन्टि (सीता कार्की) सँग घुम्न गए। कमलालाई बसन्तपुरको नाममात्र याद छ।
मालिका पछि आफैमा परिवर्तन आएको कमला बताउँछिन्। पछि भने उनलाई टिचर बन्ने मन छ। ‘टिचर भएर पनि के के गर्न सकिन्छ।’
शर्मिलाको आयोगको तयारी गर्ने, सरकारी जागिर खाने योजना छ।
चलचित्र खेलेपछि उनीहरुलाई गाउँमा सबैले राम्रो मान्छन् रे।
मालिकामा गाजल लाली लगाएका देखिने यी हिरोइन कुमारी हलमा भएको भेटमा एकदमै सादा देखिन्थे। आधा कपाललाई चिम्टिले च्यापेका र तल लेबुन्टले बानेका। कमलाले हल्का गुलाबी रंगको कुर्तामा खरानी रंगको ज्याकेट लगाएकी थिइन्। शर्मिला निलो कुर्तामा कालो ज्याकेट। नाकको डल्ले फुली टल्किएको परैबाट प्रस्ट देखिन्थ्यो। ‘मेकअप गर्न मन लाग्दैन।’ दुवैको साझा जवाफ थियो त्यो। ‘कुर्ता लगाउन मन पर्छ, गाउँमा पनि यहि लगाउँछन्।’
उनीहरुले आफूमा आएको परिवर्तनलाई महशुस पनि गरेका छन्। कमलाले भनिन्, ‘पहिला यो गर त्यो गर भनेर सिकाएका कुरा आफैले जिम्मेवारी लिन सकिन्छ जस्तो लाग्छ।’
चलचित्रका केही सिनमा उनले दुर्व्यवहार गर्नेलाई गालामा चड्काएकी छन्, साँच्चै त्यसरी नै चड्काउने हो ? भनेर सोध्दा, उनी हैन भनेर हाँसिन्। ‘मैले त्यस्तो गर्ने गरेको छैन।’ शर्मिलाले स्वर अलि कडा पारेर भनिन्, ‘त्यस्तो परिआयो भने गर्ने हो।’
ठूलो हुँदै गर्दा उनीहरुले नराम्रा नियतको मानिस भेटेका भने छैनन्। कमला भन्न थालिन्, ‘मैले पीडित महिलालाई भेटेँ भने, सहेर बस्नु हुँदैन बोल्यो भने न्याय पाइन्छ भन्छु।’ उनले अब छोरी कस्तो हुनुपर्छ पनि भनिन्, ‘छोरी अलि बो…ल्ड हुनुपर्छ।’
निष्कर्षमा, उनीहरु चलचित्र गरेको राम्रो भयो भन्नेमा पुगे, ‘बालविवाह गर्नु हुँदैन भन्ने सुनेको थिए, तर त्यसमा हुने पारिवारको दवाव, पढ्न नपाइने कुरा, अनेक पीडा सहनु पर्छ। २० वर्ष नपुगी गरे दुःख पाइन्छ भन्ने थाहा भयो। आफू जिम्मेवारी धान्न सक्ने नभई विवाह गर्न हुन्न भन्ने लागेको छ।’
उनीहरु काठमाडौँ कति समय बस्छन् भन्ने थाहा छैन। अहिले नरबहादुर कार्कीको घरमा छन्। उनीहरु तिहारको रमाइलो मनमा साँच्दैछन्। ‘देउसी खेल्छन्, गीत गाउँछन्।’ गीत गाउँन आउँछ? ‘आउँदैन’ नाँच्ने मात्रै हो ? दुवैको एकै स्वर ‘नाँच्न नि आउँदैन।’ चलचित्रको काम सकिएपछि गाउँमा नै रमाउने योजना बनाएका छन्।