
अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाले आफ्नो संस्मरणात्मक पुस्तक सार्वजनिक गरेकी छन् । पुस्तकमा उनले आफ्नो वैवाहिक सम्बन्धका असजिला र गर्भधारणमा भएको समस्याका बारेमा उल्लेख गरेकी छन् ।
आफ्नो पुस्तक ‘बिकमिङ्ग’ मा ओबामाले आफ्नो एउटा गर्भ खेर गएको खुलाएकी छन् । त्यसपछि दुवै छोरीहरु भिट्रो फर्टिलिटी अर्थात आइभिएफ मार्फत गर्भधारण गरेर जन्माएको मिसेल ओबामाले उल्लेख गरेकी छन् । अमेरिकी पूर्व राष्ट्रपछि बाराक ओबामा र पूर्व प्रथम महिला मिसेलका मालिया र साशा नामका दुई छोरी छन् ।
अमेरिकी टेलिभिजन एबिसीको कार्यक्रम ‘गुडमर्निङ्ग अमेरिका’ सँगको अन्तर्वार्तामा मिसेल ओबामाले २० वर्षअघि गर्भ खेर गएपछि आफूले ‘पराजित र एक्लो’ महशुस गरेको बताएकी छन् ।
यस्तै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेकी छन् । ट्रम्पले आफ्नो परिवारको सुरक्षा जोखिममा लगेको भन्दै ओबामाले आलोचना गरेकी हुन् ।
आउँदो मंगलबार सार्वजनिक हुने ४२६ पृष्ठको पुस्तकमा मिसेलले आफ्नो वैवाहिक सम्बन्ध जोखिममा परेको कुरा पनि उल्लेख गरेकी छन् । वैवाहिक सम्बन्ध समस्या परेपछि आफू र पूर्व राष्ट्रपति बाराक ओबाले कपल थेरापीको सहयोग लिएको पुस्तकमा उल्लेख गरिएको छ ।
पुस्तकको प्रचार प्रशारका लागि मिसेलले विश्वका १० शहरको भ्रमण गर्ने छिन् । उनी पहिलो अफ्रिकन–अमेरिकन प्रथम महिला हुन् ।
पूर्व वकिल तथा अस्पतालकी प्रशासक मिसेलले एबिसीसँगको कुराकानीमा गर्भ खेर गएको बारे भनेकी छन्, ‘मलाई पराजित वा असफल भएँ जस्तो लाग्यो, किनकी मलाई गर्भ खेर जाने बारे त्यति थाहा थिएन । यसको प्रमुख कारण हामी यसबारे खासै कुरा गर्दैनौँ ।’
उनले अघि भनेकी छन्, ‘हामी यस्तो बेलामा आफ्नै पीडामा रहन्छौँ, टुटेको जस्तो महशुस गर्छौँ । तर युवा आमाहरुले यसबारेमा कुरा गर्नु जरुरी छ ।’
झण्डै ३४ वर्षको भएका बेला आफूलाई बायोलोजिकल क्लक वास्तविक हो र डिम्बको उत्पादन कम हुँदै जान्छ भन्ने महशुस गरेको उनले उल्लेख गरेकी छन् । त्यसपछि आफूले आइभिएफ मार्फत बच्चा जन्माएको उनले उल्लेख गरेकी छन् ।
एबिसीकी रोबिन रोबर्टसँग मिसेलले भनेकी छन्, ‘हामी महिलाहरुले हाम्रो शरीरको वास्तविकता र त्यसले कसरी काम गर्छ भन्ने बारे कुरा गर्दैनौँ र यो निकै खराब रहेछ ।’
यस्तै वैवाहिक सम्बन्ध पनि समस्या परेको मिसेलले उल्लेख गरेकी छन् । विशेष गरी बाराक ओबामा राजनीतिमा सक्रिय भएर लागेर आफूलाई घरमा एक्लै छोडेर राज्यको संसदीय भूमिकामा गएपछि विवाहमा समस्या आएको मिसेलले बताएकी छन् ।
त्यहि बेला थियो जब मिसेलले आइभिएफको खोजी गरिरहेकी थिइन् ।
उनले भनेकी छन्, ‘वैवाहिक विमर्शले हामीलाई हाम्रा फरकपनका बारेमा कसरी कुरा गर्ने भन्ने सिकायो । धेरै युवा जोडीमा समस्या आइरहेको हुन्छ तर फरकपन बारे कुरा गर्न नजान्दा थप समस्याग्रस्त बन्छ सम्बन्ध । हामीले पनि हाम्रो विवाह जोगाई राख्नका लागि काम गरेका छौँ, यत्तिकै अहिले देखिएजस्तो उत्कृष्ट वैवाहिक सम्बन्ध बनेको होइन ।’ त्यसपछि बाराकप्रति आफ्नो प्रेम थप बढेको उनले उल्लेख गरेकी छन् ।
मिसेलले आफ्ना श्रीमान बाराक अमेरिकी हुनुमा गरेको शंकाप्रति कहिले माफी नगर्ने बताइन् । राष्ट्रपति ट्रम्पले बाराक ओबामा वास्तवमा अमेरिकामा नजन्मिएको भन्दै आलोचना गरेका थिए ।