छठ घाटमा नगएको २२ वर्ष

छठ घाटमा नगएको २२ वर्ष
+
-

जनकपुरधाम – जनकपुरमा वर्षभरि मनाईँने दर्जनौँ पर्वहरु मध्ये पर्व छठको रौनक बेग्लै हुन्छ । जनकपुरको छठको विशेष महत्व छ र यसमा सहभागी हुन बाहिरबाट समेत श्रद्धालु आउने गर्दछन् ।

तर जनकपुरमै एक यस्तो भक्त छिन् जो छठ घाटमा नगएको २२ वर्ष भइसकेको छ ।
पर्वको रमरझममा घरका सम्पूर्ण सदस्य घाट जाने, पूजा गर्ने, रमाईलो गर्ने गर्छन् तर उनमा कुनै उल्लास देखिँदैन । छठ पर्वले उनलाई काँडा मात्रै बिझाएको छ ।

जनकपुरकी अन्दाजी ४० वर्षे पुनम (नाम परिवर्तन) करिब दुई दशक अघिसम्म छठ भनेपछि हुरुक्कै हुन्थिन् । बच्चैदेखि रमाईलो गर्ने स्वभाव भएकी पुनम छठका लागि हप्ता दिन अगाडिदेखी नै विशेष तयारीमा जुट्थिन् । र छठ घाटमा पनि अरु भन्दा पहिले नै पुगेर सामान मिलाउने गर्थिन् । समान्य परिवारमा हुर्केकी पुनमका लागि सबैथोक पूरा हुन त्यति सहज थिएन तर पनि पर्वका बेला उनको अनुहार उज्यालो नै हुन्थ्यो र हुनु स्वभाविक नै थियो, आखिर जनकपुरको छठ ।

पाँच जना भाइबहिनी मध्ये दुई दाजु र तीन दिदीबहिनीकोबिच हुर्केकी उनको बिहे १७ वर्षमा भयो । बिहे भएको घर धेरै सम्पन्न नभए पनि श्रीमान जनकपुर अंचल अस्पतालमा, रेडक्रसको एम्बुलेन्स चालक थिए । श्रीमान सरकारी जागिरमा रहेकोले जीवनयापन गर्न सहज थियो उनलाई । आजभन्दा २४÷२५ वर्ष अगाडिको कुरा हो, सरकारी जागिरको महत्व पनि उत्तिकै थियो । पहिलादेखि नै हाँस्ने–खेल्ने स्वभावकी पुनम बिहेपछि झन खुशी देखिन्थिन् ।

समान्यतया छठमा जनकपुरमा अविवाहिताहरु पनि बेहुली झैँ सजिन्छन् भने विवाहिताहरु दुलही बनेर नै छठ घाट पुग्ने गर्ने गर्दछन् । यही क्रममा पुनम पनि आफू सोह्र श्रृंगारमा सजिँदै दुलही बनेर छठ घाट पुग्ने गर्थिन् । तर भनिन्छ, सबदिन एकै नासको हुँदैन । एक छोरी र एक छोराकी आमा बनेकी पुनम बिहेका केही वर्ष निकै खुशी थिइन तर पछि उनका श्रीमान नै रहेनन् । जीवनमा औधी माया गर्ने श्रीमानको मृत्युपछि उनी मुर्छा परिन् र उनको जीवनमा कालो बादल छायो । भर्खर १९ टेकेकी पुनमका दुई वर्षकी छोरी र
६ महिनाका छोरा थिए, सहारा खोसियो ।

पुनमका श्रीमानको मृत्यु छठकै दिन त भएको हैन तर पनि उनी छठ दिनलाई दोषी बनाएकी छन् । पुनमका श्रीमानको मुखबाट रगत आउँथ्यो र त्यसको उपचार धेरै ठाउँमा भयो । खासगरी काठमाडौँ र दिल्लीमा विशेष उपचार भयो । करिब डेढ वर्षसम्म उपचार गरियो । भारतको दिल्ली स्थित एम्स अस्पतालमा उपचाररत उनका श्रीमान निको पनि भए । र दुई बच्चा र आमासहित दिल्ली पुगेकी पुनम अस्पतालबाट श्रीमानसहित घर फर्किन तयारीमा जुटिन् तर श्रीमानसहित घर फर्किने खुशी उनको एक घण्टाका लागि मात्र रह्यो । डिस्चार्ज हुने क्रममै अचानक उनका श्रीमान बिते ।

यता, बच्चाका लागि दूध ल्याउन भनि बाहिर गएकी पुनम अस्पताल फर्किँदा आमा रोइरहेको देखिन् । उनको होस उड्यो तर पनि उनी हतार हतार सम्हालिएर श्रीमान भएको कोठातिर पुग्दा मृत देखिन् । श्रीमान बिरामी हुँदा अँध्यारो हुँदै गएको जिन्दगीमा उनी श्रीमान निको भए भनेर धेरै खुशी भएकी थिइन् तर त्यो खुशीको उज्यालो भने उनका लागि निभ्न लागेको दियो अन्तिम समयमा धेरै प्रकाश दिएर निभ्ने जस्तो भयो ।

छठले किन काँडा बिझाउँछ त ?


प्रायजसो छठमा गरिएको भाकल पूरा हुन्छ र यो पर्वमा सहभागी हुँदामात्र पनि स्वस्थ्य दीर्घायूको आर्शिवाद पाउँछन् भन्ने गरिन्छ । पुनमले आफ्ना श्रीमानलाई निको हुन्छ भने आफै जलाशयमा नुहाएर अर्घ्य दिने भाकल गरेकी थिइन् । उनी भन्छिन् “बच्चैदेखि छठमा मागेको कुरा पूरा हुन्छ भने सुन्दै आएकी थिएँ तर मेरो भएभरको जिन्दगी नै छठले लग्यो ।”

श्रीमानको दीर्घायूका लागि उनी आफै छठ गर्छु भनेकी थिईन् तर अब छठको दिन उनलाई काँडाले बिझाउँछ । श्रीमान बितेपछि उनी छठ घाटमा कहिल्यै गइनन् । उनी भन्छिन् “हामी छठकै दिन उहाँको उपचार गराउन दिल्ली गएका थियौँ तर त्यो दिन श्रीमानसँगको अन्तिम दिन बन्यो मेरा लागि र अन्तिम छठ पनि । अब छठको घाट मात्र हैन छठको दिनले पनि मेरा लागि खुशी ल्याउँदैन र म बाचुञ्जेलसम्म छठ घाट जान्न । मलाई जस्तो पीडा यो दिनले दिएको छ त्यो कसैलाई नदियोस् ।”

पुनम भन्छिन्, “छोरीलाई उहाँले डाक्टर बनाउँछु भन्नुहुन्थ्यो तर अहिलेको मेरो अवस्थामा म छोराछोरीलाई एसएलसीसम्म पनि राम्ररी पढाउन सकिनँ । जसोतसो पढ्दैछन् अहिले ।” यता, उनको बच्चाहरु मामामाइजुसँग छठ घुम्न जाने गरेका छन् । पुनमकी छोरी ऋषिकालाई पनि छठले धेरै खुशी भने दिँदैन ।

ऋषिका भन्छिन्, “छठ जाँदा सधैँ अरुको भर पर्नुपर्छ, मामामाइजु, हजुरमाले धेरै माया गर्नु हुन्छ तर पनि हामी जस्तैलाई आ–आफ्नो आमाबुवासित छठ घुमेको हेर्दा रहर लाग्छ । तर के गर्नु बुवा हुनुहुन्न र आमा छठ जानु हुन्न, कहिले काहिँ त रुन मन लाग्छ । ”

उनी अगाडि भन्छिन्, “दुई–तीन वर्ष म पनि गइनँ तर सबले प्रश्न गर्न थाल्छन् र म गइनँ भने भाइलाई एकदम नराम्रो लाग्छ । त्यसैले केही वर्षयता जान थालेकी छु ।”

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?