
दाङ – दाङमा छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन ब्रतालुहरु राप्ती नदीमा पुगे। नदी किनारलाई सजाएर रंगीबिरंगी बनाइएको थियो। ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए, पूजा गरे।
८० जनाभन्दा धेरै ब्रतालु नदी किनारमा पुगेका थिए। गत वर्षदेखि छठ पर्वको पूजा गर्न राप्ती नदीमा ब्रतालु जान थालेको स्थानीयबासी विनोदकुमार ठाकुरले बताए। यस्तै कालाखोलामा पनि सूर्यलाई अर्घ दिएर पूजा गरिएको छ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ। छठ पर्व आइतबारदेखि सुरु भएको हो।
सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ।