भृकुटीमण्डपमा भेटिएकी हँसिली गोमा दिदी

भृकुटीमण्डपमा भेटिएकी हँसिली गोमा दिदी
+
-

सोचे जस्तो हुन्‍न जीवन, सम्झे जस्तो हुन्‍न जीवन।। 

तारा देवीले गाएको यो गीत र आफ्नो जीवन मिलेर नै होला धेरैले यो गीत मन पराउँछन्। सोचेको जस्तो जीवनमा कमै मानिसको मात्र हुन्छ, जसलाई ‘भाग्यमानी’ भन्छन्। ‘भाग्यमानी नै हो की जस्तो लाग्छ मलाई त’, चम्किलो अनुहारमा उनले हाँस्दै आफ्नो भाग्यको कुरा गरिन्, उनले अड्कल्दा यो सारै सुखद् छ।

 नाम-गोमा लामा

जन्मघर – नुवाकोट

कर्मघर – काभ्रेपलाञ्‍चोक

बसाइ-बालाजु

‘धेरै वर्ष भयो यता बस्‍न थालेको। समय मिलाएर घर पनि जान्छु।’ गोमा काठमाडौँ बस्न थालेको झण्डै २० वर्ष भयो। उनी ठट्याउली स्वाभावकी छिन्। आफ्ना संगतका मानिससँग हाँस्न र हँसाउन अलिकति पनि कन्जुस्याइँ नगर्ने। उमेर सोध्दा ‘गेस गर्नु’ भनिन्। उनको दुई छोरामध्ये एउटा २० वर्षका भए रे, कुराकानीको क्रममा उनैले भनेकी हुन्। आफ्नो भने ३८ वर्ष।

गोमा दिदी

भृकुटीमण्डपको हस्तकला प्रदर्शनी मेलामा भेटिएकी गोमाको स्टलमा हाँसोको गुञ्जन बेलाबेलामा मज्जाले गुञ्जिँदै थियो। ओल्लो पल्लो स्टलका साथीभाइ पनि उनीसँग कुरा गर्न आइपुग्थे, अनि उनकै आफ्नो मित्रहरु पनि। आउने ग्राहकलाई पनि हँसाएर नै पठाइन्। उनको मुस्कान त्यहाँ सजाएका उनले बनाएका सामानमा पनि देखिन्थे।

सेतो रंगको आउटर जिन्सको पाइन्ट र स्पोर्टस् जुत्तामा ठाँटिएकी थिइन् उनी। अनुहार प्रसन्‍न देखिन्थ्यो। उनी आफ्नो अतीत बताउन थालिन्, ‘म घरकी कान्छी छोरी, सार्‍है पुल्पुलिएकी थिए। तर बुुबाको अगाडि चाँहि सास पनि रोकिरोकी फेर्थे।’ उनका बुबा आर्मीमा जागिरे थिए।

उनको पाँच जना दाइहरु र दुई जना दिदी छन्। सबैको माया पाएकी कान्छी गोमाको १७ वर्षको उमेरमा विवाह भयो। आफ्नै दिदीले मागिन्, दिदीबहिनी देउरानी जेठानी भए। ‘मलाई दुख, अभाव, कष्ट भएन।’ उनले भनिन्, ‘पहिला पनि दिदीको घरमा आउने जाने थियो। नयाँ घरमा गएको जस्तो पनि लागेन।’

श्रीमान् श्रीमतिको उमेर पनि उस्तै। एसएलसी सक्ने बित्तिकै विवाह भएकोले अगाडि पढाई अगाडि भने बढेन।

विवाहपछि उनी सामाजिक काममा सक्रिय भइन्, गाउँ ठाउँमा हुने भेला, सम्मेलनमा पनि सहभागी हुन्थिन् उनी। उनलाई साथीभाइ जम्मा हुन हाँसो रमाइलो गर्न एकदमै मन लाग्छ। भृकुटीमण्डपमा पसलमा बसिरहेको बेलामा एक महिला आइन् र उनलाई बोलाउँदै ‘सेल्फी खिचौँ’ भनिन्। त्यहाँ आउने १० महिलामा एकले उनलाई चिनेकै थिए।

‘गोमा बैनी पनि रैछ’ भन्दै हाँस्दै फोटो खिचेर जान्थे। सेल्फी खिचेर उनी फेरि गफिन थालिन्, ‘म त विवाह गर्दा बच्चा त थिएँ, दिदीको बच्चासँग खेल्दै गर्दा आफ्नै बच्चा भयो। अनि म त आमा पो भइसके हैँ जस्तो लाग्यो।’ यति भनिसकेपछि उनी बेस्सरी हाँसिन्।

उनलाई ग्राहकलाई सामान किनौँ किनौँ भन्ने बनाउन पनि आउँछ। एक ग्राहकले हातले बनाएको जुत्ता हेर्दै गर्दा महंगो भने, उनले महंगो हुने कारण बताइन्। ‘यो जुत्ता ट्रेनिङ्गको बेलामा बनाएकोले यसमा ज्याला जोडिएको छैन र सस्तो भो, अर्कोमा ज्याला जोडिन्छ।’ ग्राहकले किचकिच गरेपछि उनले ठाँटैले भनिन्, ‘तपाई विदेशी सामान चाहिँ जति पैसा तिरेर पनि किन्ने, आफ्नै दिदीबहिनीले बनाएको सामान किन्दा चाहिँ किचकिच गरेर हुन्छ ?’ उनले यति भनेपछि ग्राहक फिस्स हाँसे र समातेको जुत्तालाई पैसा तिरेर लगे।

उनी भन्न थालिन्, ‘गफ नजाने त कामै छैन, गफ गरेरै बुढी भएको म। हा हा हा।’

छोरा जन्मिएपछि जीवनमा केही परिवर्तन आए। उनको माइती बसाइ सरेर बालाजु आएको थियो। श्रीमान् विदेश गए, उनी बालाजु बस्‍न थालिन्। उनका दुई छोरा छन्, जेठो स्नातक पढ्दै छन्, सानो भर्खर कक्षामा १ मा। ‘म काममा धेरै व्यस्त भए, बुढा बाहिर हुनुहुन्थ्यो, सानो छोरा एकदमै पछि जन्मियो।’

ऊनको सामानबाट हस्तकलाको सामान बनाउन फ्याक्ट्रीमा गएर सिकिन्। २०६४ सालतिर गोमाले सामान बनाउन मात्र सिकिनन्, व्यवसाय कसरी गर्न सकिन्छ भन्ने व्यवहारिक पाटो पनि सिकिन्।

‘त्यो बेलामा डेकोरेसनको आइटम बनाउन सिकेको थिएँ,’ उनी भन्छिन्, ‘अहिले लगाउने जुत्ता बनाउने गरेको छुँ।’ उनको पसलमा किरिङ्, व्याग, जुत्ता थिए सँगै सजाउने वाल हांगिङ्ग छ।

यसलाई साबुन पानीले हात धोएर डल्लो पार्ने र गरिन्छ र पछि सियोले खोपेर बुट्टा बनाउने गरिन्छ। सिलाउने, जोड्ने, टाँस्ने काम हुन्छ।

उनले फार्मेसी सम्बन्धी पनि पढेकी थिइन् तर यही काममा उनको मन बस्यो। ‘म एक्लै हुन्थेँ,’ उनी भन्छिन्, ‘अहिले मसँग ६० जना दिदीबहिनी छन्, उनीहरुको बिचमा बसेर काम गर्दा आनन्द आउँछ।’

उनी अलि छुच्ची पनि छिन्, तर ठाउँ र समय हेरेर मात्र छुच्ची हुन्। जुन सुकै काम गर्दा पनि अफ्ठेरो त हुन्छ। श्रीमानले सधैँ साथ दिइरहेका हुन्छन्। उनले अफ्ठेरो अहिलेसम्म महशुस गरेकी छैनन्।

उनको व्यवसाय ५ लाखको लगानीमा शुरु भएको हो। ९ वर्षमा ५० लाख पुगेको छ। उनी बेलाबेलामा टेलिभिजनमा पनि देखिन्छन्, उद्यमीको अन्तवार्ता दिँदा। फोन गरेर बधाई दिन्छन्, स्याब्बास भन्छन्। यो सबै उनलाई असल श्रीमान् पाएकोले हो भन्छिन्।

आर्थिक रुपमा उनको परिवार सबल नै छ। उनलाई बसिबसी खान मन लागेन। जागिर खान मन लाग्यो, पहिला यही सम्बन्धित काम पाइन् र यसैलाई बिस्तार गर्ने योजना बनाइन्। उनलाई नयाँ नयाँ कुरा सिक्न मन लाग्छ, नयाँ साथी बनाउन मन लाग्छ। उनी भन्छिन्, ‘सबैसँग घुलमिल हुने भएकोले नेता बन्ने अफर पनि आएको थियो तर म गइन।’

केही गरौँ भन्‍ने सोचेर जाँगर चलाइन् र ऊनको हस्तकलाको सामान बनाएर बेच्‍न थालिन्। अहिले बालाजुमा ‘डि एन एन फिल्ड ह्यान्डिग्राफ्ट’ को कार्यालय छ। महिनामा १५ देखि २० लाखको कारोबार हुन्छ।

उनी कपडाको सौखिन छिन्। उनलाई फेरि-फेरि कपडा लगाउन मन लाग्छ। कपडामा भरिएको रङ्ग जस्तै जीवन पनि रङ्गीन बनाउन मन लाग्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?