
अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहको विस्तृत अध्ययनका लागि पठाएको रोबोर्टसहितको अन्तरिक्ष यान इनसाइट मंगल ग्रहमा पुगेको छ । नेपाली समय अनुसार मंगलबार बिहान एक बजेर ३८ मिनेट जाँदा मंगल ग्रहमा अवतरण भएको हो ।
रेड प्लानेटको सतहमा पुगेको इनसाइट ल्याण्डर यानको रोबोर्टले ग्रहको भित्री क्षेत्रका बारेमा अध्ययन गर्नेछ । पृथ्वीपछि पहिलोपटक अरु कुनै ग्रहको यस्तो अध्ययन हुन लागेको हो ।
अब रोबोर्टले मंगल ग्रहका बारेमा प्राप्त जानकारी पठाउने छ । क्यालिफोर्नियामा रहेको नासाको यो मिसन कन्ट्रोल गर्ने जेट प्रोपुल्सन ल्याबुरेटरी (जेपिएल) मा रोबोर्ट मंगल ग्रहमा अवतरण भएको खुशीयाली मनाईएको छ । नासाले यो दिन उत्कृष्ट रहेको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अभियानमा संलग्नहरुलाई बधाई दिएका छन् । जेपिएलका निर्देशक मिक वाट्किन्सले यो सफलता सबैको रहेको बताएका छन् ।
इनसाइट ल्याण्डर अहिले मंगल ग्रहको एलिजियम प्लानिटामा रहेको छ । अर्थात रेड प्लानेटको इक्वेटर नजिक । यान अवतरण भएको केही मिनेटमै पहिलो तस्बिर नासाले प्राप्त गरेको थियो । यो तस्बिर धमिलो छ । अबको केही दिनमा स्पष्ट रुपमा देखिने खालको तस्बिर आउने बताइएको छ ।
यसअघि सन् २०१२ मा पनि यस्तै यान मंगल ग्रहमा ल्याण्ड गर्ने प्रयास भएको थियो । अहिलेको यान मंगल ग्रहको वायुमण्डलमा हाइ–भेलोसिटी बुलेट भन्दा पनि तीव्र गतिमा प्रवेश गरेको नासाले जनाएको छ।
मंगल ग्रहको खराब सतहमा अब इनसाइट सक्रिय अवस्थामा रहनु महत्वपूर्ण कुरा हुनेछ । यसको सञ्चालनका लागि यानमा जेनेरेटिङ्ग पावर जडान गरिएको छ । अति चिसो रहेको मंगलमा यानले काम गर्नका लागि जेनेरेटरमार्फत नै तापको व्यवस्था गर्नु पर्छ । यी प्राथमिक कुरा पूरा भएपछि मात्रै वैज्ञानिक अनुसन्धानको मिसन सुरु हुनेछ ।
वैज्ञानिकले पृथ्वीको भित्री संरचना थाहा पाए जस्तै मंगल ग्रहको पनि भित्री संरचनाका बारेमा जानकारी पाउनका लागि यो प्रयास गरिरहेका हुन् । यसबाट त्यहाँ मानव जीवनको संभावनाका बारेमा थप थाहा हुनेछ ।
यो यान अवतरणका लागि अन्तिमको सात मिनेट अति महत्वपूर्ण थियो, किनकी त्यो बेला यानले आफ्नो गति २० हजार किलोमिटर प्रतिघण्टामा कम गर्नु पर्ने थियो, त्यो सफल भएको छ ।
यो यानले अहिलेसम्म थाहा नभएका जानकारीहरु दिने आश गरिएको छ । अभियानको क्रममा यो यानले मंगल ग्रहमा एउटा साइज्मोमिटर राख्नेछ, जसले भित्री क्षेत्रको हलचल थाहा पाउने छ र रेकर्ड गर्नेछ । यसको अर्थ मंगल ग्रहको भित्री भागमा भूकम्पीय गतिविधि हुने–नहुने बारे यसले अध्ययन गर्नेछ ।
यो यस्तो पहिलो यान हो जसले मंगल ग्रहको भित्री भागका बारेमा अहिलेसम्म रहस्यको रुपमा रहेको जानकारी जुटाउने छ । यसमा रहेको एक उपकरण मंगल ग्रहको सतहबाट पाँच मिटर तल गएर भित्री तापक्रम सम्बन्धी जानकारी संकलन गर्नेछ ।
यस्तै यानमा रहेको रेडियो ट्रान्समिशनले मंगल ग्रह घुम्ने क्रममा कसरी हल्लिन्छ भन्ने जानकारी संकलन गर्नेछ ।