सन्दर्भ विश्व कुष्ठरोग दिवस

कुष्ठरोगले जुराएको दिलबहादुर र नन्दीको यात्रा

कुष्ठरोगले जुराएको दिलबहादुर र नन्दीको यात्रा
+
-

काठमाडौँ– बानेश्वर, कोटेश्वर, नयाँ बसपार्क, कलंकी..कलंकी… भन्दै सहचालकहरुको चिच्याहट। अर्कोतिर पाँच सय को २ वटा, ३ सयको २ वटा भन्दै चिच्याइरहेका व्यापारीको तँछामछाड। त्यसैमा पैदल यात्रुहरुको चाप र गाडीमोटरका आवाजका कारण कोलाहल भइरहने ठाउँ हो सुन्धारा।

प्राय: काठमाडौँमा पाइला टेकेका सबैका लागि परिचित सुन्धाराको फुटपाथमा नाङ्ले व्यापारी र तौल मापन गरेर जीविका चलाउनेहरुको जमात सानो छैन। तिनै मध्येका एक हुन् दिलबहादुर क्षेत्री।

दैनिक बिहान ७ः३० बजे उनी आफ्नो डेराबाट हिँड्छन् सुन्धाराका लागि। एक दिन जान सकिएन भने दैनिकी कठिन बनिहाल्छ। डेरा गरी बसेको स्थानबाट २ घण्टाको बाटो पार गरेर काठमाडौँ मल अगाडिको फुटपाथ उनले तौल मापन गर्ने यन्त्र राखेका छन्।

सँगै रिचार्डकार्डहरु र गुट्खाहरु पनि राखेका हुन्छन्। शारीरिक रुपमा अशक्त दिलबहादुरले दिनभरको यो कामबाट दुई सय रुपैयाँसम्म कमाउँछन्, त्यही पैसाबाट आफ्नो गुजारा चलाउँछन्।

‘अरु साथीहरु नआएको दिन तीन सयसम्म कमाइ हुन्छ तर अपाङ्गता भएका भन्दा सपाङ्गहरुले नै यस्तो काम गरिदिने गरेका कारण हामीजस्तालाई मर्का परेको छ,’ उनी भन्छन्, ‘सपाङ्गहरुले त अरु काम गरेपनि हुन्थ्यो।’ फुटपाथमा बसेर तौल मापन गर्न थालेको क्षेत्रीले २१ वर्ष हुन लागेको छ।

कसरी भए शारीरिक अशक्त?


बागलुङको जोर पाटनमा जन्मेका दिलबहादुर क्षेत्रीलाई ६ वर्षको उमेरमा नै कुष्ठरोगको संक्रमण भएको थियो। तर, त्यो समयमा उनलाई र उनका परिवारलाई कुष्ठरोगको बारेमा थाहा थिएन। आठ वर्षको हुँदा सुत्केरी व्यथा लागेर आमाको निधन भयो रोगले थलिएका बुवाले पनि प्राण त्यागे।

उनका दाइभाइ र बहिनी थिए। उनीहरुको पनि हैजा लागेर ज्यान गयो। उनी र उनका दाइ मात्र बाँकी रहे। सानै उमेरमा टुहुरा भएका उनीहरुलाई बाँच्न कठिन भयो। बुवाआमाको जमिन भए पनि पञ्चायतकालमा गाउँका ठालूहरुले उनीहरुको जमिन हडपे।

त्यसपछि उनी आफ्नै गाँउको जमिनदारको गोठालो भए। रोगले च्याप्दै गइरहेको थियो। गाउँमा उनलाई हेर्ने नजर पनि फरक हुँदै गयो। गाँउलेले पूर्वजन्मको पापका कारण नराम्रो रोग लागेको छ भनेर नानाथरी कुरा सुनाए। त्यसपछि मालिकले पनि उनलाई गोठमा बसाउन सुरु गरे। खाना खाने भाडा समेत अलग्गै बनाए। रोगले थला परेपछि त आफूलाई ओढारमा गएर बस्न भनेको कुरा सम्झदा दिलबहादुर भावुक भए।

गाउँलेहरुले बोल्न छोडे, सबैले हेला गर्न थाले। त्यसपछि उनलाई मालिकले गोठमा पनि बस्न दिएनन्। सबै गाउँलेले मिलेर दीलबहादुरलाई गाउँ निकाला गरे।

गाउँ निकाला भएपछि दीलबहादुर रोग निको हुने आशामा म्याग्दीमा तातो पानीमा नुहाउन गए। तर शरीरमा रहेको घाउ देखेपछि त्यहाँका मानिसहरुले उनलाई नुहाउन दिएनन्। एकजना व्यक्तिले उनलाई कुष्ठ रोग लागेको भन्दै दुई सय रुपैयाँ दिएर स्वास्थ्य चौकी जान सल्लाह दिए।

ती व्यक्तिको सल्लाह अनुसार स्वास्थ्य चौकी गएका दीलबहादुरले आफूलाई कुष्ठरोग लागेको थाहा पाए। बागलुङ स्वास्थ्य चौकीका डाक्टरले उनलाई अप्रेशन गर्नुपर्ने र त्यसका लागि पोखराको अस्पताल जानुपर्ने सल्लाह दिए। दिलबहादुर पोखराको अस्पताल गए। र, त्यहाँ एक गैर सरकारी संस्थाको सहयोगमा उनको उपचार भयो। त्यो संस्थाले उनलाई पेन्टिङ्गको काम पनि सिकायो। लामो उपचारपछि दिलबहादुर पेन्टिङ्गको काम गरेर गुजारा चलाउन थाले।

रोगले जुराएको सारथी


दिलबहादुरको पोखराको अस्पतालमा उपचार हुँदै थियो। उपचारकै क्रममा त्यहाँ उनको दाङकी नन्दा पुनसँग भेट भयो। उनी पनि कुष्ठरोगकै उपचार गर्न आएकी थिइन्। अस्पतालको त्यो भेटपछि उनीहरुले एक अर्कालाई जीवनसाथीका रुपमा चयन गरे।

‘एउटै रोग लागेका हामीलाई साथीको आवश्यकता थियो र छोरीजात माइतीमा विवाह नगरि बस्दा समाजले हेर्ने नजर फरक हुन्छ त्यसै माथि रोगी छोरी बुबालाई पनि गाह्रो हुन्छ र आफूलाई पनि एक्लो जिवन बिताउँन सहज नहुने भएकाले २०५२ सालमा हामी दुवैले विवाह गर्यौँ,’ पुनले भनिन्।

विवाहपछि दुवैले पोखरामा ७ वर्ष पेन्टिङ्गको काम गरे। केही रकम बचत भएको थियो। उनीहरु एकदिन दाङमा रहेको माइतीघर गए। तर माइतीमा काम नगरी खाएको भन्दै कुराहरु सुनाउने क्रम सुरु भएपछि दीलबहादुरले पेन्टिङ्ग गर्दा बचत भएको पैसाले किराना पसल खोले। तर कुष्ठ रोग लागेको थाहा पाएपछि उनीहरुको पसलमा आउने ग्राहकहरु घटे। आएकाहरुले पनि टाढैबाट सामान समात्न थालेपछि उनीहरुको मन फेरि पोल्न थाल्यो।

गाउँमा इलम गरेर बस्न समेत नहुने भएपछि दीलबहादुर र नन्दीले काठमाडौँ आउने निर्णय गरेका हुन्। नन्दीलाई पनि ६ वर्षको उमेरमै कुष्ठ रोग लागेको हो। ‘सुरुमा सुख्खा जमिनमा चिरा परे जस्तै हातमा चिरा परे तर सानै थिए र खेतबारीमा काम गर्ने भएकाले त्यस्तो ख्याल भएन। बिस्तारै हातका औला बांगिदै गए। बुबाले धामीझाक्री बोलाएर फुकाउन लाउनुभयो तर ठीक भएन, परिवारलाई थाहा थिएन के भएको भनेर ।

करिब १६ वर्ष पछि झाक्रीले नै बुबालाई स्वास्थ्य चौकी लैजाने सल्लाह दिएपछि कुष्ठरोग लागेको थाहा भएको हो,’उनले भनिन् । त्यसपछि पोखरा आएर उपचार गरेको उनले बताइन् ।

अहिलेको अवस्था


दिलबहादुरलाई श्रीमतीसहित काठमाडौँ आएको २१ वर्ष भयो । उनीहरु शान्ति सेवा नामक संस्थामा बस्दै आइरहेका छन् । सो संस्थाले उनीहरुलाई महिनामा २५ किलो चामल र दुई किलो दाल सहित अन्य सामग्री दिने गरेको छ । सोही संस्थामार्फत उनीहरुले पेन्टिङ्गको काम पनि सिकेका हुन् ।

‘पहिले संस्थामा नै पेन्टिङ्ग गर्ने काम गर्थे तर विस्तारै पेन्टिङ्गको माग घटेपछि संस्थामा काम बन्द भयो,’ दिलबहादुरले भने ‘त्यसपछि काठमाडौँ मल अगाडि फुटपाथमा तौल मापन यन्त्र राखेर बसेका छौँ ।’ ‘शारीरिक रुपमा असक्षम भयो भन्दैमा मागेर त खानु भएन, आफ्नो क्षमता अनुसारको काम गरेर आत्म सम्मानका साथ बाँचीरहेको छौँ ’ उनी भन्छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?