
काठमाडौं– छोक्न्यी रिन्पोचेको पुस्तक ‘ओपन हट ओपन माइण्ड’ को नेपाली अनुवाद ‘चित्त खुलोस् हृदयसँगै’ सार्वजनिक भएको छ।
चिकित्सक सरोज धितालले अनुवाद गरेको पुस्तक ‘चित्त खुलोस् हृदयसँगै’ बुधबार प्रज्ञा प्रतिष्ठान, कमलादीमा एक समारोहबीच सार्वजनिक गरिएको हो।
पुस्तक सार्वजनिक कार्यक्रममा छोक्न्यी रिन्पोचेले नेपाल र नेपालीसँग आफू आभारी रहेको बताए। ‘म नेपाल र नेपालका साथीहरुसँग धेरै आभारी छु’, उनले भने, ‘म संसारका सबै मानिसहरुलाई भन्ने गर्छु, खुसी हुनुछ भने नेपाल जाऊ, नेपाल धेरै खुसी भएको देश हो।’
उनले आफ्नो किताब नेपालीका लागि भन्दा पनि पश्चिमाहरुका लागि भएको बताए। उनले भने, ‘यो पुस्तक जो बाहिरी खुसीका लागि अनेक ठाउँ भौतारिरहेका छन्, जो भौतिक खुसी खोजीरहेका छन् उनीहरुका लागि हो।’ उनले पुस्तकमा भिक्षुको सीमा र सामर्थ्यका स्पष्ट रुपमा चित्रण गरेको बताए।
पुस्तक अल्केमी पब्लिकेशनले बजारमा ल्याएको हो।