चिताको कथा

बेवारिसे लासमा भुलेको जीन्दगी

बेवारिसे लासमा भुलेको जीन्दगी
+
-

पशुपति मन्दिरको पार्किङस्थलसम्म डुङ्डुङ्ती लासको गन्ध आइरहेको थियो। कोही हातले नाक थुनेर, कोही माक्स लगाएर मन्दिरतिर अगाडि बढिरहेका थिए। अनि, उताबाट पिच्च–पिच्च थुक्दै फर्किरहेका देखिन्थे कोही। मन्दिरको दक्षिणतिरबाट आर्यघाट जानेबाटो छ। त्यहीबाटोबाट वागमति नदीतिर अगाडि बढ्दा सिधै १० नम्बरको चिता भेटिन्छ।

चिताको छेउमा महालक्ष्मि नगरपालिका ७ टिकाथलिका विनयजंग बस्नेत लासका थुप्रा पल्टाउँदै थिए। झिंगा भन्किरहेका थिए उनले पल्टाउँदै गरेका लासमा। केही ठिटाहरु, अनि दुईजना ठिटीहरुले लास सार्न र चिता बनाउन विनयलाई सहयोग गरिरहेका थिए।

आइतबार विनयले भक्तपुरबाट ५ वटा बेवारिसे शव ल्याएका रहेछन्। विभिन्न ठाउँमा फेला परेका बेवारिसे शव पोष्टमार्टम गरेर प्रहरीले विनयलाई जिम्मा लगायो। त्यही भएकाले कुहीसकेका थिए ती शवहरु।

पशुपतिका एकदेखि दश नम्बरसम्मका चिता शवले भरिएका थिए। तर ८ नम्बर र १० नम्बर चिताको कथा फरक थियो…..।

यी दुईवटा चिता विनयले बुक गरेका थिए बेवारिसे शव जलाउनका लागि। केहीबेर लगाएर दुई भाइले चिता तयार गरे। दाउरा र पराल मिसाएर तयार गरिएको चिता माथी तीन वटा लास चढाए। तीन पोका डाल्डा लगेर खल्याए। त्यसपछि विनय बाति लिएर अगाडि सरे र चितामा घुम्न थाले। ती अपरिचित लासमा दागबति दिए।

यसअघि विनयले यस्ता अपरिचित एक सय ८० वटा लासमा दागबति दिइसकेका थिए। एक नावालकसहित त्यो दिन ६ वटा लास बटुलेका थिए। योसँगै उनले दाहसंस्कार गरेका लासको संख्या एक सय ८६ पुग्दै थियो।

विनयले दागबति दिएभन्दा माथितिरका चिताको कथा भिन्दै थियो । त्यहाँ आफन्तहरुको रुवाबासि, चितामा पूजा र दागबति दिनेहरु पनि धेरै जना हुन्थे । तर विनयहरुले डढाउँदै गरेको चिता आसपास न कसैको रुवाबासी, न कुनै भीड। तिन चार जना पालैपालो दाउरा घचेडिरहेका थिए, कुनै सामान्य कार्य पूरा गरेजस्तै । लासको डुङ्डुङ्ती गन्दको उनीहरुलाई कुनै प्रवाह थिएन । न माक्स लगाएका थिए, न त कुनै घिन मानेको देखिन्थ्यो।

विनयलाई त यो बानीनै परिसकेको छ, ६ वर्षमा । अरु पनि विस्तारै बानि पर्न थाले, लाज घिन मान्न छाडे।

यसरी तान्यो बेवारिसे लासले


विनय आफै दुर्व्यसनीमा फसेर बेवारिसे बनेका थिए। जाँड–रक्सी र कुलतसँग नजिकिएपछि परिवारबाट टाढा भएका थिए।

परिवार आर्थिक अवस्था राम्रै थियो। काठमाडौँको ठाउँमा घर–जग्गा भएको । बुबा श्यामबहादुर सरकारी जागिरे। कुरा १४ वर्ष पहिलेको हो। केही दिनदेखि उनी हराए । परिवारले खोजी गरिरहेका थिए। तर एक्कासी खबर आयो, ‘शिक्षण अस्पतालमा ५/६ वटा बेवारिसे लास छन्। विनयका परिवार त्यतैतिर लागे । अस्पतालको थुप्रोमा भेटिए विनयका बुवा श्यामबहादुर।

एउटा सहसचिव तहको कर्मचारीको बेवारिसे मरन भयो। अस्पतालबाट बुवाको शव लिएर विनय आर्यघाट पुगे।

आर्यघाटका सबै चिताहरु त्यो साँझ खालि नै थिए। पशुपतिको एक नम्बर चितामा बुवाको दाहसंस्कार गरिरहँदा विनयले शिक्षण अस्पतालका बाँकी बेवारिसे लास सम्झिरहेका थिए। त्यतिबेला उनले सोचेका थिए, ‘आखिर यहाँ यत्रा चिता खाली नै छन्, उनीहरुको लास किन त्यहाँ छाडिएको होला, यहाँ ल्याएर जलाउन पाएको भए पनि त शान्ति मिल्थ्यो होला नि !’ यो त विनयको मनमा उब्जिएको कुरा न थियो। ती डुङ्डुङ्ती गनाएका लास जलाउने कसले र !

त्यसपछि ती लास कहाँ लगेर व्यवस्थापन गरियो त्यो त विनयलाई पनि थाहा भएन। उनले बरु अठोट बनाए, ‘कुनै दिन मिलेछ भने म यस क्षेत्रमा काम गर्छु। कसैका पनि लास कौवा र चिलले लुछ्ने अवस्था आउन दिन्न।’

तर त्यो दिन बुवाको दाहसंस्कार सकेपछिका दिन विनयका सम्झन लायकका रहेनन्। बेवारिसे लास रहन नदिने अठोट गरेका विनय आफै बेवारिसे भए। रक्सीको लतले उनले जिउ छाडे, श्रीमतीले उनलाई छाडिन्। छोरी लिएर हिडिन् श्रीमती।

आमा विनय १४ वर्षको हुँदै बितिसकेकी थिइन्। विनयका दुई बहिनी र एउटा भाइ थिए। लत्तो छाडेका विनयलाई उनीहरुले पनि केही गर्न सकेनन्। बुबा र आमाको मृत्युपछि घरको अविभावक विनयनै थिए, त्यो पूरा गरेनन्।

तर पछि विनयको जीबन शैली फेरियो।

आफू रक्सीबाट टाढिएर अरुलाई सम्झाउन थाले। विनय भन्छन्, ‘मलाई सबैले घृणा गर्न थाले, आफन्तहरु पनि टाढिए । लाग्यो यसरी नहुने रहेछ!’

६ वर्ष पहिले विनयले बेवारिसे जीवन त्यागे। जहाँ गए पनि साँझ घर फर्किन थाले। बिस्तारै सामान्य जीबनमा फर्किए विनय।

कुरा चार वर्ष पहिलेको हो। इमाडोलमा मान्छेहरुको भीड लागेको थियो। त्यो भीड देखेर विनयले सोधे, एक जना बेवारिसे बृद्ध छट्पटाइरहेका थिए। मर्न लागेका बृद्धलाई पानी खुवान जम्मा भएका रहेछन्, ती मान्छेहरु।

त्यो भीडमा विनयले भने– यसरी कहिले मर्छ भनेर मृत्यु कुरेर हुँदैन, अस्पताल लैजाऔं । तर उनलाई साथ दिने कोही भएनन्।

बरु कसैले भने, ‘यस्तो मान्छे छुनु हुँदैन प्रहरीले केस लाउँछ।’ विनयले नै प्रहरीलाई खबर गरे। प्रहरी पुगेपछि प्रहरीको रोहबरमा विनयले ती वृद्धलाई किस्ट अस्पताल लगे। किस्टले कोही पनि आफन्त नभएको भन्दै उपचार गर्न मानेको थिएन। विनयले ‘मै हुँ यो मान्छेको आफन्त, म जिम्मा लिन्छु उपचारको’ भनेपनि किस्टले उपचार गर्न मानेनन्।

त्यसपछि पाटन अस्पताल लगे पाटन अस्पतालमा भर्ना गरेको एक घण्टामा ती वृद्धको ज्यान गयो। मरेपछि ३५ दिनसम्म कानूनी रुपमा त्यो शव केह ीगर्न मिलेन । तर ३५ औँ दिनसम्म पनि कोही आफन्त नआएपछि ३६ औं दिनमा अस्पताल पुगेर विनयले भने, ‘मैले अस्पतालमा ल्याएको मान्छेको म आफै दाह संस्कार गर्छु।’ सातदोबाटो प्रहरीले कागज तयार गरिदियो र विनयले ३६ औँ दिनमा गोदाबारी घाटमा लगेर दाह संस्कार गरे। यहीबाट सुरु भएको थियो विनयको बेवारिसे शवसँगको जीन्दगी।

मागेर समाजसेवी बन्दिन, बरु घर जग्गा बैंकमा राख्छु


त्यसपछिका चार वर्षमा चार वटा घाटमा एक सय ८६ वटा शव जलाइसके। बेवारिसे शव जलाउन गोदावारी घाट, शंखमुल, हनुमान घाट र पशुपतिमा लैजान्छन्। त्यसमध्य पनि सबैभन्दा धेरै पशुपतिमा नै दाहसंस्कार गरेका छन्।

यसरी बेवारिसे शवको दाहसंस्कार गर्दै गर्दा उनको टिममा सदस्यहरु थपिँदैछन्। हौसला मिल्दैछ। सबैले राम्रो गरिस् विनय त भन्छन् तर विनयले आफ्नो घर जग्गा बैंकमा राखेर लिएको ऋण पनि थपिँदैछ।

हिजो–आज त सडकमा बेवारिसे लास भेटिएपछि स्थानीयले सिधै विनयलाई खबर गर्न थालेका छन्। अनि, विनयले प्रहरीलाई भन्छन्। प्रहरीले अस्पताल पुर्याएर पोष्टमार्टम गरेपछि गन्हाएका लासहरु विनयलाई जिम्मा लगाउँछ।

सरकारी संयन्त्रले नै लास जिम्मा लगाउँछ, अनि पशुपतिमा चिताको शुल्क उठाउँछ। एउटा चिताको एक हजार ६ सय रुपैयाँ तिर्नुपर्छ विनयले। दाउरा, पराल र घिउमा पनि उतिनै खर्च हुन्छ। रिलायबल फाइनान्समा अहिले पनि ऋण तिर्नु विनयले ५ लाख रुपैयाँ । बालकोटको सहकारीबाट पनि ऋण लिएका छन्। उनले सहयोग भने मागेका छैनन्, छिट्फुट आउने सहयोग बाहेक आफ्नै खर्चमा चलेका छन् विनय। ‘सहयोग माग्न थालें भनेत पैसाका लागि गरेजस्तो ठान्लान् नि’, विनय भन्छन्, ‘बरु घर जग्गा सिध्याउँछु तर मागेर समाजसेवी बन्दिनँ।’

राज्यले गर्नु पर्ने दायीत्व विनयले गरिरहेका छन्। तर पनि राज्यसँग उनको कुनै गुनासो छैन। अस्पतालले पोष्टमार्टम गरिदिन्छ, प्रहरीले कागजात तयार गरिदिन्छ र विनयलाई लास जिम्मा लगाउँछ यसैमा खुशी छन्।

कतिदिन गर्ने त यो काम ?

यसको जवाफ विनयले सजिलै दिए, ‘जहिलेसम्म सक्छु त्यहिलेसम्म म गर्छु। कुनै न कुनै दिन त राज्यको आँखा पर्ला नि !’

तस्बिर : रविन आचार्य/देश सञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?