
भीम दासको पातलो जिउमा नाम जस्तो बलियो बल छ छैन कुन्नी, तर मन भने बलियो गरेर गाँठो पारेका छन् ।
आइतबार बेलुका अकश्मात आएको हावाहुरीमा आमा मतिसरी देवी र श्रीमती रुनालाई सदाका लागि गुमाए । सोमबार बेलुका भीमले पिता रामसुरतसँगै आमा र श्रीमतीको अन्तिम बिदाई गरे फेटा गाउँपालिका–१ भुलही गाउँ नजिकै रहेको दुधौरा नदी किरानामा । भीमले आमा र श्रीमतीलाई बिदा गरे ।
भीमका बुवा रामसुरतले जसोतसो मन थामेका छन् । विचल्ली भएको छ, भीमका एक वर्षका छोरा सन्जित र तीन वर्षकी छोरी सन्ध्याको । आमा र हजुरआमाको काख सदाका लागि गुमाएका सन्जित र सन्ध्याको शिरमा बात्सल्यको ओत दिने जिम्मेवारी अब भीमको भागमा आइपरेको छ सम्पूर्ण रुपले ।
मंगलबार बिहान मुख हरियो बाँसको टुक्राले दाँत सफा गर्दै गरेका भीमको काखमा थिए सन्जित । एक वर्षका सन्जितले दूध खान नपाएको तीन दिन भइसक्यो ।
उनलाई आमा रुनाको न्यास्रो लागेको छ । आँखाहरुले आमा र हजुरआमालाई खोजिरहेका छन्, तर उनीहरु अनन्तः यात्रामा लिन भएको शायदै थाहा पाएका होलान् सन्जितले ।
बुवाको काँधमा टाउको अड्याएका सन्जितले अब मातृबात्सल्य पाउने छैनन् । सन्ध्याको हालत पनि उस्तै छ । बुवाको काखमा बसेका सन्जितले त्यसैगरि आमाको बिदाई गरे ।
त्यो बिदाईको भयानक पीडा उनलाई अहिले थाहा छैन होला, तर उनका आँखाहरुमा आमाको अभाव स्पष्ट देखिन्छ । आमाको दूध चुसेर प्राणमा उर्जा सञ्चार गरेका सन्जितले बोतलबाट दूध खान त्यति चाख गरेका थिएनन् तर अब बोतलको दूध बाहेक अर्को विल्कप छैन र त्यो पाउन पनि मुस्किल छ ।
सन्जितको टाउको आफ्नो काँधमा अड्याएका भीमलाई भने आफ्नो टाउको अड्याउने ठाउँ छैन । उनी रुन सक्दैनन्, किनकी रुँदै गरेका लालाबालाको जिम्मेवारी छ ।
हुरीले क्षणभरमा घरमात्रै होइन परिवार नै उजाड बनाएको छ भीमको । सन्जित र सन्ध्याको मातृत्व खोसियो । सन्जित र सन्ध्या आमा खोज्दै रुन्छन्, भीमसँग उत्तर छैन, अवाक् छन् ।