अन्जनाको उद्यम कथा

जुत्ता उद्योगको कामदारदेखि ‘प्रेरणादायी महिला’को अवार्डसम्म…

जुत्ता उद्योगको कामदारदेखि ‘प्रेरणादायी महिला’को अवार्डसम्म…
+
-

काठमाडौं– बुवा अमर ताम्राकार पहिलेदेखिनै हस्तकला व्यवसाय गर्थे। आफ्नै उद्योगले धानेको थियो परिवार। अमरले गरेको व्यवसायले परिवारलाई पालेन मात्रै त्यतैतिर तान्दै लग्यो पनि।

कथा काठमाडौँको मरुटोलकी अन्जना ताम्राकारको हो। काठमाडौँको छाउनीमा अन्जनाले हाते कागज उद्योग सञ्चालनमा ल्याएको १३ वर्ष भयो। उद्योग सञ्जालनपछि अन्जनाको आयआर्जनमा मात्रै सहयोग पुगेन, परिचय नै फेरियो, एउटा महिला उद्यमीका रुपमा उनले सफलता हात पारिन्।

उमेरले ६० वर्ष लागेकी अन्जना काममा अहिले पनि उस्तै सक्रिय छिन्। आफू सानै छँदा बुवाले जुन मेहनत गरेको देखेकि थिइन्, त्यसले पनि उनलाई यो बाटोमा डोहोर्‍यायो। परिवारको जेठो सन्तान भएकाले उनलाई केही बढी दायित्व पनि थियो। अनि, परिवारको आर्थिक अवस्था पनि ठिकै मात्र थियो, जेनतेन चलेको थियो। उद्योगमा बुवासँगै खट्थिन अन्जना।

त्यो समयमा छोरीले पनि पढ्नुपर्छ भन्ने मान्यता कमै मात्र थियो। तर अमरले छोरीलाई पनि पढाइबाट बन्चित गराएका थिएनन्। ‘बुवा बुझ्ने भएकैले पढ्न पाएँ, परिवारले यसरी साथ नदिएको भए आज यो ठाउँमा हुने थिइनँ’, अन्जनाले भनिन्।

कान्ति ईश्वरी राज्यलक्ष्मी माध्यमिक विधालयबाट एसएलसी उत्तिर्ण भएपछि पनि उनको पढाइ रोकिएन। त्यसपछि उच्च शिक्षाका लागि भर्ना भइन्। ‘हाम्रो नेवार समुदायमा छोरीको विवाह छिटो गर्ने चलन छ, म १९ वर्षको हुँदा विवाहको कुरा चल्यो’, अन्जनाले सुनाइन्, ‘काठमाडौंकै रमेश ताम्राकारसँग मेरो विवाह भयो।’

विवाहपछिको दिनचर्या फरक हुने नै भयो। तर अरुले जस्तो घरधन्दामै सीमित अन्जनाले हुनु परेन । जेठी छोरी अन्जना अब कान्छी बुहारी भइन्। पहिले बुवाबाट पाएजस्तै सहयोग उनले ससुराबाट पनि पाइन्। अन्जनाको काममा सासु ससुराले सधैं साथ दिए, उनलाई हौसला मिलि नै रह्यो।

बिवाहपछि पनि निरन्तरता दिएको पढाइ उनले सन्तान जन्मिने बेलामा भने अघि बढाउन सकिनन्। तर पछि फेरि निरन्तरता दिइन्।
विवाह गरेको दुई वर्षपछि पहिलो र ५ वर्षपछि दोश्रो सन्तान जन्मिए। आमाको भूमिकाले विद्यार्थीको भूमिकाबाट टाढिएकी अन्जनाले पछि त्रिभुवन विश्वविधालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरिन्।

एकपछि अर्को गर्दै अन्जनाका पाइलाहरु अगाडि बढ्दै गए। स्नातकोत्तरपछि पनि अध्ययनलाई निरन्तरता दिइन्, त्यो पनि क्यानडाको सेन्ट जेभियन युनिभर्सिटीबाट। यहाँबाट कम्युनिटी ग्रयाजुयट गरिन् । यस्तै त्रिभुवन विश्वविधालयबाटै महिला अध्ययन (जेन्डर स्टडिज) पनि अध्ययन गरिन्। उनीहरु महिला अध्ययन गर्ने पहिलो ब्याच थिए।

जुत्ता उद्योगबाट सुरु भयो जागिर

२०४३ सालमा बाँसबारीको छाला तथा जुत्ता कारखानामा मार्केटिङ रिसर्च अफिसर भइन्। यो उद्योगमा काम गर्न थालेको ५ वर्षपछि उद्योग नै बन्द भयो।

छाला उद्योगको रोजगारी गुमेपछि उनले युनिसेफको प्रोजेक्ट अन्तरगत भक्तपुरमा संचालित क्राफ्ट पिन्टर्समा मार्केटिङ अफिसर भएर काम गर्ने अवसर पाइन्। यहाँ ५ वर्ष काम गर्दा उनलाई कमाइका हिसाबले मात्रै राम्रो भएन, यो उनको भविष्यको गोरेटो नै बन्यो। अहिले यही कारण उनलाई  सफल उद्योगीको बाटोमा डोहोर्‍यायो।

यहाँ काम गर्दैगर्दा उनले कागज उद्योगमा कसरी काम हुँदो रहेछ भन्ने सिक्ने मौका पाइन्। यहाँको जागिर नै उनलाई उद्योगी बनाउने सिँढी बन्यो।

२०५३ सालमा नेपाल घरेलु तथा साना उद्योग महासंघको महिला विभाग प्रमुख भइन्। महासंघमा काम गर्दा उनले श्रीलंका, स्वीडेन र इजरायलमा गएर तालिम लिने अवसर पाइन्। अमेरिका, जापान, बेलायत, मलेसिया, फिजी र फिलिपिन्समा पनि कार्यक्रममा सहभागी हुने मौका पाइन् । इजरायलमा लिएको तीन महिने हस्तकला सम्बन्धी तालिमले त उनलाई अब के गर्ने भन्ने बाटो नै देखाइदियो।

२०५४ सालमा ‘सृजनशील महिलाहरुको सृजना’ नामक संस्था स्थापना गरिन्। यो संस्था मार्फत गृहणी महिलाहरुलाई तालिम दिन सुरु गरिन्। तर त्यो समयमा महिलाहरुलाई बैठक, तालिमहरुमा भेला गर्न सहज थिएन। उनी महिलाहरु खोज्दै टोल–टोलमा तालिम दिन हिँड्थिन्।

अन्जनाले यसरी महिलाहरुलाई भेला गरेर तालिम दिएको गाउँलेहरुले त्यत्ति रुचाउँदैनथे। उनलाई ‘अर्काका छोरी–बुहारीको घर बिगार्ने आइमाई’ भनेर आरोप पनि लाग्यो। त्यस्ता आरोपलाई वास्तै नगरी अन्जना आफ्नो लक्ष्यमा दृढ भइन्।

अन्जनाले स्थानीय युवा क्लवहरुसँग सल्लाह गरेर काम गर्न थालिन्। स्थानीइलाई पनि साथमा लिएर काम गर्न थालेपछि उनलाई थप सहज भयो।

महिलाहरुलाई आत्मनिर्भर बनाउनकै लागि उनले आफ्नो अध्यक्षतामा ‘क्षमता विकास तथा क्रृण सहकारी संस्था’ स्थापना गरिन्। यो सहकारीले वचत गर्ने र आवश्यक पर्दा महिलाहरुलाई ऋण दिन थाल्यो।

सुरुमा एक जना महिलाले उद्यम गर्न बिनाधितो २० हजार रुपैयाँ पाउँथे। हाल एक हजारभन्दा बढी सदस्य रहेको यो सहकारीले ५० हजारका दरले बिनाधितो महिलाहरुलाई ऋण दिन थाल्यो। सहकारीबाट ऋण लाने महिलाहरुले पनि सानातिना व्यवसाय गर्न थाले। कसैले अचार, कसैले तितौरा, मस्यौरा उत्पादन गर्ने जस्ता साना व्यवसाय अँगाले। उनीहरुको उत्पादनलाई बजारसम्म पुर्‍याउन पनि अन्जनाले सहयोग गरिन्।

२०५८ सालमा ‘क्रियटिभ वुमन्स क्राफ्ट’ नामक संस्था दर्ता गरेर नेपाली हाते कागज तथा हस्तकलाको विकास विस्तार र बजारीकरण गर्ने तर्फ सक्रिय भइन्। उनी यो संस्थाकी प्रबन्ध निर्देशक पनि भइन्।

२०६२ सालमा नेपाली हाते कागज उद्योग स्थापना गरिन्। ५ लाखको लगानीमा सुरु गरेको उद्योगलाई विस्तार गर्दै लगिन्।

कागज उद्योगबाट उत्पादन सुरु हुन थाल्यो। तर बजार सहज थिएन। अन्जना आफैँ कागजका पोका लिएर ठमेलका गल्ली–गल्लीमा डुलाउँथिन् बेच्नलाई। यसरी बजारमा जाँदा उनलाई कतिपयले खिल्ली उडाए। उद्योगमा चाहिने कच्चा पदार्थ लिन बिहान ४ बजे थानकोट जान्थिन्।

छन त उनको उद्योगमा अरु चार जना कर्मचारी पनि थिए । तर उनीपनि सँगै खट्थिन्। चार जना कर्मचारीबाट सुरु गरेको उद्योगमा उत्पादनसँगै कर्मचारी पनि थप्दै लगिन् । उनको उद्योगमा काम गर्ने कर्मचारी महिला मात्रै छन्। उद्योगमा मासिक २० लाख रुपैयाँको कारोबार हुने अन्जनाले सुनाइन्।

अहिले १० जना पुरा समय र १५ जना पिस रेटमा (कामको आधारमा पैसा पाउने) काम गरिरहेका छन्। यही काम गर्दा अन्जनाले २०६५ सालमा ‘सफल महिला उद्यमी’को सम्मान पाइन् भने ‘प्रेरणादायी महिला’बाट पनि सम्मानित भइन्।

३२ वर्ष पहिले जुत्ता उद्योगबाट जागिर सुरु गरेकी अन्जनाले राष्ट्रले सम्मान गर्ने उद्यमीको परिचय बनाइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?