
बुटवल–रुपन्देहीको बेलहिया नाका (भैरहवा) हुँदै पछिल्लो ३ महिनामा ६६ हजार ६ सय ९२ पर्यटक नेपाल भ्रमणमा आएका छन्।
संख्याको आधारमा पर्यटक आगमन विगतको वर्षको ३ महिनामाभन्दा अहिले २ हजार ३ सय ६४ जना बढी हुन्।
बेलहिया स्थित अध्यागमन कार्यालयका अनुसार सन् २०१८को पहिलो तिन महिनामा कुल ६४ हजार ३ सय २८ पर्यटक आएकोमा यस पटक बढेका हुन्।
जनवरी र फेबु्रअरीमा पर्यटक आगमन बढे पनि मार्चमा भने १ हजार १ सय ७९ जना कम छन् ।
यो वर्षको जनवरीमा १२ हजार ४ सय ५२ र फेब्रुअरीमा २५ हजार ४ सय ५९ बिदेशी पर्यटक नेपाल प्रबेश गरेको अध्यागम अधिकृत गिरिराज खनालले बताए ।
सन २०१८ को जनवरीमा १२ हजार ९ सय ९६, फेब्रुअरीमा २१ हजार ३ सय ७२ र मार्चमा २९ हजार ९ सय ६० पर्यटक आएका थिए । यो वर्षको मार्चमा पर्यटक आगमन संख्या घटेपनि समग्रमा भने पर्यटक आगमन वृद्धि भएको छ ।३ महिनामा सबैभन्दा बढी श्रीलंकनहरु १८ हजार ५ सय ७२ जना आएका छन् ।
त्यसै गरी बर्मा (म्यान्मार)बाट १६ हजार ३ सय ३५, थाईल्याण्डका १५ हजार ८ सय ४१, दक्षिण कोरीयाका २७ सय ११, चीनका २२ सय ८२, भियतनामका २१ सय ७२ लगायत विभिन्न १सय २० देशका पर्यटक आएका छन् । यो नाका हुदै भ्रमणमा आउने पर्यटकहरुको मुख्य गन्तब्य बुद्धजन्मस्थल लुम्बिनी हो ।
त्यसपछि काठमाण्डौ, चितवन, पोखरा, मुस्ताङ, मनाङ लगायतका पर्यटकीय गन्तव्यमा जाने गरेका छन् ।
बुद्धिष्ट मुलुकबाट आउने पर्यटकहरु प्रायः लुम्बिनी भ्रमण गरेर फिर्ता जाने गरेका छन् भने अन्य देशका युरोपियन, पूर्वी एशिया लगायतका मुलुकका पर्यटकहरु लुम्बिनी सहित अन्य पर्यटकिय क्षेत्रमा जाने लुम्बिनीका पर्यटन व्यवसायी तथा सिद्धार्थ होटल एशोसियसन लुम्बिनी नेपालका उपाध्यक्ष मिथुनमान श्रेष्ठले बताए । श्रेष्ठका अनुसार तेश्रो मुलुकका पर्यटकसंगै भारतिय पर्यटकको संख्या पनि बढेको छ ।
यो नाका हुँदै आउने भारतीय पर्यटकहरु पोखरा, मुक्तिनाथ, काठमाडौ जान्छन् भने थोरै संख्या मात्रै लुम्बिनी जाने गरेका छन् ।
केही भारतीयहरु नजिकका शहर पाल्पाको तानसेन सम्म गएर रात बिताई फर्कने गर्छन् । गर्मी समयमा धेरै भारतिय पर्यटक गर्मी छल्न नेपालको पहाडी जिल्लामा आउने गरेको र नजिकैका शहरहरु गोरखपुर, लखनउ, बनारस, कानपुरबाट बढी आउने गरेको नाट्टा प्रदेश ५का उपाध्यक्ष सञ्जय बजिमयले बताए।