
पोखरा – फ्रान्सबाट एक्लै घुम्न निस्केकी २१ वर्षीया लुसिया अन्नपूर्ण ट्रेकबाट फर्कँदै गर्दा भेटिइन् ।
कास्कीको घान्द्रुकबाट पोखरासम्मका लागि बसमा सहयात्री बनेकी उनीबारे जान्ने इच्छा जाग्यो र सामान्य परिचय पछि सोधिहाँले ।
‘कस्तो लाग्यो नेपाल ?’ पहिलो पटक दक्षिण एसिया भूमिका पाइला टेकेकी लुसियाको मन अमिलो भयो रे !
कारण उनी दिल्ली अवतरण गरिन् । प्रदुषणले उनको मगज हल्लियो । कसरी २ महिनाको बसाई सम्भव होला । कुराकानीकै क्रममा खुलाइन् ।
महेन्द्रनगर गड्डा चौकी हुँदै जब–जब नेपाल प्रवेश भयो उनलाई आफ्नी आमाले भनेजस्तै लाग्यो नेपाल ।
लुसिया आमाकै सिफारिसमा नेपाल घुम्न निस्केकी । पोखरा र आसपासका क्षेत्रबारे आमाले राम्रो जानकारी राखेकै कारण उनकै सल्लाहमा यहाँसम्म आँटेकी ।
गाउँका कन्दरासम्म पुग्दा उनलाई एक्लोपनाले नसताएको बताइन् । हँसिला अनुहारले दश औंला जोडेर स्वागत गर्ने तौरले सम्मान पाएको महसुस भएको सुनाइन् ।
७ दिने अन्नपूर्ण ट्रेकिङबाट थकित भएर फर्केकी लुसिया अबको केही दिन लुम्बिनी क्षेत्रमा रहने उनको योजना छ ।
छुट्ने बेलामै सोधेँ, ‘सम्झन लायक पोखरामा के लाग्यो ?’ हात हल्लाउँदै उनी एक शब्दमा सुनिइन्, ‘गुड नेचर’ ।
नयाँ वर्षको छेको पारेर ललितपुरबाट पोखरा आइपुगेका प्रकाश कायस्थ लेकसाइडमा टहलिँदै थिए ।
कायस्थका लागि पोखरा अझ् भनौँ लेकसाइड खास ठाउँ हो । ‘साँझपख बरालिन मन पर्छ,’ उनी सुनिए ।
कतिऔँ पटकको पोखरा भ्रमण थियो यकिन छैन । पोखराले लोभ्याइरहन्छ । ‘रिफ्रेसमेन्टको बहानामा पोखरा आइरहन्छु’, उनले थपे ।
हिमाल, पहाड र तालले मितेरी गाँसेजस्तो । चाँदी ओछ्याएको माछापुच्छ्रे फेवा माथि डुंगामा तर्दै गर्दा पानीमा हात डुबाएर छोए झैं लाउने । सौम्य फेवामाथि दिनभरी डुंगामा तैरिन वाउ ! पोखरा घुम्नेकै लागि मल्टिपल जोन हो ।
विदेशी तथा स्वदेशी पर्यटकले भरमार पोखरा सधैँ सबैका यसरकारण पनि खास छ । यहाँ भेटिने अधिकांश पर्यटकका लागि नौलो शहर होइन । एक बसाईमै धित मार्दैन ।
फरकफरक समयमा पोखराबाहिरबाट आइरहने पर्यटकले रम्ने बहाना पाइरहन्छन । अंग्रेजी नयाँ वर्षमा ‘स्ट्रिट फेस्टिबल’ मनाएको पोखराले नेपाली नयाँ वर्षमा फेवा किनारमै फेरि उत्सव मनाइरहेको छ ।
अंग्रेजी नयाँ वर्षमा खुट्टो टेक्न हम्मे पर्छ । नेपाली नयाँ वर्षमा पनि अधिकांश होटलमा कोठा पाउन मुश्किल छ ।
छोटो बसाई नै किन नहुन् पोखरा आएर नयाँ वर्ष मनाउने कल्चर बसिसकेको छ । पर्यटक बोलाउने बहानामा पनि यहाँ सक्रिय पर्यटन सम्बद्ध अर्गनाइजरले इभेन्ट मार्फत निम्तो बाँडिरहन्छन् ।
बिदा पारेर होस् वा यस्ता चाडबाडको अवसरमा पोखरा आउने चलन नै बसिसकेको बताउँछन् रेष्टुरेन्ट एण्ड बार एसोसियसन (रेवान) पोखराका महासचिव एवं होटल स्नोल्यान्डका सञ्चालक गणेशबहादुर थापा ।
उनी भन्छन्, ‘नेपालीहरु परिष्कृत हुँदै छन् । जीवनशैलीमा परिवर्तन देखाउन पनि घुम्नुपर्छ भन्ने बोध भएको छ ।’
पोखरेली पर्यटनसँग ४ वर्षदेखि परिचिति थापाको अनुभवमा पोखरामा पर्यटक आउने मुख्य कारण नै यहाँको प्राकृतिक सौन्दर्यता भएको बुझाई छ ।
‘पोखरा नाम सुन्नासाथ जो कोही सोच्न थाल्छ, नेचुरल भ्यु’, उनी थप्छन्, ‘पर्यटकप्रति हुने आतिथ्यबाट परेको सकारात्मक मानसपटलले पनि यहाँको पर्यटन चलेको छ ।’
उनको होटलमा मात्रै पनि नयाँ वर्ष लक्षित गरेर पोखरा घुम्न आउने पाहुनाको बुकिङ्ग अधिक छ ।
सिजनमा मात्रै होटल अकुपेन्सी हाई हुने नत्र सुक्का लाग्ने स्थिती देखिहाल्ने पोखराको पर्यटन क्षेत्रमा नयाँ वर्षमा हुने गतिविधिले समेत राम्रै भरथेग गरेको उनको भनाई छ ।
तर, जति पर्यटकले एक्सपेक्ट गरिरहेका हुन्छन् सोही मात्रामा इभेन्ट दिन नसकिएको उनी स्वीर्काछन् ।
पोखरा भित्रिने सहज सडकमार्गका कारण पनि यहाँको पर्यटन क्षेत्र निराशाजनक भने छैन् ।
पृथ्वीराजमार्ग र सिद्धार्थराजमार्ग हुँदै आउने पर्यटकले पोखरा आगमनमा समस्या नरहँदा पनि पोखरा सधैं पर्यटनको केन्द्रमा रहेको यहाँका जानकारहरुको स्वीकारोक्ति छ ।
सन् १९६० देखि हिप्पीहरुको आगमनले चहलपहल बढेको पोखरामा त्यसको झण्डै २ दशक पछि मात्रै व्यवस्थित पर्यटनको सुरुवात भएको बताइन्छ ।
बाह्रैमास उधुम नभए पनि निख्लो छैन् ।
इन्टरटेन्ट पस्कन रेष्टुरेन्ट, बार, लाइभ पप बार, डिस्को लगायत हरेक साँझ गुलजार देखिन्छन् ।
स्वदेशी अनुहार कै भरमार छ । खर्च गर्ने कल्चर विकास भएकोले पनि नेपालीले नै अधिकांश रेष्टुरेन्टको विजनेश धानेका छन् ।
आन्तरिक पर्यटकलाई नै लक्षित गरेर नयाँ वर्षको अवसरमा पश्चिमाञ्चल होटल संघले सोह्रौ संस्करणको फेवा नव वर्ष महोत्सव गएको २९ गतेदेखि १ गतेसम्मका लागि आयोजना गरिरहेको छ ।
संघका अध्यक्ष विकल तुलाचनका अनुसार यसै अवसरमा ४ प्रकारका प्याकेज सार्वजनिक गरिएको छ ।
‘धुमधाम, शैक्षिक भ्रमण तथा हनिमुन दुई थरी प्याकेज छन् । वैशाख पहिलो सातासम्म संघका सदस्यता लिएका होटलहरुले सो प्याकेज उपलब्ध गराउने अध्यक्ष तुलाचनले जानकारी दिए ।
विद्यार्थीहरुको स्कुल कलेज बिदा हुने समय पारेर शैक्षिक भ्रमण प्याकेजले विद्यार्थीलाई सिकाई अध्ययनमा प्रेरित गर्न सघाउ पुग्ने विश्वास लिएको उनले बताए ।
खेल पर्यटन
नेचर, कल्चर र एड्भन्चरको फुल प्याकेज पोखरामा सम्भव छ । त्यसकारण पनि स्पोर्टस टुरिजमको रुपमा पोखरालाई विकास गर्नुपर्ने आवाज सुनिरहन्छन् ।
अन्तर्राष्ट्रिय स्तरका प्याराग्लाइडिङ प्रतिष्पर्धा पोखराले सम्पन्न गरिसकेको छ । विभिन्न मुलुकमा सयौं ग्लाइडरहरु अन्य समयमा पनि पोखरेली आकाशमा उड्नकै लागि भनेर आउने गरेको नेपाल हवाई खेलकुद संस्था जनाउँछ ।
प्रदेश ५ मा आयोजित आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत दुई खेल पोखरामा आयोजना हुँदैछन् । प्याराग्लाइडिङ्ग खेल प्रतियोगिताका लागि कुल ५५ खेलाडी पोखरा आउने छन् ।
ट्रायथलन खेल पोखरा बाहेक अन्यत्र सम्भव नभएकाले उक्त खेल यहाँ आयोजना हुनेछ । कुल ४७ खेलाडी भाग लिनेछन् ।
फुटबलको शहर भनेर चिनिने पोखरामा निरन्तर आयोजना भइरहने आहा रारा गोल्ड, मनकामना केबलकार कप प्रतियोगिताले ब्रान्डिङ गरेको छ ।
पोखरा प्रिमियर लिग पिपिएलको आयोजनाले क्रिकेट खेलका लागि उपयुक्त छ भन्ने बुझायो । विदेशी खेलाडी सहितको सहभागितमा सम्पन्न यस्ता खेलहरुले सकारात्मक सन्देश प्रसारित गरिरहेको यस सम्बद्ध जानकार बताउँछन् ।
पोखरा रंगशाला स्थित क्रिकेट खेल मैदान र माछापुच्छ«ेको आकृति सहितको तस्बिर सामाजिक सञ्जालमा अत्यधिक रुचाइएको थियो ।
स्तरोन्नती र खेल पर्यटन प्रबद्र्धनका लागि सबै तहका सरकारले चासोसहित विभिन्न योजना सार्वजनिक गरिरहने होड जस्तै चलेको छ ।
पोखरालाई साहसिक खेल पर्यटनको हब भनेर चिनाउने प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जी जप, जिप लाइनर, क्यानोनिङ अद्वितीय मानक हुन् । जुन खेलमा अधिकांश विदेशीको पहुँच छ ।
ट्रान्जिट पोइन्ट
प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ पुग्न पोखरा आउनुपर्ने हुन्छ । मुक्तिनाथमा पितृ श्राद्ध जस्ता कार्यका लागि पुग्ने भारतीय सहितका अन्य स्थानबाट आउने धार्मिक पर्यटकले पोखरा एक साँझ बिताउँछन् ।
सोह्र श्राद्धमा धार्मिक उद्देश्य लिएर पुग्ने पर्यटक आगमनको पहिलो प्रभाव पोखरामा पर्ने गरेको पाइन्छ ।
सडक मार्ग हुँदै मुक्तिनाथ जाने व्यक्तिहरुले पोखरा बस्ने योजना बनाएका हुन्छन् । हवाई मार्ग हुँदै आउने धार्मिक पर्यटकले पनि जुनै हालतमा पोखरा ट्रान्जिट स्वरुप भए पनि अडिनुपर्ने हुन्छ ।
म्याग्दीको तातोपानी कुण्डमा उपचार गराउन चाहनेले पनि पोखरा प्रवेश बिना सम्भव बन्दैन् । बागलुङ्ग कालिका सहित गलेश्वर धाम लगायत थुप्रै यस्ता धार्मिक पर्यटकीय क्षेत्रमा भारतीय नागरिकहरु पुग्नेछ गर्छन् ।
हिमाली जिल्लामा भएका अन्य धार्मिक तथा पर्यटकीय गन्तव्यसम्म पुग्नका लागि पनि पोखरा आइरहँदा पर्यटकको चलायमानकै कारण ट्रान्जिटको रुपमा विकास भइरहेको छ ।
विश्वचर्चित अन्नपूर्ण पदमार्ग सहितका अन्य हिमश्रृखंला आपसपासका ट्रेकिङका लागि पोखराबाट यात्रा थालिने भएकाले यहाँको बसाई पर्यटकका लागि अनिवार्य जस्तै बनेको छ ।
राजधानीसँग सडक सम्बन्धका लागि बागलुङ, पर्वत, म्याग्दी, स्याङ्जा र मुस्ताङ जोमसोमसम्मको यत्राामा सहज आउजाउको माध्यम पोखरा हो ।
यिनै आधारहरुलाई लक्ष्यमा राखेर गण्डकी प्रदेश सकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षको रुपमा मनाइरहेको छ । १० लाख आन्तरिक पर्यटक गण्डकी प्रदेशमा भित्र्याउने लक्ष्य छ ।
शनिबार मात्रै नेपाल भ्रमण वर्ष सन् २०२० को औपचारिक शुभारम्भ पोखराबाट नै भएको छ । २० लाख पर्यटक भिœयाने लक्ष्य सहित सार्वजनिक गरिएको सरकारको योजनालाई सफल बनाउन पोखरेली पर्यटन व्यवसायी र सम्रग प्रदेशले दायित्व निर्वाह गर्ने प्रतिबद्धता जनाइएको छ ।
२ वर्ष पछि अर्थात सन् २०२२ मा प्रदेशले २२ लाख पर्यटक गण्डकीमा भित्र्याउने महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको छ । जसको आधार पोखरालाई बनाइएको छ ।