
तिमी भन्थ्यौ- म सुन्थेँ, मेरो बाल्यकालको कथा
मलाई खुसी मात्र दिएछौ, आफूले लिएछौ व्यथैव्यथा
मेरा खुसीहरुका लागि, तिम्रो कत्रो त्याग छ
मेरा हर पाइलामा, तिम्रो ठूलो साथ छ।
म पहिलोपटक टक्क उभिँदा, तिमी पो दरिली भएथ्यौ रे
मैले बामे सर्दै गर्दा, तिमी आफू नै संसार घुमेको कल्पना गर्थ्यौ रे
मेरो तोते बोलीमै, तिमी विख्यात प्रवचनहरु सुन्थ्यौ रे
जब म तिम्रो हात समाई हिँड्ने भएँ, मलाई घण्टाघर, चिडियाखाना, धरहरा घुमायौ रे।
मलाइ ज्यादै रहर छ आमा,
तिमीलाई डोर्याउँदै ग्रेटवाल, आइफिल टावर, बोन्डी बिच घुमाउने
मुजा परेका तिम्रा गाला, तिम्रै निर्दोष खुसीहरुले तनक्क तन्काउने।
तिमीलाई सम्झन्छु आमा,
बतास चल्दा म तिमीलाई सम्झन्छु, सिरेटोले तिम्लाई नछोओस् भनी
घाम लाग्दा म तिमीलाई सम्झन्छु, न्यानोमा तिमी आनन्दित भयौ भनी
झरी पर्दा म तिमीलाई सम्झन्छु, तिम्रा पछ्यौरी नरुझून् भनी
बादल लाग्दा म तिमीलाई सम्झन्छु, तिम्रा खुसी नफाटून् भनी।
म खुसी हुँदा तिमी धपक्क बल्छ्यौ
म दुःखी हुँदा मलाई ढाडस नै दिन्छ्यौ
आमा,
म खुसी हुँदा तिमीलाई सम्झन्छु
म दुःखी हुँदा तिमीलाइ सम्झन्छु!