
मन भङ्गारिएको बेला के गर्ने कसो गर्ने सुर हुँदैन। आपतकाे पहाडले यसरी किच्छ की त्यसबाट उम्कनलाई शून्य सम्भावना देखिन्छ। हुन त दशा पनि कहाँ बाजा बजाएर आउँछ र ?
बर्दियाकी शोभा बिसी घर गृहस्थी सम्हालेर बसेकी थिइन्। आफू २१ की थिइन्, छोरी तीन वर्षकी। श्रीमान् शैनिकमा जागिरे थिए। महिनै पिच्छे श्रीमानकाे तलबले घरमा अनि शोभाको मनमा खुशी भरेको थियो। छोरीका लागि धेरै सपना थिए, पढाउँला, लेखाउँला अनि ठूलो मान्छे बनाउला। बुढा बुढि जीवनभर साथ निभाउँला, तर सुकिला सपना एक्कासी बाढीले बगायो।
माओवादी द्वन्द्व चलिरको थियो। देशका लागि लड्न गएका उनका श्रीमानले वीरगति प्राप्त गरे। अनि शोभामाथि बज्रपात भयो। आफ्ना ‘आफ्ना’ भएनन्। छोरी जस्तै माया गर्ने सासुको व्यवहार फेरियो। आफ्नै जस्तो लाग्ने छरछिमेक दुस्मन शरह भए। रंगीन संसारको रंग क्षणभरमै उडेर फुङ्ग भयो। बसन्त जस्तो जीवन सुख्खा अनि उराठलाग्दो शिशिर भयो। उनलाई ठूलो पहाड त्यतिबेला किच्यो जतिबेला उनले ‘पोइ टोकुवा’ को आरोप खेप्नुपर्यो। ‘मन असाध्यै पिरो भयो, घाउँमा ज्यानमारा खुर्सानी दलेजस्तै।’ शोभाले भनिन्, ‘किरिया कर्म सकिएपछि सबै आ-आफ्ना घर गए। अब बिचरा भन्ने भन्दा पनि पोई टोकुवा भनेर व्यवहार गर्न थाले। मलाई घर बाहिर निस्कन डर लाग्न थाल्यो।’
कहिलेकाँहि गर्दै नगरेको गरेको गल्तिले पनि थिलो थिलो पार्छ। सजाय भोग्नुपर्छ, समाजको लाल्छना, हेला अनि तिरस्कारको शिकार हुनुपर्छ । उनीहरुलाई समाजले ‘विधवा’ हुनु गल्ति भनिदिन्छ अनि त्यसैलाई अलछिना भनेर प्रमाणित गर्न लागि पर्छ। यस्तै बेला हो मान्छेले आफूसँग हुने रंग आफूलाई दिने साथको हिसाब किताब निकाल्न थाल्छ। आफ्नो अस्तित्वको मूल्य सोच्न बाध्य पार्छ। नियतिले पारिल्याएको हो की लेखान्तरमा विश्वास गर्ने।
बारम्बार शोभाले आफ्नो भाग्यलाई सराप्न थालिन्, ‘मैले कसैको कुभलो गरेको थिइन। मलाई के आइलाग्यो ?’ एक त जीवनभर साथ दिने साथी गुमाउने अनि लाच्छना पनि सहनुपर्ने । ‘पोइल जान्छे, मेरो छोरा खाइस्’ के के के के। दिमागले थेग्न नसक्ला जस्तो भएको थियो, जीवन सकाउ जस्तो नलागेको पनि होइन तर सानी छोरीको अनुहार झलझलि अनुहारमा नाँच्न थाले । अहँ सकिनन्।
एकातिर गाइबस्तु अनि अर्कोतर्फ भान्छा भएको गोठ उनको लागि जेल बनेको थियो। माओवादी द्वन्द्वमा श्रीमान् मारिएकोले पनि उनिमाथि धेरै सोधिखोजी हुन्थे। उनलाई असुरक्षा महशुस हुन्थ्यो। समय यति बिग्रियो की राम्रो सोच्नेहरुप्रति पनि नकारात्कम सोच आउन थालेको थियो।
‘एक दिन घरमा पत्रकार आए, सोधिखोजी गर्न थाले। कोल्ले पठाको भनेर सोधेँ, लिली थापाले खबर गरेको भने’, शोभाले भनिन्, ‘मलाई मार्न पठाएको हो ? होइन भने उनी आफै किन आइनन् ?’
त्यसपछि उनको भेट लिली थापासँग भयो।
समयले कोल्टे फेर्छ, घाउमा खाटा लाग्छन्। पात झारेर नाङ्गा भएका रुखले पालुवा हाल्छन्। बदिर्याबाट उनको उद्धार भयो। ‘मानव अधिकारको लागि महिला एकल महिला समुह’ मा आवद्ध भइन्। उनमा ‘कन्फिडेन्स आयो’ नेतृत्व क्षमताको विकास भयो। बाँके जिल्लाको संस्थापक अध्यक्ष भएकी छन् । समय फेरिएको छ तर उलाई आफ्नो अतीतले त्यही गोठमा लगेर पछार्छ । गह भरिन्छन् त्यसपछि आँशु खस्छ टपक्क।
तर आँशु शक्तिमा बदलियो। यो घटनाले उनको आवाज दरो भएको छ अनि आफूजस्तै दिदी बहिनीको हितमा काम गर्ने जाँगर भरेको छ।
शोभाले आफ्नो अतितका पाना हात्तिगौडाको ‘छहारी’ भवनमा बसेर पल्टाएकी हुन्। जहाँ उनीजस्तै धेरै एकल महिलाहरु बस्छन्। छहारी मन पोलेका एकल महिलाको शितल चौतारी हो, यहाँ आएर उनीहरु आत्मनिर्भर हुने बाटो खोज्छन्।
यसरी समाजमा विधुवा भएकै कारण अपहेलित भएका महिलाहरुको उद्धार र सहयोगका लागि मानव अधिकारको लागि महिला एकल महिला समूह’ को स्थापना भएको थियो। २५ वर्ष अगाडि समूहकी संस्थापक अध्यक्ष लिली थापाले यो संस्थाको स्थापना गरेकी हुन्।
नेपालको ७७ वटै जिल्लामा आफ्नो एकाई खोलेको यो संस्थाले अमेरिका र अष्ट्रेलियामा पनि आफ्नो संस्था स्थापना गरेको छ।
काठमाडौँ हात्तिगौडामा भारत सरकारको सहयोगमा निर्माण भएको भवनको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारीले शनिबार गर्दैछिन्। यो संस्थामा नेपालभरका एकलाखभन्दा धेरै महिला सदस्य छन्।