परिस्थितिले कठोर बनाएपछि...

उसको मृत्युको खबर सुन्दा लाग्यो, ‘ठीकै भयो!’

उसको मृत्युको खबर सुन्दा लाग्यो, ‘ठीकै भयो!’
+
-

‘ध्यान दिएर सुन, तिम्रो श्रीमानले संसार छोडे, अब अझै ख्याल गर्नु ।’

फोनमा यति आवाज सुनेपछि म भावसून्य हुनुपर्ने हो, या त भावविह्ल भएर सम्हालिनसक्नु गरी कोकोहोलो गर्नु पर्ने थियो शायद। जीवन र जीवन पनि, सुख या दुःखमा पनि सँगै हुन्छु भनेर आफ्ना सबै नातासम्बन्धहरु छोडेर उसैसँग हिँडेकी मलाई तरबारले काटेको, वाणले रोपेको जस्तै पीडा हुनुपर्ने हो, तर भएन। अहँ हुँदै भएन। मैले संसारमा छोरा जन्माउनु भन्दा अगाडि सबैभन्दा माया गरेको मान्छेले संसार छोड्दा मैले ‘ठीकै भयो’ भन्ने दिन आए।

‘उ’ प्रति मेरो यो संवेदना यसरी थाहा पाउने जतिले मलाई भन्लान, ‘कस्तो ढुंगाको मन भएकी ‘आइमाई’ रैछ, कस्तो पाप सोचेकी होला, यसले पनि मर्नु पर्छ।’ नसोचुन पनि किन, बाटोमा मरेको कुकुर देख्यो भने त ‘च्व,च्व’ ‘कठै बरा’ भन्न आउँछ। शायद ‘त्यो’ बेलामा उसलाई केही भएको भए म पनि प्रेम वियोगी भएर उसकै नाममा मर्न तयार हुन्थे होला, तर परिस्थितीले मलाई उसको देहान्तमा ‘च्व च्व’ गर्ने सुझ समेत दिएन।

त्यसपछि म घोत्लिन थाल्छु, किन ? २६ वर्ष अगाडि पुग्छु जतिबेलमा मैले उसलाई पहिलो पल्ट देखेकी थिएँ। अनि क्रमैसँग एक एक गरी दृश्य आँखामा नाच्न थाल्छ, उसले कसरी मेरो जीवनलाई मैलाउँदै गयो।

मेरो घरको छेवैमा उसको पसल थियो। कुखुराको दाना बेच्ने। मलाई काम त पर्ने थिएन त्यहाँ जाने तर घरको अगाडि नै पसल भएर मैले उसलाई खुब ख्याल गरेकी थिएँ। एसएलसी सकिएको थियो। किन किन उ मलाई सारै मन पर्न थाल्यो। त्यो मेरो मात्र भाव थिएन, उसले पनि मलाई आफ्नो मनमा राखेको सुनायो। हामी सुन्दर सपना बुन्न थाल्यौँ। सँगैभएको, हाम्रो घर, हाम्रा बालबच्चा र कपाल फुलुन्जेलसम्म हातमाहात थामिराख्ने कसम खायौँ।

मैले उसको पसलमा आफू उसको सहयोगी भएको सपना बुन्न थाल्ने। उसले मलाई उसको लागि घरबाट टिफिन बट्टामा खाना बोकेर ल्याएको देख्न थाल्यो। हामीलाई अब यो सपना विपनामा परिणत गर्नु थियो। मेरो एसएलसी भन्दा अगाडि पढेर आत्मनिर्भर हुने योजना भन्दा उसको काँध बलियो लाग्यो। मलाई त्यतिबेला हाम्रो जातको पनि मतलब भएन। उ र म हामी हुने निर्णय सहित विवाह गर्‍यौँ।

कति सुन्दर थियो त्यो पल, मैले सोचे म त संसारकै भाग्यमानी केटी। घरमा एक्ली छोरी भएर माया पाएकी मैले वास्तविक खुशी अहिले पाएँ। घरमा सानिमा सासुले पनि छोरीको जस्तै व्यवहार गर्थिन्, छोरी पनि त थिएनन्। तीन देवरहरु साथी र भाइ भए। मलाई मेरो भाइको झल्को मेटिन्थ्यो। अब मेरा सन्तान भएपछि यो घरमा कति माया पाउलान्। तर सुख धेरै दिन टिक्नै पाएन।

विवाहको दुई चार महिनामा नै उ रक्सीको नसामा मस्त हुन थाल्यो। रक्सी खानबाट मैले रोक्न सक्ने थिइन, त्यहाँ ‘जातैले पाको’ भनिन्थ्यो। मातेको झोकमा उसले मलाई पिट्न थाल्यो, घरमा छोरीको व्यवहार पाउने म बिस्तारै पराई हुन थालेँ। उसको चालढाल अझै बद्लिन थाल्यो, दिउँसै झुल्ने राति झुल्ने, मैले बिस्तारै थाहा पाएँ, उ लागुऔषधको कुलतमा फसिसकेको रहेछ।

म छाँगाबाट खसेँ, मेरा सारा सपना झ¥याम्म फुटे, टुक्रा टुक्रा भए। म उसँग पौठाजोरी गर्न सक्ने अवस्थामा थिइन। बाबु पेटमा आइसकेको थियो। अब मैले उसलाई सुधार्न नै पर्छ भन्ने भयो।

मलाई थाहा छैन यो समाजले बलियो र कमजोर के को आधारमा निर्धारण गर्छ। विवाह गरेर आउँदा सबैकी प्यारी भएकी म एकाएक सबैले खिस्सी गर्ने विषय बनेकी थिएँ। कलधारामा मलाई पालो दिन छाडे। हुँदा हुँदा सासुले पनि मलाई अर्कै व्यवहार गर्न थालिन्। म अचम्ममा पर्थे ‘मैले के बिराए हँ?’

हुन त ओराली लागेको मृगलाई बाछाले पनि खेद्छ। ठीकै छ, के नै बिग्रिएको छ र ? भनेर मैले श्रीमानलाई सुधार केन्द्र पठाएँ।

सासुले सम्पत्ति बाहेकका कुरामा हामीलाई अलग्याइदिनु भएको थियो। एउटै घर फरक भान्छा। धारामा पानी लिन गयो पालो नदिने, कपडा राख्यो हुत्ताइदिने, नुहाउन गयो आफै नुहाएर बस्दिने, यो त्यो के के। मैले सोचे म एक्लीलाई यस्तो व्यवहार गरे, अब उ ठीक भएर आएपछि सबै ठीक हुन्छ। छोरा माइतीमा राखेकी थिएँ। उसको टेन्सन खासै लिनु पर्ने थिएन।

उ ठीक भएर आयो।

सासुको व्यवहार अझै कडा हुन थाल्यो। मैले उसलाई मनाएँ–अब हामी मेरो माइतीमा नै बसौँ, केही इलम गरौँ। उसले मान्यो। जीवन एउटा ग्राफमा हिँड्न लागेको थियो। मनमनै सोचे ‘अब सबले गर्ने व्यवहार फेरिन्छ, किनकी उ फेरियो।’ उसको उपस्थिति मेरा लागि सुरक्षा भएको थियो।

बाबाले उसलाई क्यासेट सिडी भाडामा दिने पसल राखिदिनुभयो, टेलिभिजन पनि थियो। मैले मेरो शोखको पेशा, सिलाई बुनाई गर्न थाले। पसलमा कस्मेटिकको सामान पनि बेच्न थालेँ। हामी दुवै कमाउने भयौँ। छोराको उज्जव भविष्य हुने भयो मेरो सुखका दिन फिरे जस्तै लागेको थियो तर त्यो त चिसो पुसमा झुलुक्क देखा परेको घाम रहेछ। थाहा पाएँ, उसले फेरि लागुऔषध प्रयोग गर्न थाल्यो।

यसपछि मलाई कहिल्यै लाग्न नै पाएन ‘मेरो जीवन सुखी हुन्छ।’

माइतीमा बस्ने म, उ आएर हामी सबलाई तथानाम भन्थ्यो, जे मनमा आयो त्यही गथ्र्यो। छोराप्रति कहिल्यै उसले जिम्मेवारी देखाएन। आफ्नै दुनियामा रमाएर हिँड्न थाल्यो। सिडी पसल पनि बन्द भयो। उ मेरो टेलरमा पनि आउन थाल्यो। मेरा ग्राहक उसलाई देखेर भड्कन थाले। बिस्तारै बिस्तारै संगेलेका सबै खुशी ध्वस्त हुँदै गए । मैले केही जुक्ति लगाउन सकेकी थिइन। हार मान्न पनि सक्दिनथे, किनकी छोरा थियो।
उसले व्यवहारले मेरो सहनशीलता नासिसकेको थियो।

एकदिन उ मातेर घर आयो, मैले गाली गरेँ, मेरो परिवारले पनि गाली गरे। उसलाई चित्त परेन। फूपुको घर जान्छु भनेर हिँड्यो, त्यसपछि बेपत्ता। मैले यता–कता जहाँसम्म सक्छु खोजेँ। फूपुको घर जान हिँडेको मान्छे भारत पुगेछ।

सँगै हुँदा दिएको ‘टचर’ अब नयाँ तरिकाले पाउन थालेँ, मलाई भारतका विभिन्न नम्बरबाट फोन आउँथ्यो। तँ यस्ती–उस्ती तेरो परिवार यस्तो।’ मैले खोज्दा नभेट्ने, लुकीलुकी हिँड्ने तर मलाई दुःख दिने गथ्र्यो। उ बाहेक अरुले पनि फोन गर्न थालेपछि मैले सीम परिवर्तन गरेँ।
त्यसपछि मैले त्यो ठाउँ छोड्ने निधो गरेँ।

छोरालाई माइतीमा नै छोडेर काठमाडौँ आउँछु भनेर जिद्दी गरे। आमा–बालाई पीर परेछ। आजसम्म साथीको घरमा नगएकी छोरी काठमाडौँ एक्लै बस्छु, आफन्तकोमा जान्न भन्दा पीर लाग्नु स्वाभाविक हो। शायद आत्महत्या गर्छु सोचेका थिए होलान्। तर म काठमाडौँ आएँ।

गाउँमा हुँदा नै ‘मानव अधिकारको लागि महिला एकल महिला समूह’ बारेमा थाहा थियो। आमाले म काठमाडौँ आउने भएपछि संस्थाकी चण्डिका दिदीसँग कुरा गर्नुभएछ। मेरो कन्ट्याक्ट भयो र म संस्थामा आएँ।

यौवनकै समयमा श्रीमानसँग यस्तो पीडादायी बिछोडले म विक्षिप्त थिएँ । तर यहाँ आएपछि मेरो दुःख त तिलको गेडाजत्रै लाग्यो। मन बिस्तारै बदलेँ। अगाडि बढेँ। सीपको यहाँ कदर पनि भयो। अब बल्ल जीवनले नयाँ मोड पायो। धेरै पछि मैले मेरो र छोराको सुन्दर भविष्य कल्पना गर्न पाएँ।

मेरो जीवनको उ पात्र अझै मलाई दुःख दिँदै थियो। नयाँ नम्बर फेरि पत्ता लगाएछ, दुःख दिने प्रक्रिया उस्तै। मैले घरमा देवरलाइै बेला बेलामा रुँदै भनेकी थिएँ, ‘तिम्रो दाजूले मेरो नम्बर पत्ता लगाएछन्, नम्बर फेरेँ बिन्ती नम्बर नदेउ।’ समय पनि कस्तो, मेरो यो बिन्ती कुनै बेला मै तर्फ सोझिएको वाण भयो।

हुर्कँदै गरेको छोराको अनुहार देखेर मैले मेरो अतितलाई भुल्न खोजेकी थिएँ। जब जब एक्लै हुन्थे, जब जब मलाई विसञ्चो हुन्थ्यो, तब मैले उसलाई धेरै सम्झिन्थेँ। मलाई एक्लो महशुस हुन्थ्यो । कता कता उसका सबै गल्तीलाई मैले भुसुक्कै बिर्सन्थेँ। शायद उसलाई मेरो जीवनमा फेरि स्वागत गर्न चाहन्थेँ।

संस्थामा एक दिन दिदीहरुले कुरा गर्दै गर्दा सम्झाउनु भयो, ‘तिम्रो बुढा भारतमा भन्या हैन? फर्केर आउँदा रोग ल्याउन सक्छन्। उनी आएपछि तिमलाई माया लाग्ला। अनि रोग सर्ला।’ म झस्किँए, अछाम लगायतका केही जिल्लामा महिलाहरु एचआइभी संक्रमित भएको खबर मैले राम्ररी सुनेकी छु। त्यसपछि मैले श्रीमानसँग उ हराएको १५ वर्षपछि सम्बन्ध बिच्छेदको लागि निवेदन दिने विचार गरेँ।

म सँग सबै कागजात तयार भएपछि एकपल्ट ससुरासँग सल्लाह गर्नु पर्छ जस्तो लाग्यो। तर उहाँ सकारात्मक हुनु भएन। छोराको भविष्यका लागि मलाई यो कदम चाल्नुपर्ने अवस्था आयो भन्दा, ‘हुँदै नभएको श्रीमानसँग के के सम्बन्ध बिच्छेद ?’ भने। मलाई थाहा थियो छोरा उनको सम्पर्कमा थियो तर उनले कहिले हाम्रो घर मिलाउनेतर्फ सोचनन्। छोरा कहाँ छ सम्म भनेनन्। मलाई ‘मन लागि गरेर हिँड्ने अनि अहिले सम्बन्ध बिच्छेद रे’ भनेपछि मैले कानूनको सहारा नलिई सुख पाइन। त्यही घरको एउटा सटरमा इलम गरेर काम गरी बस्छु भन्ने मेरो प्रस्ताव पनि तुहियो।

म त्यहाँबाट निस्केपछि देवरले पनि राम्रो बोलेनन्, ‘तँ जे गर्छस गर, म पनि चुप बस्दिन’ भने। केस फाइल भयो। मुद्दा मेरो पक्षमा भएको भएर ५० हजार जुर्माना सहित मेरो लाग्ने अंश दिने कागजपत्रसहित सहमति गर्न उनीहरु आए। मैले मानिनँ। केस चल्दा चल्दै मैले थाहा पाएँ उ घर आएको छ। धेरै बिरामी भएको छ।

म काठमाडौँ थिएँ। घर फर्केको एक महिनामा बाबु र मैले बाहिरको मान्छेबाट थाहा पायौँ उ फर्केको। उपचारकै क्रममा उसलाई एड्स भएको पनि थाहा भयो। नेपाल फिरेपछि उसले मलाई, छोरालाई भेट्न खोजेको थियो रे तर त्यो सम्भव भएन।

मर्ने केही दिन अगाडि छोरालाई काकीले फोन गरिन्, ‘तिम्रो बा आएका छन्, उनलाई भेटन् आउ’ बाबु धेरै रोयो तर भेटन् गएको थिएन। शायद मनमा धेरै गुनासा, क्रोध थिए त्यसैले उ जान सकेन।

केस फिर्ता गर्न उ आफ्नो बाउसँग अदालत गएछ। ‘म मेरो श्रीमती र छोरालाई मैसँग राख्छु’ भन्न अदालत जाँदा न्यायाधीशले उसको हाल याद गरे होलान्, एचआइभी पोजेटिभ भएको थाहा पाए होलान्, निर्णय मेरो पक्षमा भयो।

त्यसको चार दिन पछि मैले अर्को खबर सुने ‘उ अब यो संसारमा रहेन’

मैले काठमाडौँमै हुँदा यो खबर थाहा पाएँ। उसको परिवारले त भनेका हैनन्। छोरालाई बाबुको अन्तिम संस्कारको लागि उतै पठाएँ। सम्बन्ध बिच्छेदको चौथो दिनमा मैले म उसको श्रीमती हो भनेर जाने हिम्मत गरिनँ। मलाई लाग्यो तिनीहरुको तातो रिसमा पर्छु। छोरा गयो तर वातावरण सहज भएन, सुनेँ छोरालाई दागबत्ति दिन पनि वर्तबन्ध गरेको छैन भनेर रोक्न खोजे।

बाहुनले कुशको जनै लगाइदिएपछि छोराले बाबुलाई जलाउन पायो। हामीले किरिया पशुपतिमा गर्ने निर्णय गरी छोरालाई रातारात काठमाडौँ ल्यायौँ। उनीहरुलाई विश्वास थिएन होला सुराकी पनि पठाएका थिए।

म अहिले यही संस्थामा महिलाहरुलाई तालिम दिएर बसेकी छु। सिलाईमा डिप्लोमा गरेकी हुनाले पनि मलाई सिलाई बुनाईको जुनसुकै काम पनि आउँछ। संस्थाले मलाई देश विदेश पनि घुमाएको छ। छोरी जस्तै बुहारी छे। आआफ्नै काममा छन्, कमाउँछन्। मैले कल्पना गरेको सुखी संसार छ, जहाँ दुःख जिलो गरेर मैले खुशीले पेट पालेकी छु। मेरो आमा, मेरो माइती नभएको भए यो संभव हुने थिएन।

यो विपनामा केही छैन भने त्यो मात्र ‘उ’ हो। उसले आफ्नै बुद्धिले यो सुन्दर संसारलाई अनुभूत गर्न पाएन। मेरो जीवनलाई झण्डै नरक बनायो। मेरो सुन्दर सपनाको बगैँचाको फूल एउटा एउटा उखेलेर उजाड बनाउन खोजेको थियो। उसले यो संसार छोडेको खबर सुन्दा म छोरोको अनुहार सम्झेर ग्वाँ ग्वाँ रोएको थिए, अर्को मनले भनेको थियो नरो ठीकै भयो।

चार वर्षपछि सोच्दा पनि लाग्छ, कुनै बेला मेरो जीवनको सबैभन्दा सुन्दर सम्पतिले मेरो जीवनको सबैभन्दा फोहोर कसिङ्गर भयो। आफूले मलाई पनि फाहोर बनाउन थाल्यो। जब उसलाई बढार्न चाहँे, हावाले आफै उडाएर लग्यो।

हो, ‘ठीकै भयो।’

प्रस्तुति : सुजाता खत्री

(हात्तिगौँडाको छहारीमा एकल महिलाहरुलाई तालिम दिने प्रशिक्षकसँग गरिएको कुराकानीमा आधारित।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?