
धनगढी – सुदूरपश्चिम प्रदेको मौलिक पर्वका रुपमा रहेको गौरा मंगलबारदेखि सुरु भएको छ । गौरा पर्व अन्तर्गत आज विरुडा पञ्चमीका तिथि रहेको छ , आजका दिन घर–घरमा विरुडा राख्ने चलन छ ।
घरको कुनै ठाउँमा गाईको गोबरले पोतेर शुद्ध बनाई तामा अथवा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ धोएर राख्ने चलर रहेको छ । गौरा सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो ।
गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’विरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा श्रद्धालु महिलाद्वारा गौराघरमा गई गरिने गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ ।
विरुडा भिजाएको केही दिनपछि महिलाहरुले सामूहिक रूपमा धान, साउँ (धानजस्तै घाँस) तिल, अपामार्ग आदि विरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् ।
धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ । गौरा भित्र्याइसके पछि विसर्जन नगरिए सम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिने गर्दछन् ।