
काठमाडौँ: आत्महत्या दुरुत्साहन कसुरमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेसहित तीन जनाविरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पुर्याएको छ।
प्रहरीले हिरासतमा लिएको ११ औँ दिनमै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको हो। रविलाई फसाउन खोजिएको भन्दै देशब्यापी आन्दोलन बढ्दो छ। सामान्यतय प्रहरीले हिरासतमा लिएको २५ दिनभित्र सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र पेश गर्नुपर्ने व्यवस्था छ। तर दबाबबीच प्रहरीले चाँडै अनुसन्धान सकेर मिसिल अगाडि बढाएको हो। प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा के राय दिएको छ भन्नेबारे केही खुलाइएको छैन।
सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोग पत्र तयार गर्ने छ र अदालतमा पेश गर्ने छ। पर्याप्त प्रमाण नपुगेको अवस्थामा सरकारी वकिल कार्यालयले आफ्नै रोहबरमा छाड्न सक्ने अधिकार पनि उसलाई छ।
वकिल कार्यालयले ककसलाई प्रतिवादी बनाउने र के के अभियोग लगाउने भन्ने पूरा भएपछि अभियोगपत्रले पूर्णता पाउने छ। त्यसपछि आइतबार नै अदालतमा पेश भएको अवस्थामा मुद्धा पुर्पक्षका लागि थुनछेक बहस सुरु हुने छ।
बहस आइतबार नै सकिए थुनछेकको आदेश बेलुकासम्ममा आउने छ। यसमा कति जना वकिलले बहस गर्नेछन् भन्नेले पनि आइतबार नै आदेश आउने -नआउने भरपर्ने छ। दिउँसोसम्म अदालतमा अभियोग पत्र पेश भइनसकेकाले आइतबार नै थुनछेकको आदेश आउने सम्भावना कम देखिन्छ। थुनछेकको आदेशले पुर्पक्षका लागि थुनामा राख्ने वा साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने मध्ये एउटा आदेश गर्ने छ।
पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको थियो। सालिकरामले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोमा लामिछाने, कँडेल र कार्कीका कारण मर्न बाध्य भएको उल्लेख गरेका थिए।