कसरी बाहिरियो शालिकरामको भिडियो?

रवि लामिछानेसँग शालिकराम पुडासैनी। तस्बिर: शालिकराम पुडासैनीको फेसबुक।

काठमाडौँ- आजभन्दा ठिक एक वर्षअघि लागू भएको  मुलुकी अपराध संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’ यसै दफालाई टेकेर आत्महत्या दुरुत्साहन कसुरमा गत आर्थिक वर्ष नेपाल प्रहरीले ६२ वटा मुद्दा दर्ता गर्‍यो।

आत्महत्याअघि लेखिएको ‘सुसाइड नोट’मा नाम किटेकै वा पोलेकै आधारमा पक्राउ गरी मुद्दा चलाइयो। पूर्व डीआईजी हेमन्त मल्ल सुसाइड नोटमा नाम किटेकै आधारमा भन्दा पनि आत्महत्या गर्न ‘एक्स्ट्रिम’ भूमिका खेलेको अवस्थामा यो दफाको परिकल्पना गरिएको हुनसक्ने बताउँछन्।

‘कसैले गाली  गरेको वा पिटेकै भरमा आत्महत्या हुन थाल्यो र त्यसमा यो दफा लागू गर्न थाल्यो भने त्यसले समाजलाई अर्कैतिर लैजाला। कसैले बारम्बार यातना दिइरहेको छ र उसले कुनै विकल्प  देख्दैन र मृत्युको बाटो रोज्छ भने यस्तो परिस्थितिमा यो दफाको परिकल्पना गरिएको होला। यसको आशय कसैले पनि मर्न बाध्य बनाउनु हुन्न र त्यस्तो भयो भने सजाय हुनुपर्छ भन्ने हो’, पूर्व डीआईजी मल्ल भन्छन्। यो दफाको कार्यन्वयन पक्ष विवादरहित नहुने कानुनका जानकारहरु बताउँछन्।

यही कसुरमा भइरहेको एउटा अनुसन्धानले यतिबेला राष्ट्रिय-अन्तर्राष्ट्रियरुपमा चर्चा लिइरहेको छ। पत्रकार शालिकराम पुडासैनीले चितवनको एक होटलमा गरेको भनिएको आत्महत्यामा प्रहरीले चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।

लामिछानेलाई फसाउने षड्यन्त्र भइरहको भन्दै चितवन जिल्ला प्रशासन र प्रहरी कार्यालयअघि दिनहुँजसो हजारौँले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको छ। एकथरी प्रहरीको अनुसन्धानलाई दबाबरहित  र प्रभावरहित बनाउनुपर्ने तर्क गर्दैछन् भने अर्काथरि जसरी पनि लामिछानेलाई फसाउने षड्यन्त्र भइरहेकाले निष्पक्ष अनुसन्धानमै प्रश्न गरिरहेका छन्।

तत्काल प्राप्त प्रमाणका आधारमा जोकोहीलाई पनि पक्राउ गरी प्रहरीले अनुसन्धान गर्न सक्छ। अनुसन्धानमा बलियो प्रमाण नभेटिए प्रहरी वा सरकारी वकिलको रोहबरमा छुट्न सक्ने कानुनी व्यवस्था पनि छ। यति हुँदाहुँदै पनि रविको पक्राउ र अनुसन्धानको किन विरोध भइरहेको छ त? शालिकराम, रविले सन्चालन गर्ने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका पूर्व सहकर्मी हुन्। शालिकराम दुई महिना अघिमात्र उक्त कार्यक्रम छाडेर  ललितपुरमा रहेको माउन्टेन टेलिभिजनमा आबद्ध भएका थिए।

शालिकराम गत साउन २० गते साँझ चितवनको एक होटलमा झुन्डिएको अवस्थामा फेला परे। घटना भएको दिनदेखि नै शालिकरामले आत्महत्या अघि भिडियो  रेकर्ड गरेको र रवि लामेछानेले मर्न बाध्य बनाएको बोलेको भन्दै छिटफुट समाचार आउन थालेका थिए। यसबारे प्रहरीले स्पष्ट पारेन। बरु अनुसन्धान भइरहेको जानकारी दियो।

घटनाको ९ दिनपछि साउन २९ गते एक युट्युब च्यानलमा पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियो सार्वजनिक भयो जसमा पुडासैनीले आफूलाई रवि लामिछाने, युवराज कँडेल (सिधा कुरा जनतासँगमा काम गर्ने ) र अस्मिता कार्की (पुडासैनीकी प्रेमिका)ले मर्न बाध्य बनाएको भन्दै तीनै जनालाई कडा कारबाहीको माग राखेका छन्। घटनाको भोलिपल्ट दिउँसो अस्मिता र साँझ रवि र युवराज पक्राउ परे।

उनीहरु पक्राउ परेयता नै पक्ष र विपक्षमा आवाज उठिरहेको छ। रविको पक्षमा बोल्नेहरु भिडियोमा पुडासैनीलाई जबर्जस्ती बोल्न लगाइएको र उनको हत्या गरिएको वा  आत्महत्या गर्न बाध्य बनाइएको  दुवै हुन सक्ने भन्दै तर्क गरिरहेका छन्। रविलाई पक्राउ गरी अनुसन्धान हुनु स्वभाविक हो भन्नेहरु बोल्दैछन्- मान्छेले मर्नुअघि झुटो बोल्दैन।

बाहिरिएको भिडियोलाई लिएर रविका समर्थक भन्दैछन् – यो योजनाबद्धरुपमा खिचिएको र बाहिर ल्याइएको भिडियो हो। अर्को एउटा पक्ष भन्दै छ- शालिकरामले न्याय पाउनुपर्छ।

शवको पोस्टमार्टम रिपोर्ट आईसकेको छैन। पोस्टमार्टम भिडियोले हत्या कि आत्महत्या भन्ने छुट्याउने छ। शालिकरामकी पत्नी सम्झना घिमिरे पुडासैनीले रविसहित तीनजना बिरुद्ध काठमाडौँ प्रहरीमा किटानी जाहेरी जारी गरेकी छन्।

शंकाको घेरामा प्रहरी अनुसन्धान 

रवि लामिछानेले दिएको यातनाकै कारण पुडासैनीले आत्महत्या गरेको भन्नेखालका समाचार छिटफुट आइरहेका बेला साउन २९ गते बाहिरिएको भिडियो र भोलिपल्ट रविसहित तीन जना पक्राउ परेको घटनामाथि रवि समर्थकले प्रश्न गरिरहेका छन्।

सुनियोजितरुपमा भिडियो बाहिर ल्याइएको र हल्ला गरी माहोल बनाएर रविलाई पक्राउ गरिएको उनीहरुको आरोप छ। तर चितवन प्रहरी प्रमुख दानबहादुर मल्ल बाहिर आएको भिडियोबारे आफूहरुलाई केही थाहा नपाएको र प्रकृयागत रुपमै रविलगायतलाई पक्राउ गरिएको बताउँछन्।

‘हामी हाम्रो फोरेन्सिक ल्याबबाट प्रमाणित भएर आएको भिडियोमात्र प्रमाण मान्छौँ। बाहिर कसलाई के प्राप्त भयो त्यो थाहा भएन। हामीलाई प्राप्त भएको भिडियो प्रमाणका आधारमा अनुसन्धानका लागि रविलगायतलाई नियन्त्रणमा लिइएको हो’, एसपी मल्ल दावी गर्छन्। भिडियो सार्वजनिक भएको भोलिपल्ट रविलगायत तीन जना पक्राउ पर्नु संयोग मात्र भएको उनले बताए।

‘हामीसँग फरेन्सिक ल्याबबाट प्रमाणित भएर आएको भिडियोका आधारमा रविलाई पक्राउ गर्नुपर्ने कारण थिए। बाहिरिएका भिडियोमा के के भनेका छन् भन्ने हाम्रो सरोकारको विषय रहेन’, एसपी मल्ल भन्छन्।

त्यसो भए बाहिरिएको भिडियो कहाँबाट कसलाई प्राप्त भयो त ? बाहिरिएको भिडियो हेर्दा शालिकरामले आत्महत्या गर्नुअघि (यदि आत्महत्या हो भने) रेकर्ड गरेजस्तो देखिन्छ। यो अवस्थामा मोबाइल अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा रहने गर्दछ। प्रहरीले सुक्ष्म र गोप्यरुपमा यसको अनुसन्धान गर्दछ।

बाहिर आएको भिडियोबारे  पत्रकार किशोर श्रेष्ठले आफुलाई उक्त भिडियो शालिकरामका आफन्तले उपलब्ध गराएको र एक युट्युब च्यानललाई आफूले दिएको बताएका छन्। चितवन प्रहरी प्रमुख मल्ल भिडियो कसरी बाहिरियो भन्नेबारे थाहा नपाएको बताउँछन्। ‘आत्महत्या अघि पनि त पठाउन सक्छ’, एसपी मल्लको तर्क छ।

बाहिर आएको भिडियोमा शालिकरामले आफ्नो मृत्युमा तीन जना दोषी रहेको भन्दै उनीहरुलाई कारबाहीको माग गरेका छन् भने अन्त्यमा आमाबुवासहितसँग माफी मागेका छन्। भिडियोमा शालिकरामले स्यान्डोमात्र लगाएर बोलिरहेको देखिन्छ। उनी झुन्डिएको अवस्थामा पूरा बाहुला भएको नयाँजस्तो देखिने सर्ट लगाएको पाइएको थियो। एउटा खुट्टा खाट र अर्को खुट्टा भुईँमा मज्जाले छोएको देखिएको थियो।

‘बाहिर आएको भिडियो र झुन्डिएको अवस्था हेर्दा शंका गर्ने धेरै ठाउँ छन्’, जटिल किसिमका अपराध अनुसन्धानमा नाम कमाएका एक प्रहरी नायब उपरीक्षक- डीएसपी भन्छन्। यी प्रहरी अधिकृत यदि शालिकरामले आत्महत्या नै गरेको भएपनि त्यसअघि यो भिडियो खिचिएको हो भनेर किटान गर्न नसकिने ठाउँ प्रशस्त्र रहेको बताउँछन्।

यतिबेला मृतक शालिकरामका आफन्तहरु चितवनमा पुगेर सञ्चार माध्यमसँग बोलिरहेका छन्। उनीहरु भन्दैछन्- हामीलाई होटलवालामाथि पनि शंका छ। होटलका मालिक र कामदारका कुराहरु बाझिएका छन्। शालिकको आत्महत्या नभई हत्या भएको हो।

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्